१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

अझै बनेन सेरी–पान्तडी सडक

मोल्फा बजारदेखि चार घन्टा पैदलै भारी बोकेर दैनिकी चलाउँदै आएका शुभकालिका गाउँपालिका– ७ का हस्तबहादुर शाहीलाई छिटो सडक खनिए आफ्नो दुःख घट्ने विश्वास छ। ‘मनका दुःख मनमै छन् तर सडकको दुःख कहिले पूरा हुन्या हुन्। वर्षौं बित्यो सडक आएन’, उनले दुःख पोखे। उनी मात्र हैन, यो भेगका धेरै नागरिकले दुःख खेप्नुपरेको वर्षौं भएको छ। कृषि क्षेत्रमा धेरै लगानी गरेका यहाँका नागरिकले सडक नहुषि उत्पादन बजारमा लगेर बेच्न नपाएको गुनासो गरे।

कर्णाली प्रदेशका पूर्वसांसद तथा कृषिमन्त्री कृमराज शाहीको जन्म घर पनि सेरी–पान्तडी सडक हुँदै जाने हो। ‘म सांसद हुँदा भोट माग्दा सेरी–पान्तडी सडक निर्माण आफ्नै पालामा सक्ने छु भनेर भोट मागेका थिएँ । आफू सांसद भएदेखि मन्त्री हुँदासम्म धेरै रकम विनियोजन गरें तर ठेकेदारले काम नगरेर त्यो बजेट फ्रिज भयो। अहिलेसम्म ठेकेदारले काम सम्पन्न गरेका छैनन्’, उनले भने। ठेकेदार तारा शाहको निर्माण सेवाले काम ढिलो गरेको बताउँदै उनले भने, ‘अबको दुई वर्षमा निर्माण सम्पन्न हुन्छ कि ?’

शुभकालिका गाउँपालिकाका प्रथम अध्यक्ष खडानन्द्र चौलागाईंले मान्म जोड्ने सडक निर्माण हुनुअघि सर्भे गरी सीधै सेरीघाटदेखि जुम्ला सडक नाम राखी ५१/५२ सालबाट नेपाली सेनाले काम सुरु गरेको जानकारी दिए।

उनले भने, ‘२०५७/५८ सालमा आन्दोलनका बेला राजा ज्ञानेन्द्र कालिकोट आएपछि सदरमुकाम मान्मलाई सडक सञ्जालले नछोएको हुँदा त्यो सडकलाई मान्मबाट निर्माण गर्न विभिन्न दलका नेताहरूले दबाब दिएपछि नेपाली सेनाले सेरीघाटदेखि मान्म हुँदै जुम्ला सडक निर्माण गरेको थियो।’

कर्णाली प्रदेश सरकारको प्राथमिकतामा परेको उक्त सडक निर्माणका लागि पुनः २०५७ सालबाट सडक निर्माणका लागि ठेक्का भयो। सेरी–पान्तडी सडक चाहियो भनेर महावै गेलाका हर्कबहादुर शाहीको नेतृत्वमा प्रदर्शन नभएको पनि होइन। पटकपटक यो सडक निर्माण कार्य अलपत्र पर्दै आएको छ।

यो सडक र शुभकालिका गाउँपालिका जाने सडक एउटै भएकाले अघिल्लो सरकारले सडक निर्माण गर्दा २ करोड ४९ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ।

२०७६ देखि ७८ सम्म दुई करोड ८४ लाख खर्च भएको र आर्थिक वर्ष २०७८/७९ मा चार वर्षका लागि २२ करोड ५५ लाख ६७ हजार ६० रूपैयाँमा ठेक्का भएर काम अगाडि बढिरहेको पूर्वाधार कार्यालयले जनाएको छ।

यो वर्ष सेरी–पान्तडी सडकका लागि साढे पाँच करोड विनियोजन भएको बताइएको छ । हाडडक भएका कारण काम गर्न समस्या भएको हुन सक्ने पूर्वाधार कार्यालय कालिकोटका इन्जिनियर लक्ष्मण पाण्डेले बताए । कार्यालयले पटकपटक खबर गर्दा पनि निर्माण कम्पनीले काम गर्न नसकेको उनको भनाइ छ ।

पहिला जिल्ला विकास समितिले पनि करोडौं खर्च गरेको जनाएको छ। अहिले प्यासिफिक कर्ण कन्स्ट्रक्सन र खड्का कृष्ण सुपरस्टार जेबीले सेरी र पान्तडीबाट कामका लागि सम्झौता गरेको पूर्वाधार विकास कार्यालय कालिकोटका प्रमुख राचन्द्र बिसीले बताए।

उनले चार वर्षमा ट्र्याक खोलिसक्ने गरी सम्झौता भएको बताए। सेरीघाट खण्डमा हालसम्म ३० प्रतिशत मात्र काम भएको उनको भनाइ छ। प्यासिफिक कर्ण कन्ट्रक्सनका इन्जिनियर अर्जुन गौतमका अनुसार सेरीदेखि पान्तडीको ९ किलोमिटर ट्र्याक खोल्ने काम भइरहेको छ।

‘कर्ण कन्स्ट्रक्सनले ३ लाख घनमिटर मोटो, एक लाख घनमिटर कडा चट्याङ, १५ हजार जालीको काम गर्नुपर्ने छ। १० हजार जालीको काम सम्पन्न भएको छ भने हालसम्म जम्मा १० किलोमिटर सडक निर्माणका लागि ट्र्याक खुला गरिएको छ’, गौतमले भने ।

कम्पनीले काम छिटो गर्ने लक्ष्य राखे पनि वर्षमा ५ करोडभन्दा बढीको काम गर्न नदिएकाले सडक निर्माणमा ढिलाइ भएको उनको भनाइ छ। सडकको ग्याबिन पाइपको काम पनि भइरहेको उनले जनाए । पहिला नेपाली सेनाले जिम्मा लिएको उक्त खण्डअन्तर्गत धेरै चट्टान भएका कारण नेपाली सेनाले काम नगरेपछि सडकले गति लिन नसकेको स्थानीयको गुनासो छ।

२३ किलोमिटर सडकको अहिलेसम्म दुवै तर्फबाट गरी ११ किलोमिटर मात्र ट्र्याक खोलिएको र अझै १२ किलोमिटर खन्न बाँकी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। जनताले काम गर्दै गरेको आभास हुने तर काम सम्पन्न नगर्ने मनसायका साथ निर्माण कम्पनीले काम थाल्दा जनताले कहिले उक्त सडक सहज रूपमा उपभोग गर्न पाउँछन् भन्ने गम्भीर प्रश्न छ।

शुभकालिका गाउँपालिकाले पनि यो सडक निर्माण गर्दा अहिलेसम्म धेरै रकम खर्च भएको पालिका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यले जनाए। उनले सडक छिटो निर्माण गर्न पहल गर्ने बताए।

सेरी–पान्तडी सडक निर्माणका लागि सडक खन्ने ठाउँमा स्थानीयवासीको जग्गा परेपछि विवाद हुने गरेको छ, तर स्थानीय सरकारका जनप्रतिनिधिको पहलमा स्थानीयवासीलाई सम्झाइबुझाई गर्ने काम गरेपछि नागरिकले सडक खन्न दिएको शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले बताइन्। उपाध्यक्ष शाहीले सडक निर्माणका लागि स्थानीय सरकारले पहलकदमी चालिरहेको र माथिल्लो निकायमा पनि कुरा राखेको बताएकी छन्।

 महावै खण्डमा झन् ढिलाइ

सेरी–पान्तडीअन्तर्गत महावै खण्डमा ठेकेदारको लापरबाहीले ढिलाइ भएको छ। खड्का, कृष्ण सुपरस्टार जेबीले पाएको काम पहिला सुरु गरिए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन। ठेकादार तारा शाहले चट्टान धेरै हुँदा ढिलो भएको बताइन्। उनले तीन वर्षयता काम सुरु गरेकी छैनन्।

महावै खण्डको भीड काट्ने जिम्मा आफूले पाएको तर अहिले काम नभएको ठेकेदार तारा शाहले बताइन्। अघिल्लो वर्ष १८ महिना काम गरेर ९ लाख मात्र भुक्तानी भएको उनको भनाइ छ। उनले ४३ लाखको खर्च लागेको तर कम भुक्तानी हुँदा पनि आफूलाई काम गर्न समस्या भएको सुनाइन्।

खड्का कृष्ण सुपरस्टार जेबी निर्माण सेवाले जिम्मा लगेको चार वर्षसम्म दुई किलोमिटर मात्र सडक खनिएको छ। चार करोड ५६ लाख रूपैयाँमा कामको जिम्मा पाएको निर्माण सेवाले तीनपटक म्याद थप गरेको छ। तीन वर्षअघि गरेको कामको दुई करोड रकम भुक्तानी भएको पूर्वाधार विकास कार्यालय कालिकोटले जनाएको छ।

ठेकेदार कम्पनीको ढिलाइले समयमै निर्माण हुन नसकेको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए। यो सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालय कालिकोटले अनुगमनसमेत गर्ने गरेको छैन। उक्त सडक खण्ड मान्म हुँदै सेराबाडा पुग्नुभन्दा १३ किलोमिटर छोटो हुने  । यो सडक निर्माणका लागि सरकारले धेरै बजेट छुट्याउने र ठेकेदारले घटेर लिने गरेका कारण पनि समस्या भएको स्थानीयको भनाइ छ। हालसम्म पूर्वाधार विकास कार्यालय कालिकोटले ठेक्का सम्झौता गरेका विभिन्न ठेकेदारहरूले गति लिन सकेका छैनन्। ठेकेदारले ठेक्काअनुसार काम नगर्दा सडक सुधार हुन सकेको छैन।

प्रकाशित: ४ असार २०८१ ०८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App