११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङमा बाढी र पहिरोको जोखिम बढ्दो, २४ घरपरिवार विस्थापित

क्याप्शन

ताप्लेजुङमा बाढी र पहिरोको असर दिन प्रतिदिन बढ्दै गएको छ। विभिन्न स्थानमा बाढी र पहिरोले विस्थापन तथा धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले जानकारी दिएका छन्।

शनिबार राति आएको पहिरोबाट भाग्ने क्रममा सिरिजङ्गा गाउँपालिका वडा नं-६ मामाङ्खे निवासी गोरिमायाँ लिम्बू (मन्तरे जेठी थोत्रुवा) घाइते भएकी छन्। स्थानीय कैलाश मावोले उनको अवस्था जोखिममुक्त रहेको जानकारी दिए।

बाढी र पहिरोबाट क्षति

बाढी तथा पहिरोले सिरिजङ्गा, मिक्वाखोला, फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाका विभिन्न वडामा ठूलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिए।

सिरिजङ्गा गाउँपालिका वडा नं-६ मामाङ्खेमा २ घर पहिरोले पुरेका छन् तर मानवीय क्षति भने नभएको वडा सचिव विशालकुमार शाहले जनाए। सो वडामा २४ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन् र अन्य २४ घरपरिवार उच्च जोखिममा रहेको जानकारी पनि शाहले दिए।

राहत र अस्थायी आश्रय

जिल्ला प्रहरी प्रमुख रावलले उच्च जोखिममा रहेका र विस्थापित परिवारलाई लक्ष्मी माविको मैदानमा अस्थायी आश्रयस्थल बनाई राखिएको छ। पहिरोले मामाङ्खेमा रहेको देशकै एकमात्र लिम्बू संग्रहालय समेत प्रभावित भएको स्थानीय कैलाश मावोले बताए।

शनिबार रातिको वर्षाका कारण मामाङ्खेमा करिब ३ सय घरधुरीले उपभोग गर्ने खानेपानी मुहान र पाइप बगाएकोले पानीको समस्या भएको जानकारी पनि उनले दिए। सोही गाउँपालिकाको तेल्लोकमा पनि बाढी र पहिरोले असर पुर्‍याएको छ।

अन्य स्थानको क्षति

शनिबार राति गएको पहिरोले मिक्वाखोला गाउँपालिका वडा नं-५ पापुङस्थित ताङ्खु आमचाङ्ग कोल्चामा १० घरपरिवारको २३ रोपनी जग्गामा लगाएको अलैंची बारी बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सिरिजङ्गा गाउँपालिका वडा नं-८ याम्फुदिनमा पनि पहिरोले क्षति पुर्‍याएको छ।

सिरिजङ्गा गाउँपालिकाका विभिन्न वडामा जाने ग्रामीण सडक तथा पदमार्ग समेत पहिरोले क्षतिग्रस्त गरेको कारण राहत सामग्री पुर्‍याउन कठिन भएको छ। जिल्ला रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङका अनुसार राहत सामग्री लिएर मामाङ्खे र याम्फुदिनतर्फ जान लागेको रेडक्रस टोली सदरमुकामबाट पहिरो प्रभावित क्षेत्रतर्फ जान सकेको छैन्।

‘मामाङ्खेबाट यहाँ सम्म आइपुग्न सकिन्न भनेर खबर आएपछि हामी त्यस क्षेत्रतर्फ जान सकिरहेका छैनौं’ जिल्ला रेडक्रस सोसाईटीका कोषाध्यक्ष दिनेश अधिकारीले भने।  

मृत्युदर

पहिरोले फक्ताङ्लुङ गाउँपालिकाको खेजेनिममा एकै परिवारका ४ सदस्य र सिरिजङ्गा गाउँपालिकामा पर्ने काबेली नदीमा निर्माणाधीन जलविद्युत आयोजनामा कार्यरत ट्रयाक्टरका एक सहचालक सहित ५ जनाको मृत्यु भएको छ।

पानी पर्ने क्रम नरोकिएकोले जोखिम अझै बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभाग कोशी फिल्ड कार्यालय ताप्लेजुङका नायव मौसम विज्ञान सहायक सुयोग भट्टराईका अनुसार विगत २४ घण्टामा ताप्लेजुङमा ३८.८ मिलिमिटर वर्षा भएको छ।

प्रकाशित: २ असार २०८१ १४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App