१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

बढ्दै छ आत्महत्याको कहर, छैन रोकथामको चासो

कनकाई– १ सिर्जना टोलका ३४ वर्षीय रबिन बिक ऋण तिरेर परिवारलाई सुखले पाल्ने सपना साँचेर वैदेशिक रोजगारीमा जाने तरखरमा थिए। २०७८ भदौ ७ गते राति भएको भयानक घटनाले उनको सपना मात्रै टुंगिएन, सुन्दर परिवार नै सखाप भयो। भोलिपल्ट बिहान छिमेकीले रबिन र उनकी २९ वर्षीया पत्नी मीना विक र आठमहिने छोरी सबिना विकलाई घरभित्रै पासो लागेर मृत्यु भएको दर्दनाक अवस्थामा भेट्टाए।

उक्त घटनाको एक वर्ष नबित्दै झापाको कचनकबल गाउँपालिका– ५ पाठामारीमा एउटै टोलका तीन किशोरीले सामूहिक आत्महत्या गरे। २०७९ साउन ८ गतेको घटना थियो। घरनजिकैको सुनकोशी चिया बगानमा मजदुरी गर्ने १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जलीप गणेश र १६ वर्षीया कल्पना गणेश दिउँसो एकै समयमा घरबाट सम्पर्कविहीन भए। उनीहरुलाई केही घन्टापछि चिया बगानकै एउटा बयरको रुखको हाँगामा लहरै झुन्डिएर स्वमृत्युवरण गरेको अवस्थामा गाउँलेले फेला पारे।

कचनकबल– ४ मा ६ महिनापछि अर्को आत्महत्याको भयानक घटना थपियो। प्रेम विवाह गरेको तीन महिनापछि एक जोडीले २०७९ माघ १० गतेका दिन स्थानीय एभरेस्ट चिया बगानभित्रको रुखमा एउटै पासो लगाएर आफ्नै प्राण हरण गरे। आत्महत्या गर्ने जोडी थियो– २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी। उनीहरुले भागी विवाह गरेको केटी पक्षको परिवारलाई मन परेको थिएन। प्रहरीमा उजुरबाजुर चलेपछि दुवैजना बिछोडिएर आआफ्नो घरमा बस्दै आएका बेला अचानक दुवैले आत्महत्याको गलत बाटो रोजे।

झापामा आत्महत्याको घटना डरलाग्दो रुपमा बढिरहेको छ। पछिल्लो समय कम उमेरका किशोरीले समेत सामान्य निहुँमा सुन्दर जीवन आफैं सिध्याएका घटना बढेपछि अभिभावक झस्कन थालेका छन्। एक महिनाको अन्तरालमा दुई किशोरीले आत्महत्या गरेपछि रोकथामका लागि सामाजिक जनचेतना बढाउन गत साता मेचीनगरमा अभिभावकले स्थानीय देवेन्द्र खरेलको संयोजकत्वमा सामुदायिक मानसिक स्वास्थ्य सरोकार समिति गठन गर्नुप¥यो। ‘आत्महत्याका घटना बढेर अति भइसक्यो, अब चुप लागेर बस्न हुँदैन भन्ने सोचेर सरोकार समिति गठनको निधोमा पुगेका हौं’, संयोजक खरेल भन्छन्।  

आत्महत्याको सिकार भएका व्यक्तिका अभिभावक पनि समितिमा जोडिएका छन्। पीडित अभिभावकका तर्फबाट मेचीनगर– ७ का पुष्कर ढकाल, मेचीनगर– ६ का जितबहादुर खड्का, मेचीनगर– ८ का कृष्ण सुवेदी, मेचीनगर– ८ का माण्डु धिमाल र मेचीनगर– ६ की विमला दाहाल समितिमा रहेका छन्। समितिले मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीलाई भेटेर नगरमा आत्महत्या रोकथामका लागि तत्काल कार्यक्रम ल्याउन माग गरेको छ।

सत्र वर्षकी किशोरी छोरी गुमाएका पुष्कर ढकाल कम उमेरका बालबालिकालाई आत्महत्याबाट जोगाउन विद्यार्थी, अभिभावक र समुदायमा सचेतनामूलक कार्यक्रम ल्याउन आवश्यक रहेको बताउँछन्। ‘मैले जसरी अरु कसैले पनि कलिलो उमेरकी छोरी गुमाउनु नपरोस् भनेर म आफैं जागरण अभियानमा होमिएको छु’, उनले भने, ‘बालबालिकासँग हरेक आमाबाबुले नजिक हुनुपर्दो रहेछ। ताकि उनीहरुले आफ्ना दुःख–सुख र समस्या सजिलै सुनाउन सकून्। परिवार, समाज, जीवन र श्रम के हो भनेर बालबालिकालाई विद्यालय तहमै पढाउन र बुझाउन आवश्यक छ।’  

घटना बढेको बढ्यै

आत्महत्याबाट ज्यान गुमाउनेको तथ्यांक कहालिलाग्दो छ। झापामा विगत तीन वर्षमा ८ सय ७२ जनाले आत्महत्या गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार आर्थिक वर्ष २०७८-७९ मा तीन सय १४ जनाले आत्महत्या गरेका थिए, जसमा पुरुष २२२ र महिला ९२ जना रहेका छन्। आव २०७९-८० मा ३१७ जनाले आत्महत्या गरेकोमा पुरुष एक सय ८८ र महिला एक सय २९ जना रहेका थिए।

चालु आव २०८०-८१ को जेठ १८ सम्ममा दुई सय ४१ जनाले आत्महत्या गरिसकेको सूचना अधिकारी चन्दले बताए, जसमा पुरुष एक सय ५९ र महिला ८२ जना रहेका छन्। जिल्लामा दैनिकजसो आत्महत्याका घटना हुने गरेका छन्। देशभरको विगत तीन वर्षको तथ्यांक हेर्ने हो भने दैनिक औसत १९ जनासम्मले आत्महत्या गरेको देखिन्छ। आव २०७७÷७८ मा देशभर सात हजार १४१ जनाले, आव २०७८÷७९ मा सात हजार ९८७ जनाले र आव २०७९÷८० मा ६ हजार ९० जनाले आत्महत्या गरेका थिए।

आत्महत्याले उठिवास

मेचीनगर– १० खयरडाँगीको कमला राजवंशीको परिवारमा आत्महत्याकै शृंलाबद्ध घटनाका कारण उठिवास लागेको छ। वर्ष बिराएर परिवारका एकजनाले आत्महत्या गर्न थालेपछि हाल घरमा ताला लगाइएको छ। सामान्य ज्याला मजदुरी गरेर जीविका चलाइरहेको कमला राजवंशीको परिवारमा उनीसहित तीनजनाले आत्महत्या गरिसकेका छन्। यही त्रासका कारण घरमा ताला लगाएर परिवारका सदस्यहरु अन्यत्रै गएका हुन्।

कमलाकी २६ वर्षीया जेठी छोरी संगीता राजवंशीले वैदेशिक रोजगारीको सिलसिलामा ६ वर्षअघि मालद्विपमै आत्महत्या गरिन्। उनको शव नेपाल ल्याएर दाहसंस्कार गरिएको थियो। छोरीको अकाल मृत्युवरणले विक्षिप्त बनेकी ४६ वर्षीया कमला राजवंशीले तीन वर्षपछि छोरीको तस्बिर छातीमा राखेर घरभित्रै आत्महत्या गरिन्। पत्नी र छोरीको आत्महत्याले विक्षिप्त ५० वर्षीय नहकुल राजवंशी पिरले रोगाए।  

उनको पनि दुई वर्षअघि मृत्यु भयो। अब उक्त घरमा अभिभावक कोही बाँकी रहेनन्। दुई छोरीको बिहे भइसकेको छ। दुई छोरामध्ये जेठाको बिहे भएको थियो भने एउटा छोरो नाबालक नै छन्। पत्नी माइत गएका बेला नहकुलका जेठा छोरा २७ वर्षीय सञ्जित राजवंशीले समेत यही जेठको पहिलो साता आत्महत्याको गलत बाटो रोजे। काजकिरियापछि घरमा ताला लागेको छ भने मृतक सञ्जितकी एक वर्षकी छोरीलाई लिएर पत्नी माइतीको सहारामा पुगेकी छन्।

डिप्रेसन नै मुख्य कारण

मानिसमा आत्महत्या बढ्नुको मुख्य कारण मानसिक बिरामी भएको मनोचिकित्सक बताउँछन्। आवेश र तनाव नियन्त्रण गर्न नसक्दा मृत्युको अनपेक्षित घटना हुने गरेको उनीहरुको निष्कर्ष छ। आत्महत्या कमजोर आत्मबलको उपज मात्र नभएर मानसिक रोग नै भएको विश्व स्वास्थ्य संगठनले स्वीकार गरिसकेको पूर्णटुंग बिर्तासिटी हस्पिटलका मनोचिकित्सक डा. आभाष निरौला बताउँछन्।

‘केही घटनामा एकैछिनको सनकका कारण आत्महत्याको निर्णय गरेको हुन सक्ने देखिन्छ’, उनी भन्छन्, ‘तर अधिकांश आत्महत्याका घटनामा उसको मानसिक समस्याको पृष्ठभूमिले भूमिका खेलेको हुन सक्छ। कतिपय व्यक्तिले आत्महत्याअगाडि केही संकेत दिएका हुन्छन्। त्यसलाई गम्भीर रुपमा लिएर आत्महत्या हुनबाट बचाउन सकिन्छ।’

मनोसामाजिक, आर्थिक र व्यक्तिगत समस्याका कारण मानिस मानसिक समस्याको चरम अवस्थामा पुग्ने र त्यसलाई थेग्न नसक्दा आत्महत्याको गलत बाटोमा जाने उनको भनाइ छ। यसलाई चिकित्सा भाषामा ‘सिभियर डिप्रेसन’ भनिन्छ। डिप्रेसनको गम्भीर अवस्थाबाट आफूलाई बाहिर निकाल्न नसक्ने व्यक्तिले आफैंलाई अन्त्य गर्न सक्ने भएकाले परिवार, समाज र सरकार यस विषयमा सचेत हुनुपर्ने उनको सुझाव छ। –रासस

प्रकाशित: ३० जेष्ठ २०८१ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App