१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

१४ खच्चड फसेको कर्णालीको झोलुङ्गे पुलमा आवागमन बन्द

१४ खच्चड फसेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ। अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला जोड्ने कर्णालीको झोलुङ्गे पुलमा खच्चड हिंडाउँदा आइतवार पुलको दाहिनेतर्फका लट्ठा चुडिएपछि जीर्ण बनेको पुलमा आवागमन बन्द गरिएको हो।

पञ्चदेवल विनायक नगरपालिका–९ का चिल्ताडा, भाटगाउँ, भानाकोट, तामकोट, राकुलगायत बस्तीको नजिकको बजार खिड्की जीउँला र राकम रहेकाले त्यस ठाउँका नागरिकलाई आवतजावतसँगै दैनिक उपभोगका सामान ढुवानीमा समस्या भएको छ।

प्राविधिक जाँच, मूल्याङ्कन एवम् परीक्षण नगरी यो पुलबाट मानिसको आवतजावत जोखिम भएकाले तत्कालका लागि पुलको प्रयोगमा रोक लगाएको अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए।

पुलमा आवतजावत बन्द भएपछि दैलेख र अछामका विद्यार्थी प्रभावित भएका छन्। अछाम जिल्लातर्फ चण्डीका मावि र दैलेखतर्फ प्रिनर्सरी स्कुलमा अध्ययनरत विद्यार्थीलाई आवतजावतमा समस्या भएको छ।

जीर्ण पुलको तत्काल मर्मत तथा झण्डै दुई सय मिटर हाराहारीमा रहेको अर्को पञ्चदेवल विनायक नगरपालिका–९ ओदल्ताडा र दैलेखको आठबीस नगरपालिका–४ को नैनेलमाडु जोड्ने गरी निर्माणाधीन कर्णाली नदीको नयाँ पुल तत्काल निर्माण गरी सञ्चालनमा ल्याउन गृह मन्त्रालय र अन्य सम्बन्धित निकायलाई आवश्यक पहलका लागि जानकारी गराइसकेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए।

आइतबार खाद्यान्न बोकेका १४ खच्चड पुलमा फसेका थिए। स्थानीय बासिन्दा र सुरक्षाकर्मीले १२ वटा खच्चडको जीवितै उद्धार गरेका थिए भने दुई वटा खच्चड मरेका थिए।

प्रकाशित: ३० जेष्ठ २०८१ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App