१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

भरतपुरबाट खाडी मुलुकभन्दा अस्ट्रेलिया र जापान जाने धेरै

चितवनको भरतपुर नेपालका विभिन्न जिल्लाबाट बसाइसराइ गरेर आउने प्रमुख सहर हो। साेही कारण यो सहर छोटो समयमै भरियो। तर, अहिले यही सहर छाडेर बिदेसिने क्रम बढेको छ। यहाँबाट विदेश जाने सहर मध्ये भरतपुर प्रमुख सहर बन्दै गइरहेको छ।

पछिल्लो तथ्याङक अनुसार भरतपुर महानगरपालिकाबाट ३५ दशमलव ७२ प्रतिशत घरधुरीका व्यक्ति वैदेशिक रोजगारीमा रहेको एक तथ्याङ्कले देखाएको छ।

९६ हजार ५ सय ९१ घरधुरी रहेको भरतपुरमा ३४ हजार पाँच सय ८ घरधुरीबाट वैदेशिक रोजगारीमा गएका छन्। यी घरधुरीबाट ४१ हजार ७८६ जना वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

वैदेशिक रोजगारीमा जाने मध्ये ७६ दशमलव १२ प्रतिशत पुरुष र २३ दशमलव ८६ प्रतिशत महिला रहेका छन्। ब्राह्मण समुदायका सबैभन्दा बढी १७ हजार ५ सय ६५ रहेको परियोजनाले जानकारी दिएको छ।

अहिले पनि महानगरपालिकाबाट ३० हजार ५ सय ५५ जना वैदेशिक रोजगारीमा छन्। ११ हजार २ सय ३१ जना भने वैदेशिक रोजगारीबाट फर्किएका छन्।

भरतपुर महानगरपालिकाका २९ वडामध्ये सबैभन्दा धेरै वडा नम्बर ४, ११, १६ नम्बरबाट विदेश गएका छन्। वडा नम्बर ४ मा २ हजार ६ सय ३१ घरधुरीबाट ३ हजार २ सय ४९ जना वैदेशिक रोजगारीमा गएका छन्।

त्यस्तै वडा नम्बर ११ मा २ हजार १९ घरधुरीबाट २ हजार ३ सय १२ जना र वडा नम्बर १६ मा १ हजार ७ सय ३६ घरधुरीबाट १ हजार ९ सय १९ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्कमा उल्लेख छ।

भरतपुरबाट वैदेशिक रोजगारीमा जाने मुलुक ३४ भन्दा बढी रहेकाे सामीको तथ्यांकमा उल्लेख छ। यी राष्ट्रमध्ये खाडी मुलुकभन्दा अस्ट्रेलियामा सबैभन्दा धेरैको आकर्षकको गन्तव्य बनेको छ।

भरतपुरबाट ५ हजार ५ सय ७३ जना अस्ट्रेलिया गएको सामी कार्यक्रम हेल्भेटासकी संयोजक उमा पौडेलले जानकारी दिइन्। पौडेलका अनुसार, त्यसपछि जापान, युरोप, अमेरिका जाने कामदारहरुको संख्या बढ्दै गएको छ।

जापानमा ४ हजार २ सय ४८, युएई मा ४ हजार १ सय २६, साउदी अरब २ हजार ५ सय ७, कतारमा २ हजार ४ सय ७९, अमेरिकामा १ हजार ९ सय २०, भारतमा १ हजार ४ सय ९०, मलेसियामा १ हजार १ सय ८ जना गएका छन्।

यी मुलुकमा गएका कामदारमध्ये ४ हजार ५१८ जना लेबरमा गएका छन्। ६ हजार ९०४ जनाले बताउन चाहेका छैनन्। सीप सिकेर विदेश जानको संख्या न्यून रहेको परियोजना संयोजक पौडेलले जानकारी दिइन्। सीप नसिकी जानेको संख्या करिब १६ हजार ७१ छ।

अध्ययन गर्न विदेश विदेश जानको संख्या २३ प्रतिशत छ। तर, अधिकांशले काम गरिरहेको उनको निष्कर्ष छ। वैदेशिक रोजगारीमा गएका मध्ये ९५ प्रतिशतले त्रिभुवन विमानस्थल प्रयोग गरेर गएका छन्। भारत र अन्य मुलुक प्रयोग गरेर जानेको संख्या ५ प्रतिशत छ।

यी मुलुकहरूबाट भरतपुर महानगरपालिकामा ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढी रेमिट्यान्स भित्रिएको संयोजक पौडेलले जानकारी दिइन्।

‘वैदेशिक रोजगारमा रहेका ३० हजार ५५५ जना कामदारमध्ये २९ हजार १७७ को घरपरिवारले प्रति वर्ष एक वर्षमा प्राप्त गरेको विप्रेषणका आधारमा यो तथ्यांक निकालिएको हो,’ पौडेलले भनिन् ‘मासिक एक व्यक्तिले औषतमा ३२ हजार ६४३ दशमलव ६५ रुपैयाँ विप्रेषण पठाइरहेका छन्।’ उनका अनुसार १ हजार ३७८ जनाले विप्रेषण पठाउँदैनन्।

विप्रेषण बढी भित्रनेमा अस्ट्रेलिया, जापान तथा खाडी मुलुकहरू रहेका छन्। युरोप, अमेरिका लगायतका देशबाट रेमिट्यान्स न्यून भित्रिएको सामी कार्यक्रमले जनाएको छ।

रेमिट्यान्सबाट आएको रकममध्ये अधिकांश ऋण तिर्नमा उपयोग हुने गरेको छ। सामीका अनुसार ३३ प्रतिशत रकम ऋण तिर्न खर्च हुन्छ। त्यस्तै घर खर्च तथा खानपानमा १६ प्रतिशत, शिक्षामा ९ प्रतिशत, घर बनाउन ९ प्रतिशत, स्वास्थ्य उपचारमा ७ प्रतिशत खर्च हुने गरेको छ। त्यस्तै १३ प्रतिशतले बचत गर्ने गरेका छन् भने ३ प्रतिशतले ऋणमा लगानी गरेको तथ्यांक सार्वजनिक भएको छ।

वैदेशिक रोजगारीमा गएर ११ हजार २३१ जना फर्किएका छन्। फर्किएका मध्ये ३ हजार ३३७ जनाले मात्र पुरा अवधि काम गरेका छन्। फर्किएर आउने मुख्य गन्तव्य मुलुकमा कतार, साउदी अरब, दुबई, मलेसिया, भारत, जापान रहेका छन्।

युरोपेली मुलुक र अस्ट्रेलिया, अमेरिकाबाट फिर्किएर आउनेको संख्या झिनो छ। फर्किए आएका मध्ये ३० प्रतिशतले पुन: विदेश जाने योजना बनाएका छन्। 

प्रकाशित: २९ जेष्ठ २०८१ १९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App