नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी) को पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
महानगरका अनुसार पुनरुत्थानका तीन मुख्य समस्या रहेका थिए। पानीको मुहान खोज्ने, निकास खोज्ने, र भौतिक संरचनाको पुनर्निर्माण गर्ने।
समस्या पहिचानको काम २०८० असोज महिनाबाट सुरु भएको थियो। त्यसबेला काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले हिति आसपासका क्षेत्रमा गएर पूर्वावस्था र विद्यमान अवस्थाको बारेमा स्थानीयसँग छलफल गरेका थिए।
यस अवलोकनपछि कामले तीव्रता पाएको थियो। वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार यसबाट ढुङ्गेधाराको संरचनासँगै जल सम्पदाको पुनरुत्थान हुनेछ।
![](https://images.nagariknewscdn.com/third-party/1718105695_WhatsApp%20Image%202024-06-10%20at%2011_31_55%20AM%20Feed.jpg)
स्थानीयसँगको छलफल, स्थलगत अवलोकन, र अभिलेखबाट पूर्वावस्थाको विश्लेषण गर्दै पानीको निकासमा तीन वटा घरले बाधा पुर्याएको पत्ता लागेको थियो। स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई २ लाख रुपैयाँ जरिवाना तिराएर निकास खोलिएको छ।
![](https://images.nagariknewscdn.com/third-party/1718105804_448109391_780913747549513_4656887433954200250_n.jpg)
प्रमुखका सचिवालय सदस्य विनय शाक्यले पानीको निकास सम्बन्धी समस्या समाधान भएको जानकारी दिए। अबको काम मुहान खोज्ने र भौतिक पूर्वाधार पुनर्निर्माण गर्ने बाँकी रहेको शाक्यले जनाए।
![](https://images.nagariknewscdn.com/third-party/1718105802_448098274_780913774216177_8663793260307646803_n.jpg)
पुरातत्त्व विभागले २०३९ सालमा गरेको अभिलेखन दस्ताबेजमा ‘काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरूको विवरण’ मा गाहिटीको निकास बन्द भएको उल्लेख गरिएको थियो। दस्ताबेजमा ‘समय समयमा सरसफाइ गर्नुका साथै पानीको स्रोत पत्ता लगाई आवश्यक व्यवस्था गर्नुपर्ने’ सुझाव दिइएको थियो।
वडा नं-१ का सचिव सर्वज्ञराज पौडेलका अनुसार ढुङ्गेधारा विगतमा पानी जमेर पोखरी जस्तो फोहोर हुने ठाउँ बनेको थियो। पुरातत्त्व विभागको अभिलेखमा ढुङ्गेधारा लिच्छवीकालीन वास्तुकलाको अनुपम नमुना रहेको उल्लेख गरिएको छ।
![](https://images.nagariknewscdn.com/third-party/1718105696_WhatsApp%20Image%202024-06-10%20at%2011_32_05%20AM%20Feed.jpg)
धार्मिक पुण्य स्थलका रुपमा रहेको यो गाहिटीमा उमामहेश्वर एवं प्राचीन शिवलिङ्ग स्थापनाको ऐतिहासिक विवरण पनि छ।
ढुङ्गेधाराको पुनरुत्थानमा सहयोग गर्दै आएका स्थानीय मनोज ताम्राकारका अनुसार धनबज्र बज्राचार्यले ढुङ्गेधाराको इतिहास ६७८ विसंमा स्थापना भएको उल्लेख गरेका छन्।
![](https://images.nagariknewscdn.com/third-party/1718105693_WhatsApp%20Image%202024-06-10%20at%2011_32_23%20AM%20Feed.jpg)
विगतमा २०५८ सालमा पानीको निकास खोज्ने प्रयास भएको थियो, तर मंगालभित्रै एक जनाको मृत्यु भएपछि प्रयास रोकिएको थियो। अहिलेको पुनरुत्थान प्रयासमा जेट मेसिन प्रयोग गरिएको थियो, जसले काम नगरेपछि मानवीय स्रोतको प्रयोग गरेर निकास खोलिएको हो।
अब प्राप्त उपलब्धिलाई संस्थागत र दिगो बनाउन स्थानीय सहभागिता रहने गरी संयन्त्र बनाएर हिति संस्कृति संरक्षण र पुस्तान्तरणको काम गरिने वडा सचिव पौडेलले बताए।
प्रकाशित: २९ जेष्ठ २०८१ १७:१९ मंगलबार