१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

ठगी आरोपमा भक्तपुरबाट तीन जना पक्राउ

गत जेठ २१ गते बिहान फोन गरी प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले तीन जना पुरुषलाई भक्तपुरबाट पक्राउ गरेको छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ तर्खाल चौर नजिकै बोलाएर दश लाख रुपैँया ठगी गरेको भनी पीडित पक्षले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौ चन्द्रागिरी बस्ने वर्ष ३७ का अम्मरबहादुर तामाङ, नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौ सीतापाइला बस्ने वर्ष ४२ का दिलबहादुर दमाई र नुवाकोट दुप्चेश्वर नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुर दधिकोट बस्ने वर्ष ३३ का सुनिल तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट मोवाइलहरु, चेकहरु, नागरिकताहरु तथा पासपोर्टहरु पनि बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजन कार्कीले जनाए । दोलखा तामाकोशीका भीमबहादुर कार्कीले आफू ठगिएको भन्दै सोमबार प्रहरी वृत्त ठिमी भक्तपुरमा निवेदन दिएका थिए । निवेदनपछि घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुरबाट खटिइएको प्रहरी टोलीले घटनामा संलग्न उनीहरुलाई विभिन्न मालसामानसहित भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोटबाट नियन्त्रणमा लिएको सूचना अधिकृत कार्कीले जनाए । 

उनीहरुलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुरमा बुझाइएको जनाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

प्रकाशित: २९ जेष्ठ २०८१ १५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App