१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

कर्णाली तर्न तुइनकै भर

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा नेपाललाई तुइनमुक्त बनाउने घोषणा गरे। उनले झोलुंगे पुलमार्फत तुइन विस्थापन गरी नागरिकलाई सेवा दिन सरोकारवाला निकायलाई निर्देशन दिँदै यस्तो घोषणा गरेका थिए । तर घोषणाको नौ वर्ष बितिसक्दा पनि हुम्लाका तीनवटा पालिकाका नागरिककको तुइनबाटै कर्णाली नदी वारपार गर्नुपर्ने बाध्यता हटेको छैन।

हुम्लाको सर्केगार्ड गाउँपालिकाको रिप, खार्पुनाथ गाउँपालिकाको लाली र चंखेली गाउँपालिकाको घट्टचौरका जनप्रतिनिधिदेखि स्थानीय बासिन्दा कर्णाली नदीमा पुल नहुँदा जोखिम मोलेर तुइनमा झुन्डिएर पालिकाको केन्द्रसम्म आउजाउ गर्छन्। रिप गाउँका ३१९ घरधुरी तुइनबाटै कर्णाली नदी वारपार गर्न बाध्य रहेको सर्केगार्ड गाउँपालिका–२ का वडाध्यक्ष सिद्ध कार्कीले बताए। 

उनले भने, ‘तुइनकै भरमा स्थानीय गाउँपालिकाको कार्यालय जानेआउने गर्छन् । ‘कर्णाली नदीमा झोलुंगे पुल नहुँदा तुइनबाट आउजाउदेखि सामान तार्ने गरेका छौं’, उनले भने, ‘नदीभन्दा पारी सडक छ। गाउँपालिका कार्यालय आउजाउ गर्न र गाडी चढ्न तुइन तरेर जानुपर्छ।’ झोलुंगे पुल नहुँदा तुइनबाट तार्ने क्रममा घर निर्माणका लागि खरिद गरेर ल्याएको ६ बन्डल जस्तापाता नदीमा खसेको सर्केगाड गाउँपालिकाकी गीता कार्कीले बताइन्। 

कर्णाली नदीमा झोलुंगे पुल नहुँदा गाउँपालिकाको कार्यालय जाउआउ गर्न निकै समस्या भएको स्थानीयको भनाइ छ । मुगु र हुम्ला जोड्ने ६५ किलोमिटर लिंक रोड निर्माण सुरु गरेको वर्षाै बितिसक्दासमेत बेलिब्रिज पुल निर्माणमा ढिलाइ हुँदा तुइनबाट मोटरसाइकललगायतका सामान ताने गरिएको छ। तुइनबाट मोटरसाइकल तारेबापत एक हजार र मानिस आउजाउ गर्न दुई सय रूपैयाँ तिर्नुपर्ने चंखेली गाउँपालिका–१ का वडाध्यक्ष गोविन्द बोहराले बताए। 

‘पालिका केन्द्रसम्म आउजाउ गर्न मोटरसाइकल छ  तर नदीमा पुल नहुँदा तुइनबाट आउजाउ गर्न बाध्य छौं,’ बोहराले भने। खार्पुनाथ गाउँपालिका–४ को लालीबगरमा कर्णाली करिडोरको सडक निर्माणका क्रममा झोलुंगे पुल भत्किएपछि थाली गाउँका बासिन्दा पनि कर्णाली वारपार गर्न तुइनकै भर पर्दै आएका छन्। सदरमुकाम सिमकोट जान कर्णालीपारिको सडक भएर जानुपर्छ। 

सडकमा पुग्न तुइनबाट कर्णाली नदी तर्नुपर्छ। प्राकृतिक रूपमा सुन्दर भए पनि विकट कर्णाली दुःख, अभाव र गरिबीको पर्यायवाची जस्तो बनेको छ। पनागरिकले यस्तो जोखिमपूर्ण यात्रा गर्दासमेत सरकार मूकदर्शक बनेको छ। पुल निर्माण कम्पनीको लापरबाहीका कारण पनि समयमै पुल बन्न नसक्दा तुइनकै भर पर्नुपरेको छ।

प्रकाशित: २७ जेष्ठ २०८१ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App