११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

भारतीय दूतावासको सहयोगमा सुनसरीमा दुई वटा विद्यालय भवन निर्माण

नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा सुनसरीका दुई वटा सामुदायिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ।

नेपाल–भारत विकास सहकार्य अन्तर्गत सुनसरीका श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालय र श्री भगवती माध्यमिक विद्यालयको नवनिर्मित नयाँ भवनको बुधवार जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी,इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी  र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरेका हुन।

रामधुनी नगरपालिकास्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको भवनको लागत २ करोड ६३ लाख तथा  इनरुवा नगरपालिकास्थित श्री भगवती माध्यमिक विद्यालयको भवन निर्माणको  लागत ३ करोड ५ लाख भएको भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी परियोजनालाई उच्चप्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो। जिल्ला समन्वय समिति, सुनसरीमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको थियो।

जिल्ला समन्वय समितिका प्रमुख, रामधुनी नगरपालिकाका मेयर, इनरुवा नगरपालिकाका मेयर र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए।

सुनसरीस्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालय र श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न नवनिर्मित विद्यालय भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्‍याउनेछ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् । ४९० वटा परियोजना सम्पन्न भइसकेका छन्।

यीमध्ये कोसी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् । जसमा १२ वटा परियोजना सुनसरीमा छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ।

जसमध्ये कोसी प्रदेशलाई १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ।यसमा २४ वटा एम्बुलेन्स र ११ वटा स्कुल बस सुनसरी जिल्लालाई उपलब्ध गराइएको छ। जिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहु क्षेत्रीय सहकार्य रहेको छ।

यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

प्रकाशित: २४ जेष्ठ २०८१ १५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App