३ असार २०८१ सोमबार
image/svg+xml
समाज

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक अवरुद्ध

सर्पको टोकाइबाट मृत्यु भएका एक बालकका आफन्तले भेरी करिडोर अन्तर्गतको छिन्चु–जाजरकोट सडक खण्ड र सुर्खेत–दाङ सडक खण्ड अवरुद्ध पारेका छन्।

सुखर्तेको गुर्भाकोट नगरपालिका–९ बोटेचौरका ९ वर्षीय अनमोलबहादुर चुनाराको उपचारका लागि प्रदेश राजधानी वीरेन्द्रनगर ल्याउने क्रममा शनिवार बोटोमै मृत्यु भएको थियो।

सर्पले टोकेका बालकलाई सुरुमा उपचारका लागि मेहलकुना अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि मेहलकुना अस्पतालले रेफर गरेको थियो। रेफर गरिएको ती बालकको बाटोमै मृत्यु भएपछि आफन्तहरुले शनिबार राति मेहलकुना अस्पताल तोडफोड समेत गरेका थिए।

आफन्तहरुले उचित क्षतिपूर्तिको माग गर्दै सोमवार बिहानैदेखि बोटेचौर बजारमा सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन्। आन्दोलनका कारण छिन्चु–जाजरकोट–डोल्पा सडक र सुर्खेत–सल्यान–दाङ सडक अवरुद्ध भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार अस्पताल प्रशासन, आफन्त र जनप्रतिनिधिबीच वार्ताको प्रयास भइरहेको छ। ‘मृतक बालकका आफन्तहरुले क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरिरहनु भएको छ,’ उनले भने, ‘सँगसँगै वार्ताको प्रक्रियापनि अघि बढिरहेकाले केही समयमै निकास आउने विश्वासमा छौं।’

प्रकाशित: १४ जेष्ठ २०८१ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App