४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाली मिडियाका लागि एआई कम्पनी मालदार होलान् ?

फाइल तस्बिर

दुई वर्षअघि ओपन एआई कम्पनीको च्याट जिपिटी सफ्टवेयर जारी भएपछि यति तरंग उठ्यो कि केहीले यसलाई इन्टरनेटको नयाँ क्रान्ति भनी घोषणासमेत गरे। एक वर्ष नपुग्दै (गत असोजमा) धेरैले यसको बुद्धिमता कहाँबाट आयो भनेर प्रश्न उठाउन थाले र केही नामी लेखकहरूले त्यसको बुद्धिमतामा आफ्ना सिर्जनाहरूको दुरुपयोग गरिएको हुन सक्ने आशंका पनि गरे।

सुरुमा यस्तो आशंका अस्ट्रेलियाका लेखकहरूले गरेका थिए। उनीहरूको शंका थियो, मेटा (फेसबुक) तथा ब्लुमबर्गजस्ता संस्थाले बुक्सथ्री डेटासेट प्रयोग गरिरहेका छन्। अस्ट्रेलियाका लेखक रिचर्ड फ्लानागनले आफ्ना १० वटा उपन्यास बुक्सथ्री डेटासेटमा फेला परेको बताउँदै अस्ट्रेलियाका १८ हजारभन्दा बढी आख्यान तथा गैरआख्यान प्रयोग भएको दाबी द अस्ट्रेलियन पब्लिसर्स एसोसिएसन (एपिए) ले गरेको थियो।

कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) लाई तालिम दिन पुराना तथा नयाँ लेखकका किताब प्रयोग गरिएको भन्दै पछि द एटलान्टिक पत्रिकाले १ लाख ८० हजारभन्दा बढी पुस्तकको कन्टेन्ट चोरिएको दाबी गरेको थियो।

यसपछि ती लेखकहरूले आफ्ना सिर्जना उपयोग गरेबापत ओपन एआईले रोयल्टी दिनुपर्ने माग गरी अदालतमा मुद्दा हाल्ने तयारी गरिरहेका थिए। यो तयारीका लागि अस्ट्रेलियाका लेखकहरूको संघले अगुवाइ गरिरहेको थियो। पछि बेलायती लेखकहरूले पनि आफूहरूमाथि अन्याय भएको आवाज उठाए। कसैले मुद्दा नै हालेको खबर भने अहिलेसम्म सार्वजनिक भएको छैन।

चर्चित पत्रिका द न्युयोर्क टाइम्सले पनि आफ्ना समाचारहरूलाई ओपन एआई (च्याट जिपिटीको सञ्चालक) ले निर्लज्ज तरिकाले उपयोग गरेको भन्दै मुद्दा हाल्ने तयारी गरिरहेको बताइएको छ।

‘हामीसँग मूल्यवान् कन्टेन्ट छन्, ती कन्टेन्ट उत्पादन गर्न हामीले करोडौं खर्च गरिरहेका हुन्छौं तर तिनै कुरा उपयोग गरेर च्याट जिपिटीजस्ता कम्पनी चर्चामा आइरहेका छन्। तिनको कमाइमा हामीले भाग खोज्नु नौलो होइन,’ अमेरिकन न्युज मिडिया अलायन्सका उपाध्यक्ष ड्यानियल कोफीको तर्क थियो।

च्याट जिपिटीको सफलतापछि फेसबुकको मूल कम्पनी मेटा, गुगलको मूल कम्पनी अल्फाबेट, माइक्रोसफ्ट सबै च्याटबट सुरु गर्ने तयारीमा छन्। च्याट जिपिटीजस्तै माइक्रोसफ्टको बिङ तथा को–पाइलटले पनि उत्तिकै चर्चा बटुलेको छ।

फेसबुकले पनि च्याटरुम बनाउने तयारी गरिरहेको छ। गुगलको बार्डको खासै चर्चा नभएपछि उसले अर्को सशक्त टुल जेमिनी ल्याएको छ। यस्तै रेडइट नामक सामाजिक सञ्जालले पनि च्याट बोट बनाउँदै छ, जसले सर्वसाधारणसँग कुरा गर्छ, मनोरञ्जन दिन्छ, ठट्टा गर्छ वा कुनै प्रख्यात कविता सुनाइदिन्छ।

यी सबैका लागि अखबारका समाचार, पुस्तकका सन्दर्भहरू प्रयोग हुन्छन्। जसजसका अखबारका समाचार उपयोग भएका छन्, तिनले यसमा आफ्नो पनि भाग खोजिरहेका छन्। यसपछि ओपन एआईका प्रमुख कार्यकारी साम अल्टम्यानले उच्च कोटि र उच्च गुणस्तरका डेटाका लागि आफूहरू ठुलो रकम तिर्न इच्छुक भएको बताएका थिए।

नभन्दै यतिबेला चर्चित अखबार वाल स्ट्रिट जर्नलको माउ कम्पनी न्युज कर्पसँग ओपन एआईले आकर्षक सम्झौता गरेको छ। यस सम्झौतामा ओपन एआईले वाल स्ट्रिट जर्नललाई पाँच वर्षमा कम्तीमा २५० मिलियन डलर तिर्नेछ।

यससँगै अब वाल स्ट्रिट जर्नलसँग भएका पुराना समाचारका खोजीमा सघाउने मात्र नभई यसले आफ्नो प्रविधिलाई तालिम दिने छ। एआई कम्पनीहरू गुणस्तरीय कन्टेन्टका भोका छन्। जति गुणस्तरीय कन्टेन्ट भयो, भोलिका दिनमा एआई खोजी उति सशक्त हुनेछ।

न्युज कर्पले अमेरिका, बेलायत र अस्ट्रेलियामा विभिन्न पत्रिका निकाल्छ। वाल स्ट्रिट जर्नल, न्युयोर्क पोस्ट अमेरिकाबाट निस्कन्छन् भने टाइम्स, द सनलगायत पत्रिका बेलायतबाट। यस्तै अस्ट्रेलियामा द टाइम्स, द डेली टेलिग्राफलगायत दर्जन पत्रिका प्रकाशन गर्ने गर्छ।

एआईका लागि सशक्त पत्रकारिता नै काम लाग्छ। तर समयसँगै न्युज रुममा पत्रकारहरू हराउँदै जाने कारणले न्युज रुममा कालान्तरमा गुणस्तरीय कन्टेन्टको अभाव खट्किने सम्भावना उत्तिकै छ।

तर ओपन एआईजस्ता कम्पनीले आफूलाई समयानुकूल बनाउन न्युजकर्प मात्र होइन, संसारका अन्य राम्रा कन्टेन्ट उत्पादन गर्ने मिडिया हाउसलाई पनि ठुलो रकम तिरिरहेको छ।

तीमध्ये पोलिटिको, बिजनेस इन्साइडरको माउ कम्पनी एक्सेल स्प्रिन्जर, एसोसिएटेड प्रेस, ला मोन्डे, द फाइनान्सियल टाइम्स मात्र होइन, बेटर होम्स एन्ड गार्डेन्स र पिपुल म्यागेजिनसमेत छन्।  

एक्सेल स्प्रिन्जरलाई त ओपन एआई तीन वर्षको दौरानमा ३० मिलियन डलरसम्म तिर्न राजी भएको छ। ऊ फाइनान्सियल टाइम्सलाई वर्षको ५० लाखदेखि एक करोड डलर तिर्ने भएको छ। यसैगरी एसोसिएटेड प्रेसलाई ९० लाख डलरसम्म तिर्ने कुरा भइरहेको छ।

उता न्युयोर्क टाइम्स पत्रिकाले भने ओपन एआई र माइक्रोसफ्ट दुवै कम्पनीलाई अदालतमा उभ्याइसकेको छ। पत्रिकाको कन्टेन्ट कुनै स्वीकृतिबिना उपयोग गरेर आफ्नो एआई टुललाई सशक्त बनाएको उसको आरोप छ। यो मामिलालाई रफादफा गर्न माइक्रोसफ्ट र ओपन एआई दुवै कम्पनीले विभिन्न चरणमा केही छलफल गरेको बताइन्छ, जसमा वार्षिक रूपमा न्युयोर्क टाइम्सले करोड डलरसम्म पाउन सक्छ।

एआईका क्षेत्रमा यति धेरै प्रतिस्पर्धा छ कि जेफ बेजोस पनि यो प्रतिस्पर्धामा दौडिरहेका छन्। बेजोसको कम्पनीको पप्र्लेक्सिटी एआई नामक वेबसाइट छ। यो च्याट जिपिटीजस्तै हो।

उता गुगलको सर्चमा अहिलेदेखि नै संक्षिप्त जानकारी आइसकेको छ। ठुला अखबारका कम्पनीले अहिलेलाई केही रकम लिएर एआई कम्पनीलाई तालिम दिनु आफैंलाई बन्चरो हान्नु हो कालान्तरमा। तर गुणस्तरीय कन्टेन्ट निर्माण गरिरहने हो भने त्यो कन्टेन्ट एआई कम्पनीलाई निरन्तर बेच्ने ठाउँ पनि हुनेछ।

कालान्तरमा प्रतिस्पर्धाको गलाकाट अभियानमा जिउँदो रहने भनेका केही सीमित कम्पनी हुन सक्छन्। ती कम्पनीले पनि आफूलाई सान्दर्भिक रहिरहन गुणस्तरीय कन्टेन्ट किनिरहनुपर्ने हुन्छ।

यसरी विदेशमा आफ्ना कन्टेन्ट बेचेर कम्पनी जोगाउने अभियान चलिरहँदा नेपालजस्ता देशले कसरी फाइदा उठाउन सक्छन्, नेपालका खुम्चिँदा मिडियाका लागि ती काम लाग्लान् ? हामीले गम्भीर भएर सोच्ने बेला भइसकेको छ।

अहिले जब तपाईं बिङको को–पाइलट, च्याट जिपिटी, जेमिनी र अमेजन कम्पनीले चलाएको पप्र्लेक्सिटीमा नेपाली भाषामा केही कुरा सोध्नुभयो भने हास्यास्पद गन्थन मात्र पढ्न पाइन्छ। यसको मूल कारण के भने उनीहरूलाई नेपाली भाषाजस्तो जम्माजम्मी चार करोडले बोल्ने भाषामा खासै ध्यान गएको छैन।

तर एक दिन यस्तो आउँछ, उनीहरूले चार करोडले बोल्ने भाषाका लागि तालिम दिन निकै ठुलो डेटासेट चाहिन्छ। यहाँको साहित्य, समाचार र जानकारीको ठुलो अभाव हुनेछ। त्यसै पनि नेपालका बारेमा थोरबहुत जानकारी पाइने ठाउँ भनेको विकिपेडिया मात्र हो। त्यहाँ पनि केही जानकारी त यति संक्षिप्त हुन्छ कि त्यो देखेरै दिक्क लाग्छ।

नेपालमा इन्टरनेट सुरु भएयता सञ्चालनमा आएका कैयौं वेबसाइट बन्द भइसकेका छन्। पुराना सूचनाका लागि ती ठुला कम्पनीले ती वेबसाइटका समाचार र सूचनाहरू प्रयोग गर्न सक्छन् तर नवीनतम तर विश्वसनीय सूचनाका लागि त तिनलाई चाहिने भनेको विश्वसनीय र इज्जतदार प्रिन्ट मिडियाकै कन्टेन्ट हो।

यस्तोमा नागरिकलगायत प्रिन्ट मिडियाले अमेरिकी कम्पनीहरूसँग सम्झौता गरी अहिलेको आर्थिक दिवालियापनलाई केही हदसम्म कम गर्न सक्ने बाटो भने खुलेको छ। सूचनाको यो क्रान्तिमा आफूलाई कायम राखिरहन ठुला मिडियाले गुणस्तरीय कन्टेन्ट निर्माणमा आफूलाई सशक्त बनाउन अझ ढिला भइसकेको छ।

प्रकाशित: १४ जेष्ठ २०८१ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App