३ असार २०८१ सोमबार
image/svg+xml
समाज

जर्मनीमा ३५ औं नेपाल दिवस मनाइयाे

जर्मनीमा ३५ औं नेपाल दिवस (नेपाल डे) मनाइएको छ। शनिबार जर्मन नेपाल मैत्री संघले जर्मनीको कोलोन सहरमा विशेष कार्यक्रम आयोजना गरी नेपाल दिवस मनाएको हो।

यस वर्ष ‘परिवर्तनको चाहना, के सपना मात्र हो ?’ नारासहित मनाइएको नेपाल दिवसमा नेपालको पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र पूर्वाधार विकासमा वक्ताहरुले जोड दिएका छन्।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले प्रत्येक वर्ष हुने ‘नेपाल डे’ ले नेपाल र जर्मनीबीचमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनहरूबारे सूचना आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

‘जर्मनी र नेपाल सरकारले पछिल्लो समयमा कृषि उत्पादन, आईटी, भौतिकपूर्वधार विकास, दिगो शान्ति लगायतका क्षेत्रमा संयुक्त रुपमा मिलेर काम गरेको छ। यस कार्यक्रमले नेपाल र जर्मनीबीचको व्यापार, पर्यटन र संस्कृति लगायतका क्षेत्रमा थप महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु।’ उनले भने।

उनले यस कार्यक्रमबाट दुई देशबिचको सम्बन्ध प्रगाढ हुने जिकिर गरे। ‘यस्ता कार्यक्रमले भविष्यमा सकारात्मक र रचनात्मक कार्यक्रम गर्न थप हौसला मिल्नेछ।’ उनले भने।

नेपालको लागि अवैतनिक महावाणिज्य दूत एवम् संघका अध्यक्ष रामप्रताप थापाले ‘नेपाल डे’ कार्यक्रमले नेपाल र जर्मनीबीचको सम्बन्ध बलियो बनाउन औजारको रुपमा स्थापित भएको बताए।

उनले विगत ३५ वर्षदेखि निरन्तर जर्मनीमा मनाउँदै आएको कार्यक्रमलाई सुरुका दिनदेखि सहयोग गर्नेहरू प्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा ‘नेपाल डे’ लाई थप परिष्कृत गर्दै लैजानेमा जोड दिए।

नेपालका लागि जर्मनी राजदूत डा. थोमस प्रिन्सले शुभकामना सन्देशमार्फत ‘नेपाल डे’ कार्यक्रमले नेपाल जर्मनीबीचको सम्बन्धमा कोषेढुंगा साबित हुने बताए। जर्मनीले नेपालको विभिन्न विकासमा सहयोग गरेको स्मरण गर्दै उनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने एक शुभकामना सन्देश मार्फत ‘नेपाल डे’ कार्यक्रमले नेपालको पर्यटन प्रवर्धनको लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताए। कार्यक्रमले संस्कृति आदान प्रदान र व्यापार प्रवर्धनमा समेत सहयोग पुग्ने उनको विश्वास छ।

कार्यक्रमका कलाकारहरूले नेपालको लोक संस्कृति झल्किने लोक नृत्य तथा विशेष संस्कृति कार्यक्रमको प्रस्तुति दिएका थिए।

कार्यक्रममा नेपाली तथा जर्मन पर्यटन व्यवसायी, गैर आवासीय नेपालीहरू, डाक्टर, इन्जिनियर, लेखक, अनुसन्धानकर्ता, दोस्रो पुस्ताका युवा, पत्रकार, कलाकारहरू, समाजसेवी सामाजिक संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: १२ जेष्ठ २०८१ १७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App