२ असार २०८१ आइतबार
image/svg+xml
समाज

रामका परम् भक्त काग–भुषुण्डीकाे निवासस्थल नीलगिरि र अन्नपूर्ण हिमाल

हिमालपारिको जिल्ला मुस्ताङस्थित नीलगिरि र म्याग्दीमा पर्ने अन्नपूर्ण हिमालनजिकको भूगोल पौराणिक पात्र (ऋषि) काग–भुषुण्डीको निवासस्थल रहेको बताइएको छ।

धार्मिक ग्रन्थ र संस्कृत साहित्यमा नीलगिरि र अन्नपूर्ण हिमालबीचको भागमा भविष्यद्रष्टा सन्त (ऋषि) काग–भुषुुण्डी द्धापर युगमा यही आएर बसेका वर्णन गरिएकाले यस क्षेत्रलाई काग–भुषुण्डीको निवास क्षेत्रका रूपमा व्याख्या गरिएको संस्कृतविद् डा. जगमान गुरुङ (दोलखास्थित चरणावती त्रिवेणीधाम विकास तथा प्रवर्द्धन संघले गुरुङलाई ‘नेपाल ऋषि’ को उपाधिले सम्मान गरेको छ) ले बताए।

संस्कृत साहित्यका महाकवि कालिदासले आफ्नो कृति ‘कुमारसम्भव’ मा  ‘अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः’ अर्थात् उत्तर दिशामा देवतास्वरूपका हिमालय नामका पर्वतराजहरू विराजमान छन् भनेर वर्णन गरेका छन्।

भारतीय संस्कृति र साहित्यका महाकवि गोस्वामी तुलसीदासले श्रीराम चरित्रमानसमा पनि काग–भुषुण्डीको निवास नीलपर्वत (नीलगिरि हिमाल) भएको उल्लेख गर्दै यो हिमालको महिमा गान गरेका छन्। काग–भुषुण्डीलाई कागस्वरूपका एक सन्त ज्ञानी ऋषि मानिन्छ।

नेपाल ऋषि प्राध्यापक डा. गुरुङले श्रीराम चरित्रमानसमा नीलगिरि हिमाल परिसरको सुन्दर वनजङ्गल, पवित्र नदी, सरोवर र स्वर्णमय पर्वत शिखरको वर्णन गरिएको उल्लेख गरे। उनका अनुसार श्रीराम चरित्रमानसमा वर्णित पवित्र नदी कालीगण्डकी हुन्।  

‘वनजङ्गलचाहिँ त्यहाँका देवदारुका जङ्गल हुन्। सरोवरचाहिँ दामोदर कुण्ड हो। नीलगिरिबाट दामोदर कुण्डसम्मको भूभाग मुक्ति क्षेत्र हो’, डा गुरुङले भने।

उनका अनुसार अन्तका काग काला र साना हुन्छन् भने दामोदर कुण्डका काग सेता र ठूला हुन्छन्। दामोदर कुण्डमा पाइने यी सेता कागलाई अहिले पनि काग–भुषुण्डीको स्वरूप मानिने उनको भनाइ छ।

मधेस र पहाड खण्डमा पाइने कुश दामोदर कुण्डमा उम्रेको पाइन्छ। दामोदर कुण्डका सेता काग र त्यहाँ उम्रेका कुश नेपाललाई प्रकृतिको वरदान भएको उनले बताए।

को थिए काग–भुषुण्डी ? 

श्रीराम चरित्रमानसमा उल्लेख भएअनुसार कागको रूपमा देखिने काग–भुषुण्डी भगवान् श्रीरामका परम् भक्त थिए। उनलाई भविष्य तथा भूतकालको पूर्ण ज्ञान पहिले नै हुन्थ्यो। उनी समय बन्ने र बिग्रिने पाङ्ग्रालाई देख्न सक्दथे। पुराणमा उल्लेख भएअनुसार सबैभन्दा पहिला राम कथा भगवान् शङ्करले पार्वतीलाई सुनाउँदा काग–भुषुण्डीले सुनेका थिए।

रावणको पुत्र मेघनादले रामसँग युद्ध गर्दै गर्दा भगवान् रामलाई नागपासले बाँधेका थिए। त्यसपछि पक्षीराज गरुडले नागपासमा बाँधिएका सम्पूर्ण नागलाई मारेर भगवान् श्रीरामलाई बन्धनबाट मुक्त गराएका थिए।

‘भगवान् राम नागपासमा बाँधिएको देख्दा गरुडलाई बाँधिएका व्यक्ति राम भगवान् हुन् कि होइनन् भन्नेमा शङ्का लाग्यो। गरुडको सन्देहको निवारणका निम्ति नारद ऋषिले उनलाई ब्रह्माजीकहाँ पठाए। ब्रह्माजीले शङ्करजीकहाँ पठाइदिए। भगवान् शङ्करले पनि गरुडको सन्देहको निवारणका निम्ति काग–भुषुण्डी भएको ठाउँ नीलगिरि पर्वतमा पठाएपछि काग–भुषुण्डीले भगवान् श्रीराम चरित्रको कथा सुनाएर गरुड़को सन्देह हटाएको श्रीराम चरित्रमानसमा उल्लेख गरिएको छ’, नेपाल ऋषि प्राध्यापक डा. गुरुङले भने।

उनका अनुसार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४, नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविरनजिकै पञ्चकुण्ड ताल र तालनजिकै काग–भुषुण्डी ऋषिले तपस्या गरेको भनिएको काग–भुषुण्डी डाँडो छ।

धार्मिक तथा पर्यटकीय महत्वको पञ्चकुण्ड तालको लम्बाइ झन्डै एक किलोमिटर र चौडाइ दुई सय मिटर रहेको अनुमान गरिएको छ। वरिपरिबाट सुन्दर हिमालय पर्वतले घेरिएको अन्नपूर्णको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल नीलो रङमा देखिन्छ। यो ताल समुद्री सतहबाट चार हजार ५० मिटरको उचाइमा रहेको छ।

तालमा अन्नपूर्ण हिमालको प्रतिबिम्ब अर्थात् (छायाँ) देख्न सकिन्छ। तालबाट माथि चार हजार एक सय ९० मिटरको उचाइमा ग्राउन्ड तथा हेलिप्याड र त्यसभन्दा माथि चार हजार तीन सय पाँच मिटरको उचाइमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पर्दछ। तालको छेउबाट नीलगिरि र अन्नपूर्णको सबै क्षेत्रलाई अवलोकन गर्न सकिन्छ। –रासस

प्रकाशित: ११ जेष्ठ २०८१ १४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App