४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति

डढेलोका कारण दुई महिनामा बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति भएको छ। फागुन ११ गते बरेङको सल्लेरी सामुदायिक वनबाट सुरु भएको डढेलो वैशाख १९ गतेसम्म ६८ वनमा फैलिएको थियो।

जिल्ला डिभिजन वन कार्यालयका अनुसार फागुन ११ गतेदेखि सुरु भएको डढेलो वैशाखको १९ गतेसम्म ६८ वनमा लागेको थियो। दुई महिनामा ६६ सामुदायिक वन तथा दुई राष्ट्रिय वनमा डढेलो लागेको डिभिजन वन अधिकृत सरोज पन्थीले जानकारी दिए।

राष्ट्रिय तथा सामुदायक वनमा आगलागीका कारण ठूलो क्षति भएको उनले बताए। दुई हजार एक सय ७४ हेक्टर वनमा देखिने क्षति भए पनि अप्रत्यक्ष रूपमा वन्यजन्तु र पर्यावरणमा ठूलो क्षति भएको उनले बताए।

तमानखोला गाउँपालिका–२ स्थित रानीवन सामुदायिक वनमा वैशाख १३ गते लागेको डढेलोले एकजनाको मृत्यु, दुई घाइते भएका थिए। बागलुङ नगरपालिका–१२ अमलाचौर हिलेजुके सामुदायिक वनमा वैशाखको १९ गतेको डढेलोबाट एक घर, तीन गोठ जलेको थियोभने दुई भैँसी, तीन गाई, पाँच बाख्रा मरेका थिए। ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय वनमा लागेको डढेलोबाट तीन घर, पाँच गोठ, छ बाख्रा, दुई भैँसी, एक राँगा मरेका थिए।

‘जङ्गली जनावर पनि मरेका छन्,केही  बस्तीमा छिरेका पाएका छौँ, जनावारको क्षतिको तथ्याङ्क सङ्कलन गर्न सकिएको छैन’, पन्थीले भने।

जिल्लामा एक लाख पाँच हजार पाँच सय एक हेक्टर जमिनमा वन फैलिएको छ। जिल्लाको ३३ हजार नौ सय नौ हेक्टरमा पाँच सय २७ सामुदायिक वन छन्। -रासस

प्रकाशित: ११ जेष्ठ २०८१ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App