१३ असार २०८१ बिहीबार
image/svg+xml
समाज

शान्ति, सहअस्तित्व, सहिष्णुता बनाउने अभियानमा लाग्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले विश्वमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान सुदृढ गर्ने अभियानमा लाग्न आह्वान गरेका छन्।    

राष्ट्रपति पौडेलले शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायलाई उक्त अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने कामना गरे।    

बौद्ध दर्शनका प्रवर्तक एवं राष्ट्रका गौरव गौतमबुद्धको जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको बताए। 

'शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु', राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्। रासस

प्रकाशित: १० जेष्ठ २०८१ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App