१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

माननीयको मनोमानी: विपन्नको अनुदानमा सम्पन्नको रजाइँ

कर्णाली प्रदेश सरकारले गरिब तथा विपन्न परिवारका लागि भनेर पठाएको अनुदानमा सम्पन्न परिवारले रजाइँ गरेको तथ्य फेला परेको छ।

कालीकोटका गरिब तथा विपन्न नागरिकको आर्थिक अवस्था सुधार गर्नका लागि दिइँदै आएको अनुदान ‘माननीयकै मनोमानी’ मा सम्पन्नको हातमा परेको हो।

तीन महिनादेखि ६ महिनासम्मका लागि पुग्ने खाद्यान्न प्रदेश सरकारले अनुदान रुवरुप पठाउँदै आएको छ। यसरी पठाइने खाद्यान्न कार्यविधिमा भए बमोजिम नै पठाउनु पर्ने हुन्छ। तर कार्यविधि नै छलेर माननीय नै मनोमानी अनुसार खाद्यान्न वितरण हुँदै आइरहेकाे छ।

कालिकोट निर्वाचन क्षेत्र (ख) का प्रदेश सभा सांसद हिक्मतबहादुर विष्टको सिफारिसमा सरकारले सो अनुदान गरिब परिवारका लागि पठाएको थियो।

जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतका अनुसार विष्टले सो अनुदान वितरणको जिम्मा स्थानीय प्रेमबहादुर फडेरालाई दिएका थिए। 

फडेरा सांसद विष्टका नजिकका पात्र हुन्। साथै उनी नरहरिनाथ गाउँपालिका–५ का पूर्व वडाध्यक्ष गगनबहादुर फडेराको दाइ समेत हुन्।

कृषि विकास कार्यालयका प्रमुख बस्नेत भन्छन् ‘जनप्रतिनिधिले सिफारिस गरेपछि कार्यालयले अनुदान रकमका लागि सम्झौता गर्ने गर्छ। प्रदेश सभा सदस्य हिक्मत विष्टको सिफारिसमा नरहरिनाथ गाउँपालिका–५ का पूर्व वडाध्यक्ष गगनबहादुर फडेरा (सिर्जन) का सहोदर दाइ प्रेमबहादुर फडेरालाई दिइएको छ।’

प्राप्त अनुदान फडेराले वितरण गरेकाहरू मध्य अधिकांश विपन्न भने छैनन्। विपन्न लक्षित वर्ग विशेष कार्यक्रम संचालन समिति गठन गरि सिमी खेतीका लागि उक्त अनुदान रकम नजिकका पात्रहरूलाई दिइएको छ।

गरिब तथा विपन्न परिवारलाई आएको रकम सम्पन्न परिवारलाई दिन नहुने नरहरिनाथ गाउँपालिकाका एक नेता बताउँछन्।

‘प्रेम फडेरा आफैमा सम्पन्न परिवारको सदस्य हुन्, अहिले पनि उनीसँग धेरै श्री सम्पत्ति छ। तर सरकारी अनुदान पनि उनैलाई दिनु गलत हो।’ उनले भने।

नरहरिनाथ गाउँपालिका–५ का सम्पन्न परिवारको सदस्य प्रेम फडेराले अनुदान पाउनु नितान्त गलत भएको उनको भनाइ छ। ‘पावर र पहुँचको आधारमा गरिब तथा विपन्नका लागि आएको अनुदान रकम सम्पन्नले पाएका छन्। यो सरासर गलत हो।’ उनले भने।

यता प्रदेश सभा सदस्य हिक्मतबहादुर विष्टले उनी खान लाउन नपुग्ने भएकाले नै छनोटमा पारेको दाबी गर्छन्। उनले कार्यविधि अनुसार नै छनोटमा परेको सुनाए।

अनुदान पाउनेमा फडेराको अध्यक्षतामा १४ जना सम्पन्न परिवारका रहेका छन्। अहिले पनि कर्णालीका गरिब र विपन्न परिवारले विपन्नको रकम पाउन सकेका छैनन्। नेता तथा माननीयका आफन्तले अनुदानसहित सो रकम पाउने गरेका छन्।

प्रकाशित: ८ जेष्ठ २०८१ २०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App