१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सार्वजनिक जग्गामा भवन बनाउन नगरकै अनुमति

नेपाल सरकारले सार्वजनिक जग्गामा निर्माण भएका घर टहरा भत्काउन निर्देशन दिइरहेका बेला कालीकोटको खाँडाचक्र नगरपालिकाले भने सार्वजनिक जग्गामा भवन बनाउन अनुमति दिएको छ।

नगरपालिकाले कार्यपालिकाको निर्णय गरेर नै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रलाई १ हजार ४ सय १९ वर्गमिटर जग्गा दिई भवन निर्माण गर्न अनुमति दिएको हो।

सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकारको रहेको भएपनि नगरपालिकाले २०८० साल चैत्र ३ गतेको कार्यपालिका बैठकले निर्णय गरी गुरुकुल विद्यालय नजिकैको सार्वजनिक जग्गामा तयार भएको शौचालय भत्काइ भवन निर्माण गर्नका लागि अनुमति दिएपछि भवन निर्माणको काम थालेको बह्माकुमारी देवी भट्टराईले बताइन्।

उनले भनिन् ‘नगरपालिकाले अनुमति, जानकारी पत्र सहित कार्यपालिकाले निर्णय गरेपछि प्रदेश सरकारसँग बजेट माग गरेका थिर्यौं, प्रदेश सरकारले भवन निर्माणका लागि २० लाख बजेट विनियोजन गरेपछि भवन निर्माण गर्न लागेका हौँ।’

भूमि सुधार आयोग कालीकोटका पूर्व अध्यक्ष चित्रसिंह गाउँले भने नगरपालिकाले आफू खुसी सरकारी जग्गा कुनै व्यक्ति फर्म वा संस्थालाई दिन नमिल्ने बताउँछन्। ‘यसका लागि वडा हुँदै जिल्ला सभाबाट निर्णय गरी मन्त्रीपरिषद्सम्म जानुपर्ने हुन्छ।’ उनले भने। 

लालपुर्जा विनाको जग्गामा भवन निर्माण गर्नका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्न नहुने गाउँलेको भनाइ छ। ‘प्रदेश सरकारले विनियोजन गरेको बजेटले भवनको रकम कसरी भुक्तानी हुन्छ हेर्न बाँकी नै छ।’ उनले भने। 

कुनै पनि व्यक्ति फर्म वा संस्थालाई सरकारी जग्गा दिनु परेमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठक बसी सरकारी जग्गा वा सार्वजनिक जग्गाको अन्य कुनै निकायलाई हक हस्तान्तरण गर्दा बैठकले उपयुक्त ठानेमा सम्बन्धित निकायमा सिफारिस गर्न सक्ने छ भन्ने कानुनमा व्यवस्था भएकाले सो नभई स्थानीय सरकारले दिएको अनुमतिले काम नगर्ने मालपोत कार्यालयका प्रमुख नेत्रबहादुर शाहीले बताए।

उनका अनुसार नगरपालिकाले अुनमति दिदैमा भवन निमार्ण गर्न मिल्दैन त्यसको पनि विधि प्रक्रिया भएकाले भवन निमार्ण गरेपनि भत्काउनुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ। ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रको नाममा कुनै पनि हालतमा उक्त जग्गामा भवन तयार गर्न नहुने उनले बताए। उनले भवन निमार्ण गर्दैगर्दा लालपुर्जा नभएको खण्डमा प्रदेश सरकारले भुक्तानी कुन आधारमा गर्न मिल्छ भन्ने कुराको पनि जानकारी लिन आग्रह गरे।

यस्तै,खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीले २०८० चैत्र ७ गतेका दिन चलानी नंम्बर १३८५ को पत्र दिदैँ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रलाई सरकारी जग्गामा भवन निमार्णको लागि आवश्यक पर्ने जग्गा उपलव्ध गराएको पत्र पठाएका छन्।

उक्त पत्र पश्चात पुन २०८० चैत्र १२ गतेका दिन चलानी नम्बर १४१६ मार्फत निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीले २०८० फागुन २८ गतेको नगर कार्यपालिकाको बैठकको निर्णय नं ११ बमोजिम सरकारी जग्गामा निमार्ण गरिएको सार्वजनिक शौचालय भत्काइ उक्त भवन निमार्ण गर्न अनुमति दिइएको जानकारी गराएका छन्। अनुमतीका साथै भवन निर्माणको लागी सम्झौता समेत भएको नगरपालिकाले जनाएको छ।

सरकारी जग्गामा सरकारी निणय बेगर भवन लगाउन नमिल्ने सरकारी वकिल लोकराज पोखरेलले बताउँछन् । उनले भने जिल्ला प्रशासनमा पनि यो विषयमा कुरा उठेको हुदाँ यस्तो निर्णय नगरपाकिाले मात्र गर्न नमिल्ने उनको भनाइ छ।  

नगरपालिका भाडामा राजयोगलाई जग्गा

संघियतापछि खाँडाचक्र नगरपालिका भाडाको भरमा चलिरहेको छ । आफु भाडाको भरमा रहेको नगरपालिकाले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रलाई सरकारी जग्गामा भवन निमार्णका लागि अनुमति दिएको छ।

खाँडाचक्र नगरपालिकाको आफ्नै कार्यालय भवन छैन्। अहिले पनि नगरपालिकाले वार्षिक ६० लाख घर भाडा तिर्ने गरेको छ । स्थानीय सरकार बनेको सात वर्ष बितिसक्दा पनि पालिकाको भरपर्दो भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन्।

नगरपालिका मात्र होइन,धेरै जसो वडा कार्यालय, प्रहरी भवन पनि भाडाको घरबाटै सेवा प्रवाह गरिरहेका छन्। आफु भाडाको घरमा बसीरहेको नगरपालिकाले कार्यपालिकाको निर्णय गरी ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रलाई सरकारी जग्गामा भवन निमार्ण गर्न अनुमति दिएपछि स्थानीयले चर्को विरोध गरेका छन्।

प्रकाशित: ८ जेष्ठ २०८१ १५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App