२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

पर्यटकको रोजाइमा ओशो पार्क

धरान उपमहानगरपालिका– १३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ। धरानको भानुचोकबाट करिब ६ किलोमिटरमाथि निर्माण गरिएको उक्त पार्क आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो।

बुटवलबाट साथीहरूसँगै धरान घुम्न आएका सन्तोष खरेलले ओशो पार्क पुगेपछि चारैतिर फूलले ढाकेको, चारैतिर चौतारा देख्दा निकै खुसी लागेको बताए। उनले भने, ‘आजभन्दा चार–पाँच वर्षअगाडि यहाँ आउँदा चारैतिर जङ्गल, झाडी अनि खोला थियो। अहिले यस्तो राम्रो बनिसकेछ, फेरि पनि आउने छौं।’

उदयपुर गाईघाटका प्रविन राई बिहानै गाईघाटबाट गाडी चढेर घुम्नका लागि ओशो पार्क पुगेका थिए। उनले भने, ‘टिकटक र फेसबुकमा देखेर यहाँ पहिलो पटक आएको छ। श्रमदान र मेहनत गर्दा एउटा खोलामा पनि सुन्दर र रमणीय घुम्ने ठाउँ बनाउन सकिने रहेछ भन्ने एउटा उदाहरण बनेको छ।’

पहिले घुम्नका लागि भेडेटार धनकुटासम्म जाने गरेकामा अहिले यहाँस्थित पार्क नै आउने गरेको राईले बताए। ‘स्थानीय स्तरमा यति सुन्दर घुम्ने ठाउँ बनिसक्यो, अब साथीभाइसँग घुम्न टाढा जानै नपर्ने भएको छ’, उनले भने।

भानुचोकबाट करिब ६ किमिमाथि निर्मित उक्त पार्कनजिकै श्रमदानबाट बनाइएका एसडिबी, रकगार्डेन, बिपीलगायत दर्जनौं पार्क छन्। वरिपरिको हरियाली वातावरणमा ढकमक्क फूलले ढाकेको ठाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक केन्द्र बनेको छ।

पहिले उजाड र सुनसान जङ्गलजस्तै लाग्ने यो ठाउँमा अहिले पर्यटकको चहलपहल निकै हुन थालेपछि व्यवसायी पनि खुसी भएका छन्। अहिले यो पार्क आसपासमा दर्जनौं होटल सञ्चालित छन्। दिनमा चारदेखि, पाँच सयसम्मको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेको स्थानीय होटल व्यवसायी सुरज गुरुङको भनाइ छ। उनी नौ वर्ष वैदेशिक जीवन बिताएर फर्किएपछि यहाँ एक दशकदेखि व्यापार गर्दै आएका छन्।

गुरुङका अनुसार यहाँ घुम्न आउनेले जैविक खानेकुराको स्वाद लिन पाउँछन्। विशेषगरी यहाँ तोङ्बा, सुकुटीलगायत स्थानीय सामग्रीबाट बनेका परिकार खान पाइने उनले बताए। ‘धेरैजसो बिक्री हुने भनेको तोङ्बा, सुकुटी र चटपटे हो, एकपटक आएको मान्छे निरास भएर जानुहुन्न। फेरि फर्केर आइरहनुहुन्छ’, उनले भने।

व्यवसायी टेकबहादुर राई र सविता राईले पनि लामो समयदेखि यहाँ व्यवसाय गर्दै आएका छन्। उनीहरूले अहिले यो ठाउँ निकै परिवर्तन भएको बताए। यहाँ धरान, इटहरी, मोरङ, झापागायत विदेशबाट पनि पर्यटक घुम्न आउने गरेका स्थानीय होटल व्यवसायी टेकबहादुर राईको भनाइ छ।

ओशो पार्कमा मनमोहक दृश्यावलोकनका लागि दैनिकजसो ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका धरान– १३ का वडाध्यक्ष नेत्र काफ्लेले बताए। ‘अरु दिनभन्दा सार्वजनिक बिदा तथा शनिबार अन्य समयभन्दा बढी पर्यटक यहाँ घुम्न आउने गर्छन्’, उनले भने, ‘अझ विस्तारै यस ठाउँमा घुम्न आउने पर्यटकको संख्या बढ्दै जाने विश्वास लिएका छौं। पार्कलाई रमणीय र आकर्षित बनाउन भौतिक पूर्वाधारका काम भइरहेका छन्।’

वडाध्यक्ष काफ्लेका अनुसार यो क्षेत्रमा घुम्न जाडोमा भन्दा गर्मी समयमा धेरै पर्यटक आउने गरेका छन्। ‘पर्यटकको थप आकर्षण बढाउनका लागि १३ नं वडा कार्यालयले सात लाख रुपैयाँ सहयोग गरेको छ। ओशो पार्क क्षेत्रभित्रै फूलका बगैंचा, बालबालिकाका लागि खेल्ने ठाउँ, विभिन्न ढुङ्गाका डिजाइनबाट निर्माण गरिएका आकर्षक मूर्तिहरू राखिएका छन्’, उनले भने।

संघीय सांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट छुट्याइएको २० लाख रुपैयाँले ओशो (बिपी पार्क) को निर्माण गरिएको छ। साथै पूर्वसांसद कृष्णकुमार राईको सांसद कोषबाट १० लाख रुपैयाँको सहयोगमा घिर्लिङको अवशेष जाने सिँढी निर्माण गरिएको थियो।

आन्तरिक पर्यटकको मुख्य केन्द्रका रुपमा विकास गर्ने योजनाअनुसार पार्क निर्माण गरिएको सांसद जयकुमारले बताए। ‘धरानमा घुम्न आउने पर्यटकका लागि घुम्ने स्थल बूढासुब्बा मन्दिर, दन्तकाली, विजयपुरपछिको ओशो पार्क, (बिपी पार्क) सँगै यस क्षेत्रमा दर्जनौं पार्क बनिसकेकाले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको छ’, उनले भने, ‘यस पार्कलाई अझ एकीकृत गरेर सौन्दर्यकरण गर्नुपर्छ।’

धरान– १३ फुस्रे चोकबाट ओशो पार्कसम्म पुग्ने बाटो पहिले कच्ची थियो। पछिल्लो समय प्रदेश सरकारको ४० लाख रुपैयाँ सहयोगमा एक किमि सडक कालोपत्र भएपछि यहाँ आउने पर्यटकलाई सहज भएको वडाध्यक्ष काफ्लेले बताए।

सरकारी निकाय तथा स्थानीयवासीको सहयोगमा निर्मित उक्त पार्क धरानकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विस्तार हुँदै गएको छ। यसलाई थप व्यवस्थित बनाउँदै पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले बताए।

यहाँका कतिपय सरकारको सहयोगमा बनेका पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएका भन्दै सबैको सहयोग र समन्वयमा पर्यटकको आकर्षणको केन्द्र बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म प्रचार–प्रसार गर्नुपर्ने उनको भनाइ छ। –रासस

प्रकाशित: ४ जेष्ठ २०८१ १४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App