२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पर्यटन महोत्सवको रमझममा रमाउँदै फुङलिङ बजार

ध्वजापताका टाँगेर महोत्सवमय बनाइँदै फुङलिङ बजार। तस्बिर : नागरिक महोत्सवमय फुङलिङ बजार,

जेठ ३ देखि फुङलिङमा सुरु हुने ताप्लेजुङ पर्यटन महोत्सवको पूर्वसन्ध्यामा फुङलिङ बजार झकिझकाउ बनाउन थालिएको छ। सोमबार बिहान फुङलिङमा बृहत्तर सरसफाइ कार्यक्रम गरिएको छ भने स्थानीयले स्फूर्त रुपमा ध्वजापताका र तुल ब्यानर सजाउन थालेका छन्।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले महोत्सव सफल बनाउन स्थानीय सर्वसाधारण स्वतस्फूर्त रुपले महोत्सवका विभिन्न कार्यक्रममा सक्रिय रुपले सहभागी बन्न थालेको जानकारी दिए।

पाँचदिने महोत्सवका क्रममा आइतवबारबाटै फुङलिङ बजारमा ध्वजापताका सजाएर बजार क्षेत्र रंगीचंगी बनाउन थालिएको छ। ‘समुदायका सदस्यहरु आफैं मिलेर आआफ्नो टोल क्षेत्र सजीसजाउ गर्न थाल्नु भएको छ’, नगर शृंगार उपसमितिका संयोजक लीलाराज पौडेलले बताए।

उनका अनुसार सोमबार बिहान तोक्मेडाँडामा भेला भई नगर सफाइ गरिएको छ। महोत्सवस्थल हुलाक कार्यालय मास्तिरका खाली जमिनमा स्टल निर्माण कार्य सुरु भएको छ। सार्वजनिक खुला जमिन नभएका कारण यसपटक महोत्सवस्थल त्यहाँ कायम गरिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ।

महोत्सव मूल आयोजक समितिका सहसंयोजक तथा फुङलिङ नगर प्रमुख अमिर मादेनले महोत्सव स्थलको एक भागमा अन्तरपालिकास्तरीय मेयर कप भलिबल तथा अर्को भागमा महोत्सवका मुख्य मञ्च तथा स्टलहरु तयार गर्न थालिएको जानकारी दिए।

महोत्सवलाई भव्य र सफल बनाउन मूल समितिअन्तर्गत गठित उपसमितिले आआफ्नो विभागीय जिम्मेवारीलाई असल मनसायका साथ बोध गरेको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव देवराज गुरुङले जानकारी दिए।

जेठ ७ गते खुला तथा महिला हाफ म्याराथन हुने छ। खुलातर्फ तोक्मेडाँडाबाट सुरु भई ३ हजार ७ सय ९४ मिटर उचाइको पाथिभरा मन्दिर पुगेर पुनः तोक्मेडाँडा तथा महिला हाफ म्याराथनतर्फ तोक्मेडाँडाबाट सुरु भई पाथिभरा क्षेत्रको काफ्लेपाटी पुगेर पुनः तोक्मेडाँडासम्म फर्कनुपर्ने गरी दूरी निर्धारण गरिएको छ।

सो अवसरमा अन्तरपालिकास्तरीय मेयरकप भलिबल प्रतियोगितासमेत हुने छ। औद्योगिक मेला प्रर्दशनी, वक्तृत्वकला प्रतियोगिता, साहित्यिक स्रष्टा सम्मान तथा साहित्य उत्सव, सांस्कृतिक कार्यक्रमअन्तर्गत प्रताप दास र सुनिता थेगिमको उपस्थितिमा सांस्कृतिक साँझ, डोको क्यारी रन, डोको र टपरी बुन्ने प्रतियोगिता हुने छ।

यसका साथै लागुऔषध दुव्र्यसनविरुद्धका चर्चित अभियन्ता प्रमिस भोटियाको उपस्थितिमा सचेतनामूलक कार्यक्रम र ताप्लेजुङमा रहेका विभिन्न पर्यटकीय स्थलहरुको प्रदर्शनीसहितका कार्यक्रम गरिने आयोजककाे भनाइ छ।

प्रकाशित: ३१ वैशाख २०८१ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App