३ असार २०८१ सोमबार
image/svg+xml
समाज

जलकुम्भी हटाउन फेवातालको मुहान क्षेत्रमा १५ दिने अभियान

फेवातालको जलकुम्भी हटाउन तालको मुहान क्षेत्रमा १५ दिनसम्म दैनिक सरसफाइ गरिने भएको छ। जलकुम्भीका कारण पोखराको फेवाताल कुरूप बनेपछि फेवातालको मुहानबाटै जलकुम्भी हटाउने अभियान सुरु गरिएको हो।

पोखरा महानगरपालिकाको सहयोगमा ‘एक जलारी घर एक रोजगारी’ कार्यक्रम अन्तर्गत यो अभियान चलाइएको जनाइएको छ। जहाँ हरेक दिन स्थानीय ४० जना जलारीले जलकुम्भी हटाउनेछन्। त्यसबाहेक अन्य इच्छुकले पनि स्वयंसेवी रुपमा सहभागिता जनाउन सक्ने जनाइएको छ।

अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, सफाइ अभियान्ता र स्थानीयसहित सात सयभन्दा बढी आइतबार अभियानमा सहभागी भए। अभियानको पहिलो दिन आइतबार १५ टिप्पर जलकुम्भी झार हटाइएको छ।

ऋभियानमा सहभागी सशस्त्र प्रहरी बलको कालिका गण मालेपाटनका गणपती प्रहरी उपरीक्षक अरुण शर्माले अभियान सफल बनाउनु पोखरेली सबैको दायित्व भएको बताए। उनले भने,‘ताल तलैयालगायत प्राकृतिक स्रोत, सम्पदा र सम्पत्तिको संरक्षण गर्नु सबैको साझा दायित्व हो।’

अभियान पहिलो दिन डेढ घण्टा चलेको थियो। पहिलो दिनको अभियानमा सहभागी पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जलकुम्भी झार हटाउने अभियानमा सबैले हातेमालो गर्नुपर्ने बताए। उनले भने, ‘सबैको हातेमालोले मात्र संरक्षण र विकासका अभियान पुरा हुन्छ।’

जलकुम्भी झार हटाउने अभियानमा करिब ३०० सेना २ सय जना सशस्त्र प्रहरी, स्थानीय सहित सहभागी भएको शर्माले बताए।  अभियान अब दुई हप्ता निरन्तर चल्नेछ। फेवाताल जस्तै बेगनास ताल, रुपाताल लगायतका कास्कीका सबै तालमा पनि यो अभियान चलाइने वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले बताए । 

प्रकाशित: ३० वैशाख २०८१ १६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App