७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सुत्केरी उद्धार गर्न गाउँगाउँमा हेलिप्याड

सेनाले तयार गरेको सुकाटियाको हेलिप्याड। तस्बिर: नागरिक

सुत्केरी महिला तथा विपद्मा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ। कालीकोटको शुभकालिका–५ सुकाटियामा सेनाले १० लाख बजेट खर्च गरेर एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरेको हो।

एक महिनाको अवधिमा शमशेर गुल्म मान्मको जनशक्ति परिचालन गरेर हेलिप्याड निर्माण गरेर हस्तान्तरण गरेको गुल्मपति सेनानी रन्जित कार्कीले बताए। ‘सुकाटियाको डाँडो सम्याएर हेलिप्याड बनायौं,’ उनले भने, ‘जटिल अवस्थाका सुत्केरी, विपद्का घाइतेलगायतको उद्धार गर्न सहज हुनेछ।’

उनले सडकको अवस्था राम्रो नभएको शुभकालिकाबाट आकस्मिक रूपमा घाइते तथा बिरामीको उद्धार गर्न हेलिप्याड उपयोगी हुने उनको भनाइ छ।

सेनाले गाउँपालिकाको केन्द्रमा हेलिप्याड निर्माण गरेर हस्तान्तरण गरेकामा खुसी लागेको पालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए। अप्रेसन गर्नुपर्ने खालका सुत्केरी महिला, विपद्बाट घाइते भएकालाई हेलिप्याड सहयोगी हुनेछ।

हवाई उद्धारका लागि हेलिप्याड नहुँदा समयमै अस्पताल पुर्‍याउन नसकी अबदेखि कुनै पनि दिदीबहिनीले अकालमा ज्यान गुमाउन नपर्ने गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले बताइन्। उनका अनुसार एक वर्षको अवधिमा मात्र शुभकालिकाका तीनजना सुत्केरी महिलाको सदरमुकाम मान्मबाट हवाई उद्धार गरेर ज्यान बचाइएको छ।

स्वास्थ्य संस्था लैजान ढिलाइ हुँदा गत वर्ष नै भर्ता र छाती गाउँका दुई महिलाले सुत्केरी हुन नसक्दा अकालमा ज्यान गुमाएका थिए। भरपर्दो सडक यातायात नभएको शुभकालिका–४, ५ र ६ नम्बर वडालाई पायक पर्ने गरी सुकाटियामा निर्माण गरी गाउँपालिकालाई हेलिप्याड हस्तान्तरण गरिएको छ।

खाँडाचक्रमा दुई, तिलागुफामा दुई र रास्कोटमा पाँचवटा हेलिप्याड निर्माण गरिएका छन्। यस्तै शुभकालिकामा एक, पचालझरनामा चार, नरहरिनाथमा एक, महावै गाउँपालिकामा एक हेलिप्याड निर्माण सम्पन्न छन्। यस्तै जिल्लाकै दुर्गम पलाँता गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकामा अहिलेसम्म एउटै हेलिप्याड निर्माण गरिएको छैन।

३४ सुत्केरीको हवाई उद्धार

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धारबाट धेरै महिलाको ज्यान जोगिएको छ।

दुई वर्षको अवधिमा कालीकोटबाट ३४ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ। सरकारले गर्भवती, सुत्केरी महिला र ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गर्ने कार्यविधिअनुसार हालसम्म विगत दुई वर्षमा कालीकोटबाट ३४ जना सुत्केरी महिलाको उद्धार गरेर सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।

उनले भने, ‘सुत्केरी महिलाको हकमा तत्काल उपचारका लागि धेरै राहत भएको छ, जटिल खालका केसहरूका लागि अति उपयोगी छ।’

अहिले पनि दुर्गम जिल्लामा सुविधासम्पन्न अस्पताल निर्माण भएको भए सुत्केरी उद्धार आवश्यक नहुने उनको भनाइ छ। सरकारले कर्णालीका कालीकोट, मुगु, हुम्ला, दैलेख, जाजरकोट, डोल्पालगायत जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्न सकेको छैन।  

प्रकाशित: २६ वैशाख २०८१ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App