६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

दाँत कोट्याउने सिन्कामै सम्भावना

‘टुथपिक’ भन्नेबित्तिकै सामान्यतया मानसपटलमा दाँत कोट्याउने सानो सिन्का आउँछ। हेर्दा सानो चिजको ठुलो महत्व हुन्छ।

हाम्रा भान्सादेखि दैनिक कार्यव्यवहारमा आउने बाँसको सानो सिन्काको यात्रा निकै लामो छ। हाम्रो आफ्नै बाँसबाट होइन, यो चीनमा उत्पादन भएर हामीसम्म आउने गरेको हो।

हो त्यही सिन्को यतिबेला देशभित्रै उत्पादन हुन थालेको छ। नेपालकै बाँस नेपाली प्रयास ‘साथी तुथपिक’ सिन्धुलीस्थित हिरापानी नगरपालिका–४ बाट धमाधम उत्पादन भइरहेको छ। यसअघि विदेशबाट आउने दाँत कोट्याउने सिन्का, ससेज उन्ने सिन्का, धूप बनाउने सिन्का आदि देशभित्रै पाइने भएको छ।

यदाकदा भन्ने गर्छौं-देशमा सियो त बन्दैन, अरू के कुरा। हेर्दा सामान्य लाग्ने यस्ता वस्तु निर्माण गर्नुपछाडि धेरै मेहनत हुन्छ। तर, दैनिक व्यवहारमा चाहिने यस्ता वस्तु विशेषगरी चीनले उत्पादन गर्छ र नेपालसम्म पठाउने गर्छ।

चीनबाट तुथपिक मात्रै आउँदैन, न्याप्किनदेखि ट्वाइलेट पेपरसमेत आउँछ। नेपाली उद्यमीले उत्पादन गरेका वस्तुहरूले विदेशी वस्तुसँग स्थानीय बजारमा प्रतिस्पर्धा गर्दा उद्योग बन्द हुने अवस्थामा धेरै पुगेका थिए। तर, केही उद्योगहरू भने विदेशबाट आयात भएका भन्दा शक्तिशाली रहेका पनि छन्।

महावीर पुनले पहल गरेको राष्ट्रिय आविष्कार केन्द्रमा तुथपिक बनाउने मेसिनको आविष्कार भएसँगै यसको उत्पादन विस्तार भइरहेको छ। दाँत कोट्याउन, फलफूल तथा अन्य खाना खान प्रयोग गरिने सिन्काको नेपाली बजारमा ठुलो माग छ।

टुथपिक उत्पादनका लागि विभिन्न किसिमका आठवटा मेसिनको आविष्कार गरेको जानकारी पुनले दिए। युवालाई आफ्नै देश फर्काउन र देश सेवामा प्रेरित गर्न यस्ता आविष्कार भइरहेका छन्।

‘टुथपिकको नेपाली बजारमा धेरै माग छ,’ पुनले नागरिकसँग भने, ‘यसको काम दाँत कोट्याउन मात्रै प्रयोग हुँदैन। फलफूल पसल र रेस्टुरेन्ट तथा होटलहरूमा यसको ठुलो माग छ। मागसँगै यसलाई बनाउन उत्तिकै गाह्रो छ। हेर्दा एउटा सानो सिन्काजस्तो लाग्छ। तर, त्यही सिन्का बनाउन आठवटा मेसिन चाहिएको छ।’

राष्ट्रिय आविष्कार केन्द्रमा टुथपिक उत्पादन गर्न बनाइएको मेसिनको मूल्य करिब साढे २० लाख रूपैयाँ पर्छ। ‘यो मेसिन बनाउन धेरै नै महँगो मूल्य लाग्छ भन्ने सबैले सोच्छन्। तर, त्यस्तो होइन। भारतीय १२ लाख रूपैयाँ पर्ने यो मेसिन नेपाल ल्याउँदाको कर र ढुवानीसमेत २५ लाख रूपैयाँभन्दा बढी पर्छ। भारतमा बनेको मेसिनभन्दा राष्ट्रिय आविष्कार केन्द्रमा बनेको मेसिन धेरै राम्रो छ।’

यस केन्द्रमा बनेको मेसिन किन्दा सस्तो र थप फाइदा रहेसँगै वर्षभरिको पूरा वारेन्टी रहेको उनले बताए। नेपालमा बर्सेनि तीन करोडको टुथपिक आयात हुन्छ। ‘स्वदेशी टुथपिक निर्यात गर्न नसके पनि देशभित्रै खपत गर्न सके ठुलो काम हुन्छ,’ पुनले भने, ‘विदेशबाट आउनेभन्दा यहाँ बनेको टुथपिक सस्तो र गुणस्तरीय छ।’

पुनका अनुसार चीनमा खेती गरेका वर्णशंकर बाँसबाट बनेको टुथपिकभन्दा स्थानीय नेपाली बाँसबाट बनेको टुथपिक धेरै राम्रो छ। ‘चिनियाँ टुथपिक पिटिक पिटिक भाँचिने गर्छ भने स्वदेशी कडा र राम्रो छ,’ पुनले नागरिकसँग भने, ‘नेपालबाट टुथपिकका लागि करोडौं रूपैयाँ विदेश गइरहेको बेलामा रोक्न सक्नु पनि हाम्रा लागि त्यही खुसी हो।’

राष्ट्रिय आविष्कार केन्द्रका ३२ वर्षीय इन्जिनियर राजु थापाले टुथपिक उत्पादन यन्त्र आविष्कार गरेका हुन्। विदेशमा बनेका यस्ता यन्त्रले नेपालमा पाइने बाँसको कप्टेरा तथा टुथपिक बनाउन नमिल्ने उनले बताए।

टुथपिक आविष्कारबाट प्रफुल्लित राजुले नेपालको विभिन्न भूभागमा बाँस धेरै भएकाले यसको उपयोग गर्न सकिने बताए। उनका अनुसार आठवटै मेसिन लगेर तुथपिक उत्पादन गर्न सकिन्छ।

हाल सिन्धुली हिरापानी–४ मा यसको उत्पादनबाट करिब १० जनाले रोजगारी पाएका छन्। नेपाली उद्योगलाई प्रवर्धन गर्न टुथपिक, ससेज सिन्का, धूपको सिन्का आदिको आयात प्रतिबन्ध गर्न सके देशको आर्थिक स्तर सुधार हुने विश्वास उनको छ।

सिङ्गो बाँसबाट विभिन्न प्रक्रिया पूरा गरी आठवटा यन्त्रले फरक फरक बनावटमा निस्किएका सिन्कालाई अन्तिममा आवश्यकताअनुसार ढाल्छन्। एउटा बाँसबाट चार केजी तुथपिक बन्छ। सिन्धुलीमा आठ घण्टामा दैनिक ८० केजी टुथपिक निस्कन्छ। विदेशबाट आयात भएको तुथपिकको प्रतिकिलोग्राम मूल्य ६ सय रूपैयाँ पर्छ।

स्वदेशी उत्पादन भने प्रतिकेजीको पाँच सय रूपैयाँ मात्र पर्ने इन्जिनियर राजुले बताए। दुई वर्षको परीक्षणकालपछि पूर्ण सफल भएको तुथपिक यन्त्रले तीनचार महिनामै त्यसमा लागेको लगानी तथा खर्च उठाउने उनले बताए।

‘स्वदेशी टुथपिकलाई बजारीकरण गर्न सकेमा धेरै फाइदा छ। नेपालमा बाँस धेरै सस्तो छ। अझ पूर्वका झापा र ताप्लेजुङमा धेरै बाँस भएसँगै प्रतिगोटा १० रूपैयाँले नै पाइन्छ। त्यसैगरी नेपालको विभिन्न ठाउँमा बाँस अत्यधिक मात्रामा छ। यो मेसिन त्यहाँ लगेर स्थानीयलाई रोजगार दिँदै सहजै टुथपिक उत्पादन गर्न सकिन्छ।

त्यसरी उप्पादन भएका तुथपिकलाई सहजै बजारीकरण गर्न सकिन्छ,’ राजुले भने। अहिले बेच्ने गरेको मूल्यभन्दा कम मूल्यमा तुथपिक बेच्न सकियो भने पनि धेरै फाइदा हुने उनले बताए। यो क्षेत्रमा फाइदा भएसँगै भविष्यमा स्थानीय स्तरमै धेरै युवालाई रोजगारी दिन सकिनेछ।

चिनियाँ नागरिकले नलगाए पनि उनीहरूले जनै उत्पादन गर्छन् र हामी उनैले बनाएको जनै लगाउँछौं। चीनबाटै टुथपिक ल्याउँछौं। भारतबाट चामल ल्याउँछौं। छिमेकी देशका भन्दा कम लागतमा बढी उत्पादन गर्न सक्ने वस्तुहरू पनि हामी आयात गर्छौं।

यी वस्तु नेपालमै उत्पादन हुने हो भने आर्थिक भार पनि कम हुन्छ, देशकै जनताले रोजगारी पनि पाउने राजुको भनाइ छ। तर अहिले सरकारको ध्यान यतातर्फ भन्दा पनि नयाँ नयाँ श्रम गन्तव्य देश खोज्नतर्फ बढी देखिन्छ।

अहिले नेपालबाट दैनिक करिब तीन हजार युवा वैदेशिक रोजगारीमा विभिन्न देश जाने गरेका छन्। नेपालमा प्रधानमन्त्री रोजगार तथा अन्य कार्यक्रमले पनि देशका युवालाई उपलब्धिमूलक काम दिन नसकेपछि फेरि वैदेशिक रोजगारीमै गए।

अहिले सरकारले पनि बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्छौं भनिरहेको अवस्थामा नेपालमा आविष्कार गरेका मेसिनहरू स्थानीय स्तरमा पु¥याएर स्थानीयलाई रोजगार प्रदान गर्न सकिन्छ।

सरकारले दीर्घकालीन योजना बनाएर युवालाई रोक्न चाहेमा यस्ता उदाहरणीय थुप्रै काम गर्न सकिने साउदी अरेबियामा पेप्सी कम्पनीमा चार वर्ष काम गरेर स्वदेश फर्केका इन्जिनियर राजुले बताए। स्वदेश फर्केसँगै विभिन्न सामग्री उत्पादन गर्ने मेसिनको आविष्कार गर्नतिर लागेको उनले बताए।

‘नेपालमै केही काम गर्न चाहेको खण्डमा बिदेसिनुपर्दैन,’ उनले भने, ‘हामीले पालिकाको तहमा नै स्वरोजगारका यावत् सम्भावनालाई प्रोत्साहन गर्नुपर्छ। गाउँघरमै भएको सामग्रीबाट धेरै सामान बनाउन सक्छौं। त्यसलाई स्वदेशमै खपत गरेर विदेशमा पनि निर्यात गर्न सकिन्छ।’

उनले भने, ‘अब आधुनिकीकरणको जमाना आइसक्यो। हातबाट भन्दा राम्रो मेसिनबाट विविध सामान बन्छ। त्यस्तै नेपालले अहिले खाद्यान्न धेरै आयात गरिरहेको छ। हामीले त्यो खाद्यान्नलाई नेपालमै उत्पादन गर्न सक्छौं। त्यसमा एक जनालाई पनि प्रोत्साहन गर्न सक्यौं भने उसले दश जनालाई रोजगारी दिन सक्छ। अनि विदेश किन धाउनुपर्‍यो। विदेशी सामान किन आयात गर्नुपर्‍यो।’

पालिकाहरूले विदेशबाट बढी आयात गर्ने वस्तु उत्पादनमा महत्व दिए विदेशी सामानको आवश्यकता नपर्ने उनले बताए। केही युवा वैदेशिक रोजगारीमा गए पनि त्यहाँ गएर सिकेको सिपलाई नेपालमा लगाउन सकिने राजुको भनाइ छ। ‘उद्यमी बन्न र उत्पादन गर्न प्रोत्साहन गर्नुपर्छ। जबसम्म हामी उत्पादन गर्न सक्दैनौं, तबसम्म आयातमुखी भइरहन्छौं,’ उनले भने।

राष्ट्रिय आविष्कार केन्द्रले सिन्का मात्र होइन, सालको पातबाट दुनाटपरी बनाउने मेसिनसमेत बनाएको छ। गााउँघरमा खेर गएका सालका पातलाई सिन्काको माध्यमले टपरी गाँस्नै पर्दैन। आविष्कार केन्द्रको मेसिनले टपरी, दुना, डोको, डालो मात्र होइन, बाँसका अन्य सजावट सामग्री र मुढासमेत बनाउने गरेको छ। टुथपिक उत्पादनमा फाइदा भएरै हो, तुथपिक बनाउन केकसो गर्नुपर्छ भन्दै विभिन्न ठाउँबाट दैनिक फोनसमेत अचेल आविष्कार केन्द्रमा आउन थालेको छ।

नेपालमा एक जनाले केही व्यवसायमा फाइदा गर्न थाल्यो भने अरूले नक्कल गर्छन्। आफूले थाहा नपाएको व्यवसायमा हात हाल्न प्रायः मानिस डराउँछन्। त्यसमा जोखिम लिन चाहँदैनन्। अचेल गाउँमा खेती हुन छाडेको छ, त्यस्ता खाली ठाउँमा विभिन्न उद्योग खोली उत्पादन बढाउन थाल्नुपर्छ। दैनिक आवश्यकताका सामग्री मात्र उत्पादन गर्दा पनि त्यसको सकारात्मक परिणाम आउँछ।

प्रकाशित: २२ वैशाख २०८१ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App