३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

न्यायाधीश आनन्दमोहनको आपत्ति

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश आनन्दमोहन भट्टराईले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर समाचार आएको भन्दै भर्त्सना गरेका छन्। उनले विज्ञप्तिमार्फत ‘सिधा कुरा डटकम’ अनलाइन र त्यसैको युट्युब च्यानलमार्फत प्रसारित समाचारमा नाम जोडिएकोमा आफू आश्चर्यचकित र स्तब्ध भएको बताएका छन्।

‘मेरो करिब ४३ वर्षको न्यायिक यात्रा खुला पुस्तकजस्तै छ। जुन मुद्दाको प्रसंगमा मलाई जोडियो, त्यस मुद्दामा म संलग्न थिइनँ भन्ने कुरा उक्त मुद्दामा भएको फैसलाले नै बोलेको छ,’ न्यायाधीश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

जुन समयमा संवैधानिक इजलासबाट फैसला भएको मुद्दामा आफू नरहेको पनि उनले स्पष्ट पारेका छन्। ‘साथै स्टिङ अपरेसनमा संवैधानिक इजलासबाट फैसला भएपश्चात् मसहितको संयुक्त इजलासबाट गरिएका कैयौं फैसलाहरूले सो विषयमा मेरो न्यायिक धारणा व्यक्त गरेका छन्।

उल्लिखित विषयमा मैले कसैलाई भेटेको वा कहीँ कतै उपस्थित रहेको भन्ने नै तथ्यहीन छ। यस्तो आधारहीन, झुटो र जनतामा भ्रम छर्ने कुत्सित उद्देश्यबाट प्रसारित समाचारको म भत्र्सना गर्छु,’ न्यायाधीश भट्टराईले शुक्रबार जारी विज्ञप्तिमा भनेका छन्। ‘सिधा कुरा’ युटुब च्यानलबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफैं रकम उपलब्ध गराएर स्टिङ अप्रेसन गरी रंगेहात पक्राउ गर्ने विषयसँग सर्वोच्च अदालतका न्यायाधीशसमेतका विभिन्न व्यक्तिलाई जोडेर अडियोसहितको भिडियो सामग्री प्रकाशन गरिएको थियो।

२०७७ सालको भनिएको त्यो अडियोभिडियो सामग्री शुक्रबार बिहान प्रसारण गरिएको थियो। सर्वोच्च अदालतले २०७८ वैशाखमा अख्तियारले स्टिङ अप्रेसन गर्नु कानुनविपरीत भएको भन्दै बदर गरिदिएको थियो। नेपाल प्रेस काउन्सिलले २४ घण्टाभित्र सीधा कुरालाई सामग्री हटाउनसमेत निर्देशन दिएको छ।

प्रकाशित: १६ वैशाख २०८१ ०७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App