२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरी केरकारबीच आत्महत्या प्रयास !

फेसबुकमा गृहमन्त्रीको आलोचना

सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री रवि लामिछानेको आलोचनात्मक ‘कमेन्ट’ गरेकै आधारमा प्रहरीले यातना दिएको भन्दै एक युवकले आत्महत्याको प्रयास गरेका छन्।

जाजरकोटको कुशे गाउँपालिका स्थायी घर भएका गणेशमानसिंह ठकुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरी गृहमन्त्री लामिछानेविरुद्ध किन फेसबुकमा ‘कमेन्ट’ गरेको भन्दै मानसिक तनाब दिएपछि उनले प्रहरीको काठमाडौंस्थित साइबर ब्युरोकै ढोकामा विष सेवन गरी आत्महत्या प्रयास गरेको उनका भाइ मानबहादुरले बताएका हुन्।  

ठकुरीले विष सेवन गरेपछि प्रहरीले नै उनलाई वीर अस्पताल पुर्‍याएको थियो। वीरमा उपचार हुन नसकेपछि राति उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालको आइसियुमा भर्ना गरिएको छ। उनको अवस्था चिन्ताजनक रहेको मानबहादुरले बताए। ‘अहिले दाजुलाई आइसियुमा राखिएको छ,’ उनले रुँदै भने, ‘गृहमन्त्रीको आदेश छ–१० वर्ष जेल हाल्छौं भन्दै प्रहरीले धम्क्याएछन्।’

यो घटना सार्वजनिक भएपछि गृहमन्त्री र उनको सचिवालयले अघोषित रूपमा सुरक्षा निकायको दुरूपयोग गरी विचार अभिव्यक्तिमाथि प्रतिबन्ध लगाएर आत्महत्याको बाटो रोज्न बाध्य बनाएको मानबहादुरको आरोप छ।

लोकसेवा आयोगले लिने परीक्षाको तयारी गरिरहेका ठकुरीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। सिंह ठकुरीले सहकारी ठगीको विषयमा गृहमन्त्री लामिछानेको नाम जोडिएपछि उनले प्रष्टीकरण दिनुपर्ने भन्दै कसैले सामाजिक सञ्जालमा गरेको पोस्टमा सहमति जनाउँदै प्रतिक्रिया दिएका थिए। यसै विषयलाई लिएर प्रहरीले उनलाई पक्राउ गरी मानसिक तनाब र धम्की दिएको हो।

‘दाजुले प्रहरीको तनाव खप्न नसकेर र जेल जानुभन्दा मर्नु नै उपयुक्त ठानी विष सेवन गर्नुभएको रहेछ,’ भाइ मानबहादुरले भने। उनका अनुसार प्रहरीले गणेशमानलाई ‘गृहमन्त्रीज्यूलाई किन गाली गरेको, फेसबुकमा किन लेखेको, तँसँग सहकारी ठगेको भन्ने कुनै प्रमाण छ, प्रमाण भए यहाँ राख, होइन भने तँलाई गृहमन्त्रीको आदेश छ– १० वर्ष जेल हाल्ने’ भन्दै धम्क्याएका रहेछन्। ‘गृहमन्त्रीविरुद्ध किन लेखेको भनेर दाजुलाई पाँचजना प्रहरीले घेरा हालेर टर्चर दिएका रहेछन्,’ मानबहादुरले भने।

मानबहादुरले दाजु गणेशमानको फेसबुक पेजमा ११ घण्टाअघि पुरानो कमेन्टमा अरूले नै सम्पादन गरेको दाबीसमेत गरेका छन्। ‘मोबाइल प्रहरीले लगेको थियो, त्यहाँ तीनपटक सम्पादन गरेको देखिन्छ,’ मानबहादुरले भने।

ब्युरोका प्रहरीले यसै विषयमा ठकुरीलाई तीन दिनअघि पनि कार्यालयमा बोलाएका रहेछन्। दोस्रोपटक ब्युरोका प्रहरीले बुधबार उनलाई बोलाएर जेलमै सडाउने धम्की दिएको भाइ मानबहादुरले बताए। ‘दाजु निकै सोझो हुनुहुन्छ, जाँडरक्सी पनि खानुहुन्न, धूमपान पनि गर्नुहुन्न, सामाजिक सञ्जालमा सबैले उठान गरेको विषयमा उहाँले प्रतिक्रियास्वरूप कमेन्ट गर्नुभएको थियो। त्यो अश्लील थिएन,’ मानबहादुरको दाबी छ।

गोर्खा मिडिया प्रालिका नाममा ग्यालेक्सी टिभी सञ्चालन गर्दा आफैं सञ्चालक समितिमा रहेका लामिछानेमाथि सुप्रिम, सूर्यदर्शनलगायतका सहकारीबाट करोडौं रूपैयाँ लिएर अपचलन गरेको आरोप लागेको छ। सहकारीपीडित अन्यायमा परेका बेला सहकारीको रकम ठगीबारे प्रश्न गर्नेलाई गृहमन्त्रीले सुरक्षाकर्मी लगाएर विष सेवन गर्नुपर्नेसम्मको परिस्थितिमा पु¥याएको घटना दुखद भएको मानबहादुरले बताए। यो विषयमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले आफूलाई जानकारी नभएको बताए। ‘अहिले योबारेमा जानकारी छैन, भोली बुझेर खबर गर्छुु,’ उनले भने।

गृहमन्त्री लामिछानेको नाम लिएर यसअघि नुवाकोटका शालिकराम पुडासैनीले आत्महत्या गरेका थिए। सो प्रकरणमा लामिछानेलाई प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा पनि चलाएको थियो। पछिल्लो समय लामिछानेले गृह मन्त्रालय सम्हालेपछि सामाजिक सञ्जाल अनुगमनका नाममा आफ्नो पक्षमा नलेख्नेलाई साइबर अपराधको मुद्दा लगाउने धम्की प्रहरीमार्फत दिन थालेको स्रोतले बतायो। यसैकारण जाजरकोटका गणेशमानले विष सेवन गर्नुपर्ने अवस्था निम्तिएको सोही स्रोतको दाबी छ।

पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले पनि आफूहरूको रकम डुबाएको भन्दै रवि लामिछानेविरुद्ध उजुरी दिएका छन्। गत माघ २२ मा लामिछानेविरुद्ध उजुरी परेपछि प्रहरीले छानबिन अघि बढाएको थियो। छानबिन नसकिँदै लामिछाने गृहमन्त्री बने। उनले छानबिनमा खटिएको टोलीका प्रहरीलाई सरुवा गरेका छन्। सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रूपैयाँ हिनामिना भएको बचतकर्ता नै बताउँछन्। सहकारी ठगी प्रकरणमा लामिछानेमाथि सदन र सडक दुवै ठाउँबाट छानबिनकोे माग भइरहेको छ। यो विषयालाई सामसुम पार्न सरकारले संसद् हिउँदे अधिवेशन नै अन्त्य गरेको छ।

प्रकाशित: १३ वैशाख २०८१ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App