८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

हिंसापीडितकी देवी

२०३८ साल कात्तिकमा दोलखाको एउटा दुर्गम गाउँमा सानोतिनो विद्रोह भयो। एक जना गाउँकै जमिन्दारले ऋण नतिरेको आरोप लगाउँदै एक विधवा स्त्रीको घरमा भएका सारा गाईबस्तु र सामानहरू खोसेर लगे। ती विधवा स्त्रीले रोईकराई गरिन्। सारा गाउँ उल्टियो। जमिन्दारमाथि कुटपिट भयो। कुटपिटको क्रममा तिनको ज्यानै गयो।

पञ्चायतकालको उर्वर समयमा जमिन्दारमाथि गाउँ नै उल्टिएर आक्रमण हुनु र कसैको ज्यानै जानुले प्रशासनको ध्यान आकृष्ट त भयो नै, साथमा सारा गाउँले व्यक्तिहत्यामा तानिए। गाउँमा कोही पनि जेल नपर्ने व्यक्ति थिएन। स्वयं देवी खड्काकी आमा र दाजु पनि जेल परे। केही समयपछि यो प्रक्रियामा मुद्दा मामिला, अदालतको चक्करले सारा सम्पत्ति सकियो। एउटा हुने खाने परिवार हुँदा खाने परिवारमा झर्‍यो। राज्यले बिनासित्तीमा दुःख दिने रहेछ भन्ने सानैमा प¥यो देवीलाई।

दसैँमा दाइका कारणले कहिल्यै समयमा टीका लगाउन पाइनन् उनले। उनका बुवा नवमीको दिन बिहानै सदरमुकाम चरिकोट पुग्नुहुन्थ्यो। दाइलाई साइतको टीका लगाइदिएपछि बेलुकी घर आइपुग्नु हुन्थ्यो र मात्र वास्तविक दसैँ देवीको घरमा छिर्थ्याे।

एक वर्ष देवी ज्यादै खुसी थिइन् किनभने बुवाले दाइसँगै दशमीको दिन टिका लगाइदिने भन्दै चरिकोट लिएर जानु भएको थियो। बुवाले दाइलाई र दाइले देवीलाई टिका लगाइदिएपछि उनी सन्तुष्ट भइन्। त्योभन्दा पनि ठूलो सन्तुष्टिचाहिँ उनलाई दाइले असल मान्छे हुनु भन्ने आशीषका साथ एक रुपैयाँको ढ्याक दिनुभएको थियो। दाइको जेलजीवन पाँच वर्ष पूरा भइसकेको थियो। अब छिट्टै मुक्त भएर आउने आश्वासन बहिनीलाई दिँदै हुनुहुन्थ्यो। पुलकित देवी दाइ छिट्टै घर फर्कने खुसी लिएर फर्किइन्।

त्यसै वर्षको तिहारपछि भने देवीलाई वज्रपात प¥यो। जेलबाट उनका दाइको निधनको खबर आयो। उनी छक्क परिन्, ‘हिजैजस्तो लाग्छ दाइले चाँडै भेट्ने कुरा गरेको। कसरी यस्तो हुन सक्छ?’

सारा परिवार शोकमा डुब्यो तर देवीको मनमा भने प्रश्न रहिरह्यो - यसै कसरी अचानक प्रियजनको मृत्यु हुनसक्छ ! उनलाई लागिरह्यो -त्यो जमिन्दारकै कारणले यस्तो दुर्दशा भएको हो।

त्यो बेलासम्म देवीको गाउँ वरपर छोरीहरूलाई पढाउने चलन थिएन। पढाए पोइल जान्छन् भन्ने समय थियो। विद्यालय पनि नजिक थिएनन्। दुई जना दाइहरू विद्यालय जाँदा उनलाई पनि जाउँ लाग्थ्यो। एक दिन त भाइलाई विद्यालय पुर्‍याउने बहानामा उनी पुगिन् पनि। भोलिपल्टदेखि भने उनका बाख्रा र घरायसी कामले रोकिरह्यो। पढ्ने रहर भाइको किताबबाट पूरा गर्थिन् उनी। भाइले उनलाई विद्यालयमा पढेका कुराहरू दोहोर्‍याएर उनलाई पढाउँथे। शिक्षकले भाइलाई गृहकार्य दिन्थे, यता भाइले उनलाई गृहकार्य दिन्थे। यसरी उनको अक्षर चिन्ने क्रम चल्यो।

केही समयपछि माध्यमिक शिक्षाका लागि दुई जना दाइहरू ढालबहादुर र रीतबहादुर सदरमुकाम चरिकोट आएर पढ्न थाले। दाइहरूले यहीँ राजनीतिक प्रशिक्षण पाए।

एक दिन रीत दाइले भन्नुभयो, ‘मैले थाहा पाएँ, हाम्रा दाइ किन जेल पर्नु भएको रहेछ! अहिलेको सत्ता त धनीमान्छेको सेवा गर्ने सत्ता रहेछ। उसले त्यही सेवा गरेको रहेछ।’

देवी निदाएको स्वाङ पार्दै दाइको कुरा सुनिरहेकी थिइन्। दाइले भनेको उनी सम्झन्छिन्, ‘यो संसारमा दुई किसिमका मान्छे हुँदारहेछन्। एउटा शोषितपीडित र अर्को चाहिँ शोषक। शोषकहरूका कारण दाइ जेल पर्नुभयो र उनीहरूकै कारण उहाँको निधन भयो।’

विद्यालय जीवनमा दुई जना दाइहरू कम्युनिस्ट शिक्षामा दीक्षित हुँदै हुनुहुन्थ्यो र घरमा पनि त्यस्तै सिकाइरहनु भएको थियो। देवीलाई लाग्थ्यो, ‘मेरा दाइलाई थाहा नभएको केही कुरा छैन।’ दाइले पनि देवीलाई थिचोमिचो नसहन प्रेरित गर्नुहुन्थ्यो। भाइ र बहिनी बराबर भए पनि बहिनीमाथि बढी दलन हुन्छ भनेर आमालाई सम्झाइरहनु हुन्थ्यो।

कहिल्यै औपचारिक शिक्षा नलिएकी देवीले यसपछि ‘नारी, बन्धन र मुक्ति’ पढिन्। दाइले ल्याइदिएको त्यो पुस्तक पढेपछि त उनलाई वास्तविक मुक्तिका लागि त भिड्नुपर्ने रहेछ भन्ने लाग्यो।

देशमा ०४६ सालको आन्दोलनका बेला दुवै दाइहरू एसएलसी दिनुहुँदै थियो। शिक्षासँगै राजनीतिमा पनि उहाँहरू सक्रिय हुँदै गर्दा उहाँहरूको राजनीतिक सक्रियताका कारण बेलाबेलामा पक्राउ पर्ने र सजाय दिने काम गथ्र्यो। यसबाट पनि देवीलाई पञ्चायती प्रशासनप्रति एक किसिमको घृणा थियो। त्यसैले गाउँठाउँमा उनी राम्रैसँग सक्रिय भइन्।

२०४६ चैत २६ गते देशमा प्रजातन्त्र पुनस्र्थापना त भयो तर उनले सोचेजस्तो नारीमुक्तिको समय आएन भन्ने लाग्यो। विद्रोह नै नारीमुक्तिको एक मात्र उपाय हो भन्ने उनलाई लागिरह्यो। पछि उनका दुई जना दाइहरूले स्नातक सकेपछि दोलखाकै गौरीशङ्कर गाउँपालिकास्थित हलेश्वर माविमा शिक्षण गर्न थाल्नुभयो। ‘रीतबहादुर दाइ त भूमिगत राजनीतिमा सक्रिय हुनुहुन्छ भन्ने मैले धेरैपछि मात्र थाहा पाएँ,’ उनी यतिबेला सम्झन्छिन्।

२०५२ सालको माघे संक्रान्तिका लागि देवीले पानीघट्टबाट चिउरा कुटेर घर फर्कंदै थिइन्। बीच जंगलमा उनले रीतदाइलाई देखिन्। दाइले सोध्नुभयो, ‘के ल्याएकी?’ त्यसपछि दाइले एउटा झोलाभरि चिउरा झिक्नुभयो र भन्नुभयो, ‘म लामो यात्रामा छु, भेट नहुन पनि सक्छ!’

देवीलाई अचम्म लाग्यो, घरबाट चिउरा नलगेर बीच बाटोमै उहाँले किन यसो गर्नुभएको होला! किन त्यसो भन्नुभएको होला? पछि थाहा भयो, दाइ त भूमिगत भइसक्नु भएको रहेछ! २०५२ साल फागुन १ गतेपछि उनले दाइलाई देख्न पाइनन् तर बेलाबेला खबर पाइरहन्थिन्।

देवीका लागि अब भाइ नै सर्वश्व थिए। लगभग उही उमेरका भएकाले दिदीभाइबीच असाध्य माया थियो। भाइले नै पढ्न सिकाएकाले एक हिसाबले उनी शिक्षक र साथीजस्ता थिए। कम्युनिस्टहरू बिग्रिए, सपार्ने काम अब माओवादीले गर्छ भन्ने विश्वासले उनी र भाइ पनि सक्रिय राजनीतिमा लागे। उनी सक्रिय हुँदै गर्दा प्रशासनको नजरमा कुन बेला परिन् भन्ने पत्तै पाउन सकिनन्। एक दिन तिहारको किनमेल गर्ने सोचका साथ गाउँबाट चौतारा आउँदा बाटैमा पक्राउ परिन्।

‘धन्न, त्यो दिन म भाइलाई भेटेका बेला पक्राउ गरिएन,’ यतिबेला उनी सम्झन्छिन्, ‘नत्र भाइलाई र मलाई एकै दिन एकै समयमा पक्राउ गरिने रहेछ।’

उनलाई गाडीमा हाल्दै गर्दा भाइलाई परैबाट देवीले देखिन्। भाइले पनि देखे। दुवैबीच हेराहेर भए पनि कुनै सङ्केत गरिनन्। भाइ पनि लामो समय भूमिगत रहन सकेनन्। उनी पनि पक्राउ परे। त्यस बेला नै जीवनको सबैभन्दा खतरनाक अनुभव भोग्नुपर्‍यो। उनी बलात्कृत भइन्। २८ दिनसम्म उनको पक्राउबारे सुरक्षा निकायले स्वीकार नै गरेन। उनी विद्रोही नै भए पनि उनलाई सुरक्षाकर्मीले गर्नुपर्ने सम्मानजनक व्यवहार गर्नबाट चुक भयो।

विद्रोहको क्रममा कोपभाजनमा पर्ने भनेको महिला नै हुन्। उनीहरू बलात्कृत हुन्छन्, अन्यायपूर्ण तरिकाले मारिन्छन्। तर २१ औँ शताब्दीमा कुनै पनि मानवजातिबाट यस्तो दुव्र्यवहार कल्पना गर्न सकिँदैन। द्वन्द्वका क्रममा हुने बलात्कारका घटना सभ्यतामाथिको त कलङ्क नै हो। बलात्कृत भएपछि उनी बेहोस भइन्।

यसै क्रममा उनलाई पक्राउ गरिएको खबर सार्वजनिक भयो तर गौरी प्रधान, खिमलाल देवकोटाजस्ता अधिकारकर्मीको प्रयासले उनको अवस्थाका बारेमा थाहा भयो। सर्वोच्च अदालतमा उनको अवस्था सार्वजनिक गर्न दबाब गर्न मुद्दा परेपछि उनलाई धुलिखेलको जिल्ला प्रहरी कार्यालयबाट जेल चलान गरिन्छ। बलात्कृत हुँदा मान्छेको आत्मसम्मान यति चूर हुन्छ कि मर्न मात्र मन लाग्थ्यो उनलाई।

तीन महिनापछि उनी अचानक जेलमुक्त भइन्। त्यसपछि त उनलाई आफ्नो ज्यानको कुनै मायामोह रहेन। कसरी बन्दुक बोक्न सकिन्छ, बोक्ने अनि जतिजनालाई सकिन्छ, मार्ने र मर्नेबाहेक उनलाई कुनै सोच आउँदैनथ्यो। उनको मानसिक अवस्थालाई ख्याल गर्दै गौरी प्रधान लगायतका मानव अधिकारकर्मीहरूले उनको उपचारमा सघाए। अब कहाँ जाने? के गर्ने? तर मलाई घर जान मन थिएन।

देवीको शारीरिक र मानसिक अवस्था राम्रो नभएकाले काठमाडौँमा उपचार गराइयो। पाँच महिनापछि उनको मानसिक अवस्था स्थिर भयो। यसपछिका दुई वर्ष पनि उनको अवस्था ठीक थिएन। उनको मनमा चलिरहन्थ्यो, ‘आखिर म किन बलात्कृत भएँ? यो समाजका लागि बलात्कृत भएकी हुँ भने समाज समुन्नत बनाउन र सपना पूरा गर्नु मेरो कर्तव्य हो।’

विस २०५९ असार २ मा रौतहटको पिपरामा उनको दाइको हत्या भयो। यस पछि त उनको संसार नै चूर्ण भयो। भएको भाइ पनि त्यही बेला जेल परे। दोलखामा राजनीति गर्ने कोही थिएनन्, उनी सचिव चुनिइन्। सात दल र माओवादीबीच सहकार्य भएको पहिलो घटना यहीँबाट भएको हो। सबै इतर पार्टीलाई एक जुट बनाउने, सहकार्य गर्ने लगायतका काम उनले आफ्नो समयमा गरेकी थिइन्।

यो सक्रियताले उनलाई राजनीतिक फाइदा भयो। २०६२÷६३ को आन्दोलन सफल भएपछि २०६४ चैत २९ मा संविधानसभाको चुनाव हुँदा भीमबहादुर तामाङ र पशुपति चौलागाईंभन्दा आठ हजार बढी मत ल्याएर उनी विजयी भइन्। चुनावमा भोट माग्दा पनि विपक्षीहरूले भन्थे रे, ‘भोट दिन मन भए मलाई दिनू, नदिए देवीलाई दिनू।’

यत्रो परिवर्तन र अपेक्षाका बीच काम गर्ने ठाउँमा आए पनि संविधानसभामा ठूला दलको गम्भीरता उनले देखिनन्। त्यहीँ उनले खरो शब्दमा संविधानसभामा वक्तृत्वकला प्रतियोगिता भइरहेको भन्दै आक्रोश पोखिन्। जनताले चुनेर जे कामका लागि पठाएका थिए, त्यो अभिभारा पूरा गर्न सकिन्छ कि सकिदैन उनलाई लागिरहन्थ्यो। जब पहिलो संविधानसभाबाट संविधान बनेन, अर्को पटक सभासद हुने इच्छा उनलाई भएन।

यसपछि नै हो, उनलाई द्वन्द्वमा बलात्कारपीडितका लागि केही गरौँ भन्ने लागेको। द्वन्द्वका बेला घाइते हुनेहरूका लागि राहत थियो, त्यहाँ निधन हुनेका लागि केही व्यवस्था थियो तर यौनजन्य हिंसापीडितका लागि भने कुनै जानकारी दर्ज थिएन। घटना भएको थियो, पीडितहरूले नारकीय जीवन भोगिरहेका थिए तर उनीहरू पनि पीडित हुन् भनेर कसैले मानेन।

बलात्कारको घटनापछि मान्छेको जीवन उथलपुथल भएको छ, घरबार बिग्रिएको छ, उनीहरू मानसिक रुपमा विक्षिप्त भएका छन्, उनीहरूको स्वास्थ्यमा कमजोरी भएको छ, त्यो बेलाको घाउ यतिबेला पाकेर पिपैपिप बगेको छ, तर म पीडित भएँ भन्न सकिने वातावरण बनेको छैन।

 त्यस्ता पीडितहरूको मनोबल बढाउने काम गर्न पाए हुन्थ्यो भन्ने उनलाई लाग्थ्यो। तर यहाँ सही नियतका साथ आवाज उठाए पनि फाइदा अरुले लिने चलन बढेर गएको उनले देखिन्। माओवादी आन्दोलनमा पनि वास्तविक पीडितले कहिल्यै ठाउँ पाएनन्। त्यो देखेकी देवीले आफूले यसबारे आवाज उठाउँदा अरुले नै फाइदा उठाउने हुन् कि भन्ने लाग्यो। त्यो नभए पनि उनले आफू फाइदा लिई, अरुलाई चाहिँ केही भएन भन्ने आरोप लाग्ला भनेर उनी सचेत थिइन्।

शान्ति प्रक्रिया अघि बढ्दै जाँदा हरेक क्षेत्रमा द्वन्द्वमा यौनजन्य हिंसापीडितहरू भने छुट्दै छुट्दै जान थाले। उनीहरू पनि द्वन्द्वपीडित हुन्, उनीहरू पनि प्रभावित व्यक्ति हुन् भन्ने बुझाउन ढिला हुन थालिसकेको थियो। कसैले यो आवाज उठाइदिए हुन्थ्यो भनेर उनले केही ठाउँमा भनसुन नगरेकी पनि होइनन्। तर कसैले पनि आवाज नउठाइदिएपछि उनलाई झोँक चल्यो।

बलात्कारको घटनाको यत्तिका वर्षपछि पनि उनलाई त्यो घटनाले अझै पनि सताइरहन्थ्यो। झसङ्ग पारिदिन्थ्यो। सारा शान्तिप्रक्रियामा भने यी कुराको कतै सम्बोधन नहुँदा उनले आवाज उठाउन थालिन्। यो आवाज उठाएको आधा दशक बितिसकेको छ। यो आधा दशकमा उनले द्वन्द्वमा बलात्कारपीडित महिलाहरूलाई भेला गर्ने, तिनीहरूको मानसिक तथा शारीरिक उपचार गर्ने, पिप बगिरहेका, घाउ अझै सञ्चो नभएकाहरूको भेलामा आफू एक्लो नरहेको सन्देश दिन उनी सफल भइन्।

तर यतिले पनि द्वन्द्वमा बलात्कारपीडितहरूको समस्या कम हुने अवस्था थिएन। यही घटनाले उनीहरूको जीवनमा हुरी आएको थियो। उनीहरूको वैवाहिक जीवन टुटेको थियो। बलात्कारकै कारण सन्तान जन्मिएका थिए र त्यो सन्तानको जिम्मा लिइदिने कोही अभिभावक थिएनन्। उनीहरू सामाजिक रुपमा वहिष्कृत थिए।

समाजले उनीहरूलाई देहव्यापारीको व्यवहार गथ्र्यो। उल्टै उनीहरूको चरित्रमा लाञ्छना लगाइन्थ्यो। यसको सारा मूलस्रोत त्यही द्वन्द्वकालमा भएको बलात्कारको घटना नै थियो। अब त्यहीँ उनीहरू छुटेका थिए। उनीहरू कानुनी रुपमा पीडित हुन् भन्ने मान्न कोही तयार थिएन। देवीको संघर्ष यसैमा थियो।

केही पीडितहरूले उनीसँग बलात्कारपीडितहरूको आवाज बन्न आग्रह गरे। उनी नमानेपछि अगुवाई गरिदिन अनुरोध गरे। त्यो पनि उनले मानिनन्। धेरैले यसलाई मागिखाने भाँडो बनाइरहेको देखेकी उनले त्यही काम गर्न मनले मानिरहेको थिएन। तर एक समूह पीडित महिलाहरूले ‘तँलाई पो चाहिएन, हाम्रालागि को छ? कल्ले बोल्दिन्छ?

हामी गुमनाम छौँ, दोहोरो मार खेपिरहेका छौँ’ भन्न थालेपछि भने उनी अगुवाई गर्न बाध्य भइन्। वास्तवमा देवीमाथिको यत्रो घटना भएपछि पनि उनको विवाह भयो। उनका दुई प्यारा सन्तान छन्। उनलाई हरदम साथ दिने पति छन्। तर धेरैको घरबार यही घटनाले बिग्रिएको छ। उनीहरूको पारपाचुके भएको छ। खाने र अडिने कुनै ठाउँ छैन धेरैको। फेरि यो कुनै एक पक्षको कुरा मात्र होइन। माओवादीका तर्फबाट पीडित हुनेहरू पनि छन्।

सुरक्षाकर्मीका तर्फबाट पीडित हुनेहरू पनि छन्। यी दुवै पक्षलाई अघि बढाउन ढिला भयो भन्ने उनलाई लागेपछि यो अभियानमा उनी अगुवाई गर्न राजी भइन्। त्यो पनि उनी तत्कालै राजी भएकी होइनन्। धेरै मन्थन, सोचविचार एक वर्षको आन्तरिक द्वन्द्वपछि मात्र उनको अन्तरआवाजले भन्यो, ‘तँ ज्यूँदै छेस् भने आफ्नालागि मात्र होइन, अरुको पनि आवाज बन्।’

यसपछि उनी द्वन्द्वका बेला भएका यौनजन्य हिंसापीडितका पक्षमा बोल्न थालेपछि उनका अप्ठेरा शुरु भए। सरकारले सजिलै स्वीकार्ने सवाल थिएन। यही बीचमा केही पत्रकारले असाध्य राम्रो भूमिका खेले। उनी स्वयं आफ्नो घटनाबारे बोल्दै गर्दा पुनः ‘ट्रमाटाइज’ हुन थाल्यो। अरु पीडितलाई पनि असह्य पीडा हुन थाल्यो।

पुराना दृश्य ताजा भएर आउन थाले। दुई वर्ष ज्यादै गाह्रो भयो। सबै द्वन्द्वपीडितका मागहरू सम्बोधन हुने तर बलात्कारपीडितका माग नसुनिने र उजुरी पनि दिन नपाउने अवस्था आयो। संसद्बाट पास नभए पनि पछिल्लो चुनावबाट बनेको संसदीय उपसमितिमा नियमित फलोअप गरियो। विषय नै असजिलो, संवेदनशील भएकाले पनि लामो समय लाग्यो।

गत असोज २३ गतेपछि भने अभियान संलग्न साढे तीन सयभन्दा बढी सक्रिय सदस्यको घरमा दीपावली भयो, कतिको घरमा, कतिको मनमा। सर्वोच्च अदालतले एउटा परमादेश जारी ग¥यो। त्यस परमादेशको फागुन २३ गते पुनर्पाठ आयो। त्यसमार्फत एक महिनाभित्र पीडितहरूका लागि आयोग गठन गर्न बाटो खुल्यो।

चैत ९ गते सर्वोच्चको आदेशपछि टिआरसी कार्यान्वयन गर्ने क्रममा सरकारले छलफल गरेको छ। अब बलात्कारपीडितहरूले उजुरी दिन पाउने भएका छन्। उनीहरू पनि पीडित हुन् भन्ने मान्न सरकार सहमत भएको छ। अब उजुरीपछि छानविन हुन्छ। छानविनपछि यौनजन्य हिंसामा परेकाहरू पनि वास्तविक पीडित हुन् भन्ने पहिचान हुनेछ। उनीहरूले पनि अन्य पीडितझैँ पहिचान र क्षतिपूर्ति पाउने छन्।

एकातिर देशमा धर्मनिरपेक्षता, गणतन्त्र, संघीयताजस्ता उपलब्धि मानिएको छ तर त्यही उपलब्धिका लागि आन्दोलनमा हिँडेकाहरू सबैको पहिचान गरिए पनि यौनजन्य हिंसापीडित पहिचान नगरिनु दुःखद् पक्ष थियो। कि त ती सबै वाहियात थिए भन्नु पर्‍यो, ती सबै उपलब्धि हुन् भने यौनजन्य हिंसापीडितहरूको पनि पहिचान हुनुपर्‍यो भन्ने आवाज स्थापित गर्न सफल हुनुभएकोमा अगुवाई गर्ने देवी खड्का समाज र देशकै नायक हुन्।

प्रकाशित: ११ वैशाख २०८१ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App