२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ओखरका बिरुवा बेचेर करोडौँ रुपैयाँ कमाउँछन् जुम्ली किसान

जुम्लाको पातारासी गाउँपालिका-७ घोडासैन गाउँका सिंह कठायतलाई दाँतेओखरका बिरुवा बेच्न भ्याइनभ्याइ छ। उनी गत वर्ष दाँते ओखरका १२ हजारभन्दा बढी ओखरका बिरुवा बेचेको बताउँछन्। प्रतिबिरुवा ४ सय रुपैयाँका दरले बेच्दा उनले एकैपटक करिब ४८ लाख रुपैयाँ आम्दानी गरेको सुनाए।

जिल्लामा सबैभन्दा बढी ओखर बिरुवा बेच्ने किसान सिंह कठायत नै रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। उनीलगायत जिल्लाका ६५ जना नर्सरी धनीले ६० हजार ओखरका बिरुवा बेचेका छन्, जसबाट २ करोड ४० लाख रुपैयाँ जुम्लामा भित्रिएको कार्यालयको तथ्यांकले देखाउँछ।

जिल्ला कृषि विकास कार्यालय जुम्लामा सूचीकृत भएका मध्ये ६५ जनाले सक्रिय रूपमा बिरुवा हुर्काइरहेको कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए। कृषि प्राविधिकहरूको नियमित निगरानीमा ओखर नर्सरी धनीहरूले गुणस्तरीय बिरुवा उत्पादन गरेका कारण बाहिरका जिल्लाबाट ओखर बिरुवाको माग अधिक रहेको कार्यालयले दाबी गरेको छ । एक किसानले न्यूनतम २ सयदेखि १२ हजारभन्दा बढी ओखरका बिरुवा बेचेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।  

किसानले उत्पादन गरेका अधिकांश ओखरका बिरुवा बिक्री भइरहेको कार्यालय प्रमुख देवकोटा बताउँछन्। जुम्लाको एक मात्रै नगरपालिका चन्दननाथ तथा सातवटा गाउँपालिकामा ओखर खेती गरिँदै छ। ‘जुम्लाका सबै क्षेत्रमा ओखर खेती भइरहेको छ, फलफूलका लागि जुम्ला स्वर्णभूमि नै हो । चालु आर्थिक वर्षमा ताप्लेजुङ, संखुवासभा, रामेछाप, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, बझाङ, बाजुरा, हुम्ला, कालीकोट, दैलेख लगायत जिल्लामा जुम्ली ओखरका बिरुवा पुगेका छन्’ प्रमुख देवकोटाले भने।

ओखर खेतीमा पछिल्लो समयमा किसानको रुचि बढेको र सरकारी दररेटअनुसार प्रतिबिरुवा ओखर बोटको ७ सय रुपैयाँ तोकिएको उनको भनाइ छ। यस्तै, संघसंस्था, सरकारी निकाय, कृषक समूह र व्यक्तिगत रूपमा किसान आफैं जुम्ला पुगेर ओखरका बिरुवा खरिद गरेर लैजाने गरेको बताइएको छ ।  

सबैभन्दा बढी जुम्लाको पातारासी गाउँपालिकाबाट झन्डै ३० हजार ओखरका बिरुवा जिल्लाबाहिर पठाइएको कार्यालयको तथ्यांकमा उल्लेख छ। अन्य गाउँपालिकाबाट दुई हजारदेखि ५ हजारसम्म बिरुवा बाहिर पठाइएको छ । पुसदेखि फागुन पहिलो सातासम्म जुम्ली किसानलाई ओखरका बिरुवा बेच्न भ्याइनभ्याइ हुने गरेको छ।

प्रकाशित: १० वैशाख २०८१ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App