२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

श्रीमतीको हत्या गरी घरमै खाल्डो खनेर शव लुकाउने श्रीमान् र जेठाजु पक्राउ

धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन्। सात महिनाअघि धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलकी ४५ वर्षीया रेखा देवी ठाकुरको हत्या गरेर फरार भएका उनका श्रीमान् र जेठाजुलाई शनिवार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रेखाका ५५ वर्षीय श्रीमान् सुदिप ठाकुर र ६० वर्षीय जेठाजु उदित ठाकुर रहेको धनुषाका प्रहरी प्रवक्ता एवं डिएसपी रञ्जन अवाले बताए।

उनका अनुसार गत कात्तिक १० गते राति घरमा कोही नभएको बेला श्रीमान् श्रीमतीबीच सामान्य विवाद हुँदा सुदिपले रेखाको टाउकोमा बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

बन्चरो प्रहारबाट श्रीमतीको मृत्युभएपछि सुदिपले दाजु उदितसँग सो विषयमा जानकारी गराएका थिए। दुई दावुभाईको छलफल पछि घरैमा खाल्डो खनेर रेखाको शव लुकाएका थिए। हत्यापछि दाजुभाई घर छाडेर भारत फरार भएका थिए। घरमा गाडेको शवको चिन्ताले सताएपछि उनीहरू घटनाको बीस दिनपछि भारतबाट फर्केर घरको खाल्डोबाट शव निकालेर टुक्राटुक्रा पारेर बोरामा राखी धबौलीस्थित नदीमा गाडेर पुनः भारत फरार भएको प्रहरीले गरेको अनुसन्धानमा देखिएको छ।

भारतको दिल्लीमा भाडा बनाउने कम्पनीमा काम गर्न थालेका उनीहरू डेढ महिनापछि पुनः फर्केर नेपाल आएका थिए। सुदिप दाजुसँगै शनिबार आफ्नी छोरीको घरमा गएको प्रहरीले सूचना पाएपछि उनीहरूलाई छोरीको घरबाट पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर शवको बारेमा सोधपुछ गर्दा नदीमा गाडेको बताएको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताए। साहको नेतृत्वमा खटेका प्रहरी टोली आइतबार नदीबाट रेखाको कंकाल फेला परेको छ।

पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय यदुकूहामा राखेर घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०८१ २१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App