२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतीय नागरिकको अपरणपछि हत्या, हत्या आरोपमा तीनजना पक्राउ

हत्याको आरोपमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्दै प्रहरी। तस्बिर : नागरिक

कपिलवस्तुको मायादेवी गाउँपालिका ४ बिजुवा पुलबाट अपहरण गरी एक भारतीय नागरिकको हत्या गरिएको छ। बिहीबार पौने पाँच बजेतिर चारजनाले पुलबाट अपहरणपछि कुटपिट गरी भारतको उत्तर प्रदेश सिद्धार्थनगर ग्राम पोखरभिटवाका ४५ वर्षीय जमाल अहमदको हत्या गरेका हुन्।

जमाललाई चारजनाले अपरणपछि कुटपिट गरी जबर्जस्ती अटोमा बसेर पिपरा बलुहवा हुँदै बडसुहडामा पुग्दा अटो बिग्रिएको थियो। बडसुडवाबाट लु ८२ प १३०० नम्बरको मोटरसाइकलमा लगेर मायादेवी गाउँपालिकाको अभिरावको बगैंचामा चारजनाले जमाललाई लाठीलगायतले कुटपिट गरी हत्या गरेका थिए।

सो मोटरसाइकल अक्रमुद्दिन मुसलमानले रमजान भन्ने अब्दुल अली मुसलमान र सुब्बा भन्ने नजामुद्दिन मुसलमानलाई दिएका थिए। जमाललाई ती चारजनासहित मिलेर हातखुट्टा बाँधेर हत्या गरी शवलाई त्यही स्थानमा रहेको मदरसा इस्लाहुल मस्लेमिनको भण्डार कोठामा राखेका थिए। ढोकामा ताला हानेर उनीहरू फरार भएका थिए।

जमाल अहमद।

जमाललाई कुटपिट गरी अटोमा राखेर अपहरण गरेको हल्ला चलेपछि प्रहरीले खोजबिन थालेको थियो। घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले मृतकको युपी ५५ एएच २०५७ नम्बरको मोटरसाइकल र पुलनजिकै छालाको कालो ब्यागसमेत फेला पारेको थियो। प्रहरीले चारैतिरबाट खेराबन्दी गरी खोजतलास गर्ने क्रममा दुईजनालाई पकडी र एकजनालाई अभिरावबाट पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा मायादेवी गाउँपालिका २ अभिरावका ४१ वर्षीय रमजान भन्ने अ्रब्दुल अली मुसलमान, ३७ वर्षीय सुब्बा भन्ने नजामुद्दीन मुलमान र ३२ वर्षीय अक्रम मुसलमान रहेका छन्। पक्राउ परेकाहरूले दिएको बयानका आधारमा जमालको शव हातखुट्टा बाँधेको अवस्थामा फेला परेको थियो। मृतकको हात भाँच्चिएको र शरीरका विभिन्न भागका गहिरो चोट र नीलडामसमेत देखिएको छ।

जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी अभियुक्तहरूलाई सार्वजनिक गरेको छ। प्रहरी उपरीक्षक नवरत्न पौडेलले घटनाको ३ घन्टाभित्रै मुख्य अभियुक्तहरू पक्राउ गरिएको बताए। उनले प्रारम्भिक विवरणअनुसार घटनाको कारण लेनदन रहेको उनले बताए।

तीन वर्षअघि रमजानले जमाललाई तीन लाख रुपैयाँ दिएका थिए। पैसा नदिई लुकेर हिँडेपछि आक्रोशित रमजानकै योजनामा सो घटना गरिएको हो। रमजान भारतमा विभिन्न कसुरमा जेल सजाय काटेर आएका अभियुक्त हुन्। मृतक जमाल भेस्टिज भन्ने नेटवर्क कम्पनीका एजेन्टसमेत हुन्। 

शवलाई कपिलवस्तु अस्पतालमा पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको प्रहरी उपरीक्षक पौडेलले बताए। पक्राउ परेकाहरूलाई ज्यानसम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित: ७ वैशाख २०८१ १८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App