१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नाच–गानसहित ट्राफिक सचेतना

काठमाडौंको सुन्धाराअघि बुधबार अपराह्नतिर एक हुल ट्राफिक प्रहरी भेला भए। उनीहरूका साथमा वाद्यवादक र कलाकार पनि थिए। यो जमघट कुनै सांस्कृतिक कार्यक्रमका लागि नभएर ट्राफिक सचेतना अभिवृद्धिका लागि थियो। 

उनीहरूले गायन र नृत्यका साथमा कसरी सवारी दुर्घटनाबाट बच्न र बचाउन सकिन्छ भन्ने बारेमा चेतनामूलक प्रस्तुति दिए। कार्यक्रममा सहभागी नेपाल प्रहरी म्युजिक स्कुलका प्रहरी भुलराज खनालले मंगलबारदेखि सुरु भएको ट्राफिक सप्ताह मनाउन यस्तो तरिका अपनाइएको जानकारी दिए।

नाच–गानसहित सडक किनारमा टाँगिएका चेतनामूलक बोर्डहरूले पनि ट्राफिक सचेतना जागरणमा सहयोगी भूमिका निर्वाह गरेको देखियो।

यसअघिका वर्षहरूमा ट्राफिक सप्ताह सार्वजनिक बसमा तुल, पोस्टर टाँसेर, तुल र पोस्टरसहित सडकमा स्काउट वा विद्यार्थी उतारेर, माइकिङ जस्ता कार्यक्रम गरी मनाइन्थ्यो।  यसपटक भने नाच–गानका माध्यमबाट पनि ट्राफिक सचेतना अभिवृद्धि गर्ने काम भइरहेको छ।

‘नाच–गानसँगै बीचबीचमा बोलेर पनि ट्राफिक ज्ञानसम्बन्धी जानकारी दिइन्छ,’ खनालले भने। नेपाल प्रहरी म्युजिक स्कुलले मंगलबार पाटन दरबार क्षेत्रमा नाच–गानसहितका प्रस्तुति दिएर ट्राफिक सप्ताह कार्यक्रम गरेको थियो।  

नाच–गानसहित ट्राफिक शिक्षा दिँदा त्यो बढी प्रभावकारी हुने नेपाल प्रहरी म्युजिक स्कुलका प्रहरी निरीक्षक राजकुमार तामाङले बताए। ‘नाच–गान हेर्न धेरै मानिस आउँछन् । त्यस क्रममा धेरैलाई कुरा बुझाउन सकिन्छ,’ उनले भने।

ट्राफिक सप्ताहअन्तर्गत नाच्ने र गाउने दुवै नेपाल प्रहरी म्युजिक स्कुलका प्रहरी रहेको उनले बताए। नाच–गानसहितको ट्राफिक सप्ताह पहिलो पटक भएको र यो प्रभावकारी देखिएको उनले बताए।  

तामाङका अनुसार ट्राफिक सप्ताहको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो। सडकको भौतिक संरचना राम्रो नहुनु, सवारी साधनमा हुने मेकानिकल त्रुटि र मानवीय गल्तीका कारण सवारी दुर्घटना हुन्छ। नेपालमा हुने ७० प्रतिशत सवारी दुर्घटना मानवीय गल्तीका कारण हुने गरेको पाइएको छ।

६ महिनाअघि चितवनमा गरिएको एक अध्ययनअनुसार ७० प्रतिशत सवारी दुर्घटना मानवीय त्रुटिका कारण भएको पाइएको जानकारी उनले दिए। अन्य कारणले हुने सवारी दुर्घटना ३० प्रतिशत मात्र छ। चालकले सडकमा प्रदर्शन गर्ने अनुशासन र संवेदनशिलताले दुर्घनाबाट बच्न र बचाउन सहयोग पुग्ने तामाङ बताउँछन्। 

नाच–गानयुक्त ट्राफिक सप्ताह कार्यक्रममा ‘जोखिमयुक्त तरिकाले सामानको ढुवानी नगर्न, हरियो बत्ती बलेपछि मात्र बाटो काट्न, साँघुरा सडक, चौबाटो र घुम्तीमा ओभरटेक नगर्न, लेन परिवर्तन नगर्न, तीव गतिमा गाडी चलाए परिणाम अकल्पनीय हुन सक्ने, छिटो गए भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ, मोटरसाइकल चलाउँदा गुणस्तरीय हेलमेट प्रयोग गर्न, बालबालिका, ज्येष्ठ नागरिक र अशक्तलाई बाटो काट्न सहयोग गर्न, बाटो काट्दा र गाडी चलाउँदा मोबाइल फोनमा कुरा नगर्नलगायत विषयमा सचेत गराइएको छ।

गत फागुन महिनामा मात्र मुलुका ७ हजार ७ सय ८० वटा सवरी दुर्घटना भएका छन्। ती दुर्घटनामा १ सय ३५ जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।

प्रकाशित: ६ वैशाख २०८१ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App