३१ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

पोखराभित्र दुईलाख बढी विरुवा रोप्न मिल्ने ठाउँ उपलब्ध

पोखर सहर। तस्बिरः नागरिक

पोखरा महानगरभित्र २ लाख १८ हजार बिरुवा रोप्न सकिने गरि खुला ठाउँ पहिचान भएको छ। सार्वजनिक जग्गा, सडक र खोला किनारमा ती बिरुवा रोप्न सकिने पनि महानगरको ठहर छ।

पोखरा महानगरपालिकालाई ‘स्वच्छ सहर, हरित सहर’ को रुपमा विकास गर्नका लागि वृक्षारोपण गर्न मिल्ने सम्भावित ठाउँ पहिचान गर्न तथा रणनीति तय गर्नका लागि महानगरद्वारा गठित कार्यदलले ठाउँ र आवश्यक बिरुवा संख्या पहिचान गरेको हो। त्यसबाहेक रोप्न मिल्ने बिरुवाको प्रजाति पनि यही कार्यदलले पहिचान गरेको छ।

वन विज्ञान अध्ययन संस्थान, पोखराका उप–प्राध्यापक डा.शेषकान्त भण्डारीको संयोजकत्वमा गठित महानगरको कार्यदलले यो अध्ययन गरेको हो। कार्यदलका अनुसार सार्वजनिक खुला क्षेत्रमा ७३ हजार ३ सय ९९ र सडक, नदी तथा खोला किनारमा १ लाख ४४ हजार ६ सय ४ वटा बिरुवा रोप्न सकिने सम्भावना रहेको कार्यदलका संयोजक डा.भण्डारीले बताए। कार्यदलमा भण्डारी सहित उप–प्राध्यापक सुमन भट्टराई र उप–प्राध्यापक विकास अधिकारी सदस्य थिए।

रैथाने प्रजाति, स्थानीय बासिन्दाको रोजाई, सौन्दर्ययता बढाउने, सदाबहार, धार्मिक महत्त्व बोकेका, पोखरा महानगर भित्र राम्रोसँग हुर्किरहेका, हावाहुरीबाट सहजै नभाँचिने प्रजातिका वृक्ष पोखरा महानगरभित्र रोप्न सकिनेगरि बिरुवाका प्रजाति छनौट गरिएको कार्यदलले बताएको छ।

अध्ययन अनुसार महानगर क्षेत्रको ७ सय किलोमिटर सडक तथा राजमार्ग किनार, झन्डै ६७ किलोमिटर नदी तथा खोला किनार, २९ सार्वजनिक स्थल र १ सय २५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवा रोप्न सकिनेछ।

‘हामीले क्षेत्रफल, आवश्यक बिरुवा र प्रजाति पनि पहिचान गरेका छौ,’ भण्डारीले भने, ‘ती बिरुवा रोप्न सकियो भने पोखरा हरियाली सहर बन्नेछ।’ पोखरा महानगरपालिकालाई ‘स्वच्छ र हरित सहर’ को रुपमा विकास गर्नका लागि क्षेत्र र रणनीति पहिचान भएको पनि उनले बताए।

महानगरभित्र पहिचान गरिएको सम्भावित क्षेत्रमा लगाउन सकिने बिरुवामा वर, पिपल, समी, पैयुँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोका, कल्की फूल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागजपाते, पालम, धुपी, बाँस, खयर, शिशौं, पाखुरी, राजवृक्ष, रातोपाते, सिना कपुर, लिची, किम्बु, बेल, अम्बा, कदम, रुद्राक्ष, नारेश्वर लगायतका छन्।

सहरी वन व्यवस्थापनमा पूर्वाधार, मानवीय अतिक्रमण, जनचेतनाको कमी, कानुनी जटिलता, जनशक्ति, प्राविधिक उपकरण, अन्तर निकाय समन्वयको अभाव रहेको उनले बताए। ‘चुनौती पनि छन्। तर, ती चुनौती चिर्दै अघि बढ्न सकिन्छ,’ उनले भने, ‘त्यसो भयो भने बल्ल पोखरा हरित सहर बन्नेछ।’

कार्यदलले अध्ययनका क्रममा वृक्षारोपण व्यवस्थापन तथा संरक्षण रणनीति अन्तर्गत बिरुवा रोप्ने खाडल र बिरुवाको आकार, माटो, बिरुवा रोप्ने समय, वृक्षारोपण अभियानमा सिर्जनात्मक तरिका तथा प्रोत्साहनजनक कार्य पनि जरुरी रहेको अध्ययन कार्यदलले बताएको छ। बिरुवाको नाम लगायतको विवरण अभिलेखीकरण, ट्रिगार्ड, जनचेतना अभिवृद्धि, दण्ड, जरिवाना र क्षतिपूर्ति लगायतको व्यवस्था गर्न पनि आवश्यक रहेको टोलीको निष्कर्ष छ।

महानगर क्षेत्रमा सहरी वनको व्यवस्थापन आवश्यक रहेको र खाली तथा खुला स्थानमा वृक्षारोपण गर्नुपर्ने भएकाले विज्ञको कार्यदल बनाई सम्भावित सम्भावनाको पहिचान गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले बताए। हरित सहरको निर्माण केवल हरियालीसँग मात्र नजोडिने भन्दै प्रमुख आचार्यले यो वातावरणीय स्वच्छता प्रति स्थानीय सरकारको प्रतिबद्धता समेत भएको बताए।

‘विज्ञको कार्यदलले गरेको अध्ययनले पोखरालाई ‘स्वच्छ सहर, हरित सहर’को रुपमा विकास गर्न सहयोग पुग्नेछ,’ उनले भने। महानगर क्षेत्रमा २ लाख बढी बिरुवा रोप्ने कार्य महत्त्वाकाङ्क्षी भएपनि योजनाका साथ काम गर्ने उनले बताए। 

प्रकाशित: ४ वैशाख २०८१ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App