२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कर्णालीमा बर्सेनि बढ्दै आगलागी

गत फागुन १२ गते जुम्लाको पातारासी–२ तल्फी गाउँका कलसिंह सार्कीको तीन तले घर आगलागी भयो। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार आगलागीबाट धनमाल, लत्ताकपडा, अन्न, गरगहनासहित ४१ लाख १५ हजार रूपैयाँ बराबरको क्षति हुन पुग्यो।

यस्तै, गत वर्ष जुम्लाको तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँमा मानसिंह सार्कीको घरमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको थियो। आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको हो। मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

गत वर्षमै जुम्लाको चन्दननाथका लोकबहादुर भण्डारीको घर आगलागीमा परी १६ वर्षकी बन्दना भण्डारीको मृत्यु भएको थियो।

यस्तै, गत चैत २ गते बाख्रा चराउन गएका बेला कालिकोटको खाडाचक्र–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी ५० वर्षका नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको थियो। आगलागीमा घाइते दुवैको कर्णाली प्रदेशको सुर्खेत अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। नन्दरामका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए।

गत माघ २२ गते मुगुको खत्याड गाँउपालिका–२ गाँडेखोलामा घरमा आगलागी भएपछि सुतिरहेकी बहिनी बचाउन जाँदा आगोमै जलेर १२ वर्षीया बहिनी झरनासहित १४ वर्षीय विशाल सञ्ज्यालले ज्यान गुमाए।

खत्याड गाउँपालिका–२ गाडेखोलामा बस्दै आएका लालु सञ्ज्यालको घरमा आगलागी हुँदा उनका दुई छोराछोरीको मृत्यु भएको थियोे भने र सँगै जोडिएका उनका भाइ नरदीप डिल्ली सञ्ज्यालको घर पूर्ण क्षति भयो। उनीहरू बस्दै आएको तीन तले काठ र ढुंगाबाट निर्मित घरमा उनीहरूले बालेको आगोबाटै आगलागी भएको मुगु प्रहरीले जनाएको छ।

यस्तै, गत चैत ३० गते हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउको कुरिल्ला लेखको आफ्नै भेंडीगोठमा राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्द बताउँछन्।

भेंडीगोठको आगलागीबाट ६० वटा भेंडासमेत मरेको उनले बताए। गत चैत ३० मा डोल्पामा आगलागीका कारण १० वर्षका सुलज बुढाको मृत्यु भयो। उनको उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको हो।

यस्तै, गत चैत २६ गते डोल्पाको ठूलीभेरी नगरपालिका–३  स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका तीन देवीदत्त गुल्मका सिपाहीको मृत्यु भएको थियो।

मृत्यु हुनेमा काभ्रे घर भएका ३८ वर्षका सेनाका जमदार केशवबहादुर जर्गा मगर र हुम्ला घर भएका २३ वर्षका सिपाही आशीष बुढा र जुम्लाको तातोपानी गाउँपालिका–४ का २४ वर्षीय हेमन्त रावत रहेका छन्। उनीहरूको उपचारको क्रममा काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी हरिकृष्ण केसीले बताए।

कर्णालीमा आगलागीका घटनाबाट धनजनको क्षति र घाइते हुनेको संख्या धेरै छ। तीन वर्षयता कर्णाली प्रदेशभर चार सय ५२ आगलागीका घटना हुँदा ४० जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन्।

आगलागीबाट पाँच सय दुई घर नष्ट हुँदा ५६ करोड २५ लाख रूपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। कार्यालयका अनुसार यस वर्ष एक सय ४४ आगलागीका घटना हुँदा १४ जनाको मृत्यु भयो भने १२ जना घाइते र झन्डै १२ करोडको क्षति भएको छ।

 ‘कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यले भने, ‘घरमा हुने आगलागी धेरैजसो असावधानीका कारण हुने गरेको छ, टुकी ननिभाई सुत्दा, भान्साको आगो ननिभाउँदा र विद्युत्का तार सर्ट हुँदा पनि आगजानी हुने गरेको छ।’

कर्णालीका हिमाली जिल्लामा अधिकांश घर काठका हुने र कोठाको उचाइ कम हुँदा पनि आगो टिप्ने र छिटो फैलिने गरेको उनी बताउँछन्। अधिकांश स्थानमा भौगोलिक विकटताका कारण घटनास्थलमा पुग्न ढिलाइ हुँदा, आगो निभाउने उपकरण र पानीको स्रोत नजिक नहुँदा पनि ठूलो क्षति हुने गरेको उनले बताए।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पनि बर्सेनि आगलागीबाट ठूलो क्षति हुने गरेको बताए। ‘अरू विपद्भन्दा आगलागीको क्षति ठूलो छ,’ उनले भने, ‘यसको रोकथामको प्रमुख कारण पूर्वतयारी र सावधानी नै हो।’

पछिल्लो समय सामुदायिक वनमा लागेको आगो फैलिएर वस्तीसम्म पुगी मानवीय क्षति बढिरहेको कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले बताए।

‘उपभोक्ताले नै घाँस राम्रो पलाउने लोभमा वनमा आगलागी गराउँदा ठूलो समस्या भएको छ, आगो लागेको एक÷दुई घण्टापछि मात्र जानकारी आउँदा नियन्त्रणमा सकस हुने गरेको छ,’ उनले भने, ‘कतिपय वन क्षेत्रमा चुरोटका ठुटा जथाभावी फाल्दा, आगो लगाएर स्याउला नष्ट गर्न खोज्दा र वनभोजलगायत प्रयोजनमा बालिएको आगो ननिभाउँदा पनि वनक्षेत्र मासिने गरेको छ ।’ 

उनले बर्सेनि हुने आगलागीका कारण कर्णालीमा करिब तीन हजार हेक्टर वनक्षेत्र नष्ट हुने गरेको जानकारी दिए। 

प्रकाशित: २ वैशाख २०८१ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App