१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फेवातालमा कायक दुर्घटनामा परेकी महिलाको सकुशल उद्धार

चारदिनमा झन्डै दुइसयको उद्धार

फेवातालबाट विहीबार दिउँसो उद्धार गरिएकी महिला। तस्बिर सौजन्यः सशस्त्र प्रहरी

हावाहुरीका कारण कायक दुर्घटनामा परेर फेवातालमा खसेकी एक जना महिलाको बिहीबार दिउँसो सकुशल उद्धार गरिएको छ। काठमाडौं महानगरपालिका–१७ सामाखुसीकी २५ वर्षिया अग्नि देवकोटा बिहीबार दिउँसो फेवातालमा खसेकी थिइन।

बिहीबार दिउँसो साढे २ बजेतिर तालमा खसेकी उनको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले बताएको छ। सशस्त्र प्रहरी बल, २४ नम्बर गण (कालिका गण) का गणपति अरुणकुमार शर्माले देवकोटाको सकुशल उद्धार गरिएको जानकारी दिए। ‘देवकोटा कायकमा फेवातालमा रमाइरहेकी रहेछिन। एकाएक हावाहुरी आयो, त्यसपछि उनी सयर गरेको कायक पल्टेपछि डुबेकी रहिछन,’ उनले भने, ‘तत्काल सशस्त्र प्रहरीको टोलीले उनको उद्धार गरेको हो।’

पोखरामा बिहीबार दिउँसो २ बजेपछि हावाहुरी चल्न थालेको थियो। हावाहुरीले छाल उत्पन्न गराउँदा फेवातालमा डुंगा सयर गरिरहेका पर्यटक दिनहुँ जसो चपेटामा पर्ने गरेका छन्। ‘फेवातालको बाराहीघाटस्थित सशस्त्र प्रहरीको ‘रेस्क्यु वाच टावर’मा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरी देवकोटालाई किनारमा ल्याएको हो,’ उनले भने। उनका अनुसार हावाहुरी लागेर जोखिम बढेपछि दिउँसो बिहीबार साढे २ बजेपछि फेवातालमा डुंगा सयर गर्न रोक पनि लगाइएको थियो।

पछिल्लो तीन दिनदेखि पोखरामा दिनहुँ जसो मध्यान्हपछि हावाहुरी चल्ने र त्यसले फेवातालमा छाल उठाउने गर्दा डुंगा सवार पर्यटक चपेटामा पर्ने गरेका छन्। चारदिन अवधिमा सबैगरि करिब २ सय जनालाई तालबाट सकुशल उद्धार गरिसकेको शर्माले बताए।

दश वर्ष अघि सशस्त्र प्रहरीले फेवातालको बाराहीघाट किनारमा रेस्क्यू टावर बनाएको थियो। टावरमा सशस्त्र प्रहरीले भिन्दै उद्धार टिम पनि खटाउँदै आएको छ। आपत्तकालिन उद्धारका लागि तालिमप्राप्त टिम त्यहाँ खटिन्छ। बिहान ६ देखि बेलुकी डुंगा संचालन नरोकिएसम्मका लागि सशस्त्रको टिम तयारी अवस्थामा रहने सशस्त्र प्रहरी बल, २४ नम्बर गण (कालिका गण) का गणपति शर्माले बताए।

‘हामीसँग विपद् व्यवस्थापनका लागि भनेर प्रहरी निरीक्षकको कमान्डरमा ५० जनाको टिम रहेको छ। त्यसमध्ये सई वा असईको कमान्डमा १० जनाको टोली फेवातालको रेस्क्यू टावरमा खटिएको हुन्छ,’ शर्माले भने, ‘टिमका बाँकी अरु सदस्य पनि तयारी अवस्थामा रहन्छन्। उनीहरु आवश्यकता अनुसार आगलागी, खोजी तथा उद्धार र खोँचमा जानेसम्म परिचालन हुन्छन्। विपद्का बेला यो टिम पहिलो चरणमा खटिन्छ।’  

प्रकाशित: २९ चैत्र २०८० १५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App