१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डुंगा व्यावसायीको सुझावः फेवाताल सयर गर्दा लाइफ ज्याकेट नभुल्नु

बेलैमा उद्धार हुँदा ज्यान जोगियो

पोखरा फेवातालमा पाहुना पर्खाइमा रहेका डुंगा। तस्बिरः नागरिक

एकाएक चलेको हावाहुरीले आइतबार दिउँसो पोखरा सहर केहिबेर अत्तालियो। मान्छे नै हुत्याउने खालको हावाले सडकको धुलो उडाउँदा आकाश पनि धुलाम्य बन्यो। त्यत्ति मात्र नभई फेवातालमा छाल उठ्दा डुंगा सयर गरिरहेका पर्यटक पनि त्यही भूमरीमा परे। बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति हुन भने पाएन।  

फेवातालमा डुंगा पल्टिँदा घाइते भएका एकजनालाई सशस्त्र प्रहरीको टोलीले तत्कालै उद्धार गरेको थियो। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घर भइ पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० वर्षिय सोभित परियार डुंगा सयर गर्ने क्रममा अचानक आएको हावाहुरीको चपेटामा परेका थिए। परियार सवार डुंगा तालमा पल्टेको भएपनि तत्कालै पुगेको सशस्त्र प्रहरीको उद्धार टोलीले उद्धार गरेको थियो।

त्यस्तै फेवातालको बीच भागमा रहेको तालबराहि मन्दिरमा रोकिएका आन्तरिक तथा बाह्य गरि २५ जना पर्यटकको पनि सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो। फेवा डुंगा व्यावसायी समितिका अध्यक्ष बलराम गिरीका अनुसार पोखरामा अबका केही समय दिउँसोको समयमा डुंगा सयर जोखिमपूर्ण हुन्छ। दिउँसो २–३ बजेपछि बेलुकी पाँच बजेसम्म हावाहुरीको चपेटामा पर्ने त्रास रहने उनले बताए।  

‘हरेक दिन एकैखालको हावा आउँछ निश्चित त हुँदैन। तर, कुनैपनि बेला समस्या पर्न सक्छ। त्यही भएर सचेतना अपनाएकै राम्रो हो,’ अध्यक्ष गिरीले भने, ‘एकाएक आएको हावाहुरीको चपेटामा पर्ने समय भएकोले यात्रु पनि सचेत हुनुपर्छ।’ उनका अनुसार हावाहुरी चल्नासाथ अहिले ताल किनारमा तैनाथ अवस्थामा रहेको सशस्त्र प्रहरीको उद्धार टावरबाट साइरन बजाइन्छ। त्यसपछि तालमा पर्यटक सवार गराईरहेका डुंगा चालकले सचेतना अपनाउँछन। उनका अनुसार चैतदेखि जेठ महिनाको समय तालमा डुंगा सयर गर्दा बढी सचेत हुनुपर्छ।

‘साइरन बज्नासाथ डुंगा चालकले सतर्कता अपनाइहाल्छन। त्यसो हुँदा जोखिम टर्छ,’ उनले भने। उनका अनुसार अबको केहीदिन दिउँसोको समयमा डुंगा सयर गराउँदा कसरि सुरक्षित हुन सकिन्छ भने बारेमा छलफल चलाउने तयारी छ। अघिल्लो वर्ष पनि यस्तै घटना दोहोरिँदा दिउँसोको समयमा डुंगा सयरमा नै रोक लगाइएको थियो। गत वर्ष फागुन तेश्रो साता यस्तै हावाहुरीको चपेटामा परेर डुंगा घोप्टिँदा थिचिएर एकजनाको ज्यानै गएको थियो।  

‘मानवीय क्षति नहोस भनेर सचेतना अपनाउन जरुरी छ। पोहोर यस्तै घटना हुँदा मानवीय क्षति बेहोर्नुपरेको थियो,’ उनले भने। अघिल्लो वर्ष हावाहुरीले डुंगा घोप्टाउँदा मानवीय क्षति भएपछि कास्की प्रशासनले केही महिनाका लागि दिउँसो ३ बजेपछि फेवातालमा डुंगा सयर गर्न रोक समेत लगाएको थियो।  

‘अहिले रोक नै त लगाएका छैनौ। तर, यस्ता घटना बारम्बार दोहोरिने अवस्था देखिएमा अहिले भन्दा बढी सचेत हुनेछौ,’ उनले भने । चालक बिना यात्रु आफैले डुंगा सयर गराउँदा बढी जोखिम हुने उनले बताए। ‘एकाएक अप्ठेरो आइपरेमा चालकले व्यवस्थापन गर्न जानेका हुन्छन। तर, अरुलाई थाहा नहुन सक्छ। त्यसैले चालक बिना डुंगा सयर गर्दा विशेष ख्याल गनुपर्छ,’ उनले भने।  

अध्यक्ष गिरीका अनुसार हावाहुरीको त्रास बढेपछि यात्रु र चालकका लागि लाइफ ज्याकेटको अनिवार्यमा झनै कडाई पनि गरिएको छ। लाइफ ज्याकेज लगाएर तालमा डुंगा सयर गर्दा कुनै अप्ठेरो आइपरेमा सुरक्षित हुन सकिने उनले बताए। ‘लाइफ ज्याकेट नलगाई त कतै पनि डुंगा चलाउन पाइँदैन,’ उनले भने, ‘यसबारेमा हामी अझ बढी सचेत हुनुपर्नेछ।’ अहिले फेवातालको विभिन्न आठवटा घाटबाट दिनमा ७६७ वटा डुंगा संचालन हुन्छन।  

दशवर्ष अघि सशस्त्र प्रहरीले फेवातालको बाराहीघाट किनारमा रेस्क्यू टावर बनाएको थियो। टावरमा सशस्त्र प्रहरीले भिन्दै उद्धार टिम पनि खटाउँदै आएको छ। आपत्तकालिन उद्धारका लागि तालिमप्राप्त टिम त्यहाँ खटिन्छ। बिहान ६ देखि बेलुकी डुंगा संचालन नरोकिएसम्मका लागि सशस्त्रको टिम तयारी अवस्थामा रहने सशस्त्र प्रहरी बल, २४ नम्बर गण (कालिका गण) का गणपति अरुणकुमार शर्माले बताए।  

‘हामीसँग विपद् व्यवस्थापनका लागि भनेर प्रहरी निरिक्षकको कमान्डरमा ५० जनाको टिम रहेको छ। त्यसमध्ये सई वा असईको कमान्डमा १० जनाको टोली फेवातालको रेस्क्यू टावरमा खटिएको हुन्छ,’ शर्माले भने, ‘टिमका बाँकी अरु सदस्य पनि तयारी अवस्थामा रहन्छन। उनीहरु आवश्यकता अनुसार आगलागी, खोजी तथा उद्धार र खोँचमा जानेसम्म परिचालन हुन्छन । विपद्का बेला यो टिम पहिलो चरणमा खटिन्छ।’  

फेवातालमा छालका कारण डुंगा दुर्घटना नहोस भनेर सशस्त्र प्रहरीले सचेतना अपनाउँदै आफ्नै कमाण्डमा दशवर्ष अघि टिम खटिएको शर्माले बताए। ‘विपद्को पूर्वानुमान हुँदैन, कुन बेला कस्तो हावा आएर फेवातालमा छाल मच्चाउँछ भन्न सकिन्न। त्यही भएर सचेत हुँदै तयारी अवस्थामा बस्ने हो,’ शर्माले भने, ‘टावरमा बस्ने र दूरबिनबाट वरपरको दृश्य हेर्ने हो। कुनै अप्ठेरो आइपरेमा तत्कालै परिचालन हुने हो।’ मोटरबोटर र र्याफ्ट सहितको टिम ताल किनारमा रहेको उनले बताए। तालमा आवश्यक उद्धार र खोजीका काम बाहेक तालमा डुंगा सवार गर्न जाने व्यक्तिले अर्मयादित गतिविधि गरे नगरेको पनि निगरानी गर्ने उनले बताए।  

प्रकाशित: २६ चैत्र २०८० १६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App