२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बल्ल तानिए विशाल पण्डित

अख्तियारद्वारा मुद्दा दर्ता, तीन करोड बिगो मागदाबी

लामो समयदेखि विभिन्न सरकारी निकाय चिकित्सा (मेडिकल) उपकरण आपूर्ति गर्दै आएका विशाल पण्डितको एकाधिकार (सिन्डिकेट) तोडिने अवस्थामा पुगेको छ।

मेडिकल सामान आपूर्ति गर्ने ठुला व्यवसायीमध्येका एक पण्डितविरुद्ध एक साताअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनको सिन्डिकेट तोडिने अवस्थामा पुगेको हो।

विभिन्न सरकारी अस्पताल र निकायलाई बजार मूल्यभन्दा १० गुणा बढीमा मेडिकल सामग्री उपलब्ध गराएर आर्थिक अनियमितता गरेको अभियोग उनीमाथि छ।

‘१० वर्षअघिदेखि मेडिकल सामग्री आपूर्तिमा राज गर्दै आएका पण्डितले अख्तियारमा परेका उजुरीलाई विभिन्न पहुँचका आधारमा ढिसमिस पार्दै आएका थिए। अहिले भने उनीविरुद्ध मुद्दा परेको छ,’ स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने।

विभिन्न सरकारी निकाय र अस्पतालमा कर्मचारीसँग मिलेमतो गरी बजार मूल्यभन्दा १० गुणा महँगोमा स्वास्थ्य उपकरण आपूर्ति गर्दै आएको आरोप खेप्दै आएका पण्डितलाई आर्थिक अनियमितता गरेको कसुरमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। पण्डितसमेतलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

बसेरा होटेलका मालिकसमेत रहेका पण्डित कोभिडका बेला पनि मेडिकल सामग्री खरिदका क्रममा विवादमा आएका थिए। उनीसमेत विरुद्ध अख्तियारले करिब तीन करोड बिगो मागदाबी गरेको छ।

कोसी प्रादेशिक अस्पतालका लागि स्वास्थ्य उपकरण खरिद गर्ने क्रममा घोटाला भएको थियो। कम कबोल गरेका कम्पनीलाई ठेक्का नदिई बढी कबोल गरेको पण्डितको कम्पनीलाई कोसी प्रादेशिक अस्पतालका लागि स्वास्थ्य उपकरण खरिदको जिम्मा दिइएको थियो।

अख्तियारले पण्डितसहित कोसी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका कार्यरत बायोमेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहेता, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोपअधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरनेसनल प्रालि, त्यसका बजार व्यवस्थापक लक्ष्मीप्रसाद आचार्यविरुद्ध मुद्दा चलाएको हो।

अख्तियार स्रोतका अनुसार पण्डितविरुद्ध योबाहेक अन्य खरिद प्रकरणमा परेका उजुरीमाथि पनि छानबिन चलिरहेको छ। ‘देशभर पण्डितको कम्पनीले सप्लाई गरेका सामान छन्। उनीविरुद्ध दर्जनौं उजुरी छन्। बजारमूल्यभन्दा १० गुणा बढी मूल्यमा सामान आपूर्ति गरेको उजुरी पनि छ। सबै उजुरीमा अनुसन्धान भइरहेको छ,’ अख्तियार स्रोतले भन्यो। हस्पिटेक पण्डितको कम्पनी हो।

वीर अस्पतालले पण्डितको कम्पनीमार्फत २०७४ सालमा अत्याधुनिक टोमोथेरापी मेसिन ल्याए पनि जडान नै नगरी बिग्रेको थियो। लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालिमार्फत वीरले टोमोथेरापी किनेको थियो। यो कम्पनी पनि पण्डितकै हो।

मेसिन बिग्रिएपछि कम्पनीले शोध भर्ना गरिदिए पनि बजार मूल्यभन्दा करिब दोब्बरमा उपलब्ध गराएको थियो। अमेरिकी कम्पनी एकुरे मेडिकलले उत्पादन गरेको उक्त उपकरण ४० करोड ३३ लाख ३८ हजार ४ सय रुपैयाँ (भ्याटबाहेक) मा खरिद सम्झौता भएको थियो।

तत्कालीन अवस्थामा उक्त उपकरणको बजार मूल्य भने २२ करोड रुपैयाँ रहेको स्रोतको दाबी छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. गणेश गुरुङ र वीर अस्पतालका निर्देशक  डा. भूपेन्द्र बस्नेतले उक्त उपकरण खरिद निर्णय गरेका थिए।

त्यस्तै स्वास्थ्य मन्त्रालयको अनुदानमा क्यान्सर रोगीको उपचारमा सहजीकरणका लागि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खरिद गरेको लिनियर एक्सेलेरेटर (लिन्याक) मेसिन पनि आपूर्तिकर्ताको कम्पनीको बदमासीका कारण अहिलेसम्म सञ्चालन हुन सकेको छैन।

लिन्याक मेसिन आपूर्ति गरेको ‘मेडिसोलुसन इन्टरनेसनल’ प्रालि कृष्णप्रसाद अधिकारीका नाममा भए पनि त्यसको आन्तरिक भूमिका र टेन्डर प्रक्रिया मिलाउनदेखि भुक्तानीको प्रक्रियासम्म मेडिकल व्यवसायी पण्डित संलग्न रहेको अख्तियार स्रोतले जनाएको छ। गत वर्षको पुसमा अस्पताल पुर्‍याइएको सो मेसिन स्वीकृत मापदण्डभन्दा फरक भएपछि सञ्चालनमा आउन नसकेको हो।

बोलपत्रमा उल्लिखित र अस्पताललाई उपलब्ध गराइएको मेसिनको मापदण्ड फरक परेपछि अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. निरज भट्टराईले बोलपत्रअनुसारकै हुनुपर्ने भन्दै आयातकर्ता मेडिसोलुसन प्रालिलाई मेसिन जडान गर्न रोकेका थिए।

सो मेसिन २७ करोडमा खरिद गरिएकोमा त्यसको ६० प्रतिशत भुक्तानी भइसकेको छ। सम्झौताअनुसारको मेसिन नल्याउनुमा पनि पण्डितको चलखेल रहेको स्रोतको दाबी छ।

अख्तियार स्रोतका अनुसार स्वास्थ्य सेवा विभागले २०७६ जेठ १ गते १२८ स्लाइसको सिटी स्क्यान मेसिन १ थान, अल्ट्रासाउन्ड मेसिन २ थान, इन्टिग्रेटेड वेस्ट म्यानेजमेन्ट अटोक्लेभ २ थान खरिदका लागि टेण्डर आह्वान गरेको थियो। उक्त टेन्डरमा पनि कैफियत देखिएपछि पुनः अनुसन्धान थालिएको छ।

त्यतिबेला उजुरी परेपछि अख्तियार नेतृत्वले त्यसलाई मूल्तबीमा राखेको थियो। अख्तियारको अहिलेको नेतृत्वले फाइल खोलेर अनुसन्धान सुरु गरेको हो। यी उपकरण खरिद टेण्डरमा पनि पण्डितको कम्पनी हस्पिटेक इन्टसनेसनल प्रालिले सेटिङ मिलाएर ४० लाख मूल्य पर्ने इन्टिग्रेटेड वेस्ट म्यानेजमेन्ट अटोक्लेभ दुई करोडमा उपलब्ध गराएको स्रोतको दाबी छ।

यसबारेमा कुराकानी गर्न नागरिकले व्यवसायी पण्डितलाई सम्पर्क गर्दा उनले आफू सञ्चो नभएर आराम गरिरहेको बताए। सरकारी कर्मचारीसँग मिलेमतो गरी बजार मूल्यभन्दा १० गुणा बढी राखेर मेडिकल सामग्री आपूर्ति गरेको गरेको आरोप तपाईंमाथि छ नि भन्ने नागरिकको प्रश्नमा उनले आफूलाई अहिले यो विषयमा बोल्न रुचि नभएको बताए। ‘यतिबेला मलाई सञ्चो छैन, म आराम गरिरहेको छु। यो विषयमा मेरो भन्नु केही छैन। कुरा गर्ने रुचि सिन छैन। पछि नै कुरा गरौंला,’ उनले भने।

प्रकाशित: २६ चैत्र २०८० ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App