coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पर्सा निकुञ्जको उपचार केन्द्रमै मरे ३ बाघ, जंगलमा ४ मृत फेला

पर्सा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासका वनमा मृत फेला परेका बाघ। (फाइल तस्बिर)

विगत ६ महिनाको अन्तरालमा पर्सा राष्ट्रिय निकुञ्जको उपचार केन्द्रमा राखिएका तीन वटा पाटे बाघ मरेका छन्। योसँगै यस क्षेत्रमा ६ महिनाको अन्तरालमा मर्ने र मारिने बाघको सङ्ख्या ७ पुगेको छ।

विभिन्न स्थानहरूबाट उद्धार गरेर ल्याइएका भाले र पोथी गरी तीन वटा बाघहरू उपचारकै क्रममा मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ। यो बाहेक निकुञ्ज आसपासका वनमा डेढ महिनामा ४ वटा बाघ मृत अवस्थामा फेला परेका थिए।

२०८० असार २२  चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याइएको बाघको पर्सा राष्ट्रिय निकुञ्जको उपचार केन्द्रमा चैत १६ गते मृत्यु भएको छ।

चितवन निकुञ्जको उपचार केन्द्रमा राखेर उपचार गर्ने ठाउँको अभाव भएपछि ती उक्त बाघलाई पर्सा उपचार केन्द्रमा ल्याइएको थियो।

निकुञ्जको उपचार केन्द्र

झन्डै नौ महिना उपचार केन्द्रमा राखेर उपचार गर्दा पनि बाघ निको हुन नसकेर मृत्यु भएको निकुञ्ज प्रशासनको भनाई छ।

२०७९ चैत २२ गते पर्साको ठोरी गाउँपालिका–४ निर्मल बस्तीबाट उद्धार गरेर ल्याइएको भाले बाघ पनि उपचारकै क्रममा करिब एक वर्षपछि २०८० फागुन १४ गते मृत्यु भएको थियो।

उद्धार गरेर ल्याइएको ती बाघको अनुहारमा गहिरो चोट लागेको र त्यसको उपचार झन्डै एक वर्षसम्म पनि गर्दा निको हुन नसकी मृत्यु भएको दाबी निकुञ्जको छ।

यसैगरी २०८० भदौ १६ गते पर्सा ठोरी गाउँपालिका– ५ आठघरेमा एक जना मान्छेको ज्यान लिएको बाघ उपचारका लागि पर्साकै उपचार केन्द्रमा ल्याइएको थियो । उक्त पोथी बाघ पनि गत असोज २४ गते उपचारकै क्रममा मृत्यु भएको जानकारी निकुञ्जले दिएको छ।

उद्धार गर्दा खेरी नै कमजोर देखिएकी उक्त पोथी बाघ धेरै दिनसम्म नबाच्ने अनुमान गरिएको थियो। तरपनि प्रशासनले एक महिना उपचार गर्दा पनि निको नभएर मरेको जनाइएको छ।

निकुञ्ज प्रशासनले उपचारकै क्रममा यी तीन वटै बाघको मृत्यु भएको जानकारी दियो । तर थोरै समयमा धेरै बाघ मारिएपछि निकुञ्ज प्रशासन माथि लापरबाहीको आरोप लागेको छ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले निकुञ्जमा घाइते जनावरहरूलाई उपचार गर्ने अस्पताल र दक्ष जनशक्ति नभएको स्वीकार गरे। उनले यसको अभावमा उपचार केन्द्रमा राखिएका बाघहरूको प्रभावकारी उपचार गर्न नसकिएकाले मृत्यु भएको बताएका छन्।

विभिन्न स्थानहरूबाट उद्धार गरेर ल्याइएका बाघहरूको शारीरिक अवस्था बुझ्न अति आवश्यक पर्ने एक्स-रे मेसिन समेत निकुञ्जमा नभएको खतिवडाले जानकारी दिए। ‘यसले गर्दा बाघहरूमा लागेको रोगहरू पत्ता लगाउन सकिएको छैन। वास्तविक रोग पत्ता नलाग्दा उपचार पनि प्रभावकारी भएन’, उनले नागरिकन्यूजसँग भने। 

खतिवडाका अनुसार बाघलाई उद्धार गरेर १÷२ महिनाका लागि मात्रै उपचार केन्द्रमा राख्ने हो। उपचार केन्द्रमा लामो समय बाघलाई उपचार गरेर राख्दा बचाउन गाह्रो भएको खतिवडाको तर्क थियो।

उनका अनुसार बाघको सङ्ख्या बढी रहेको र त्यही तुलनामा बाघहरू घाइते हुने, अशक्त हुने र बुढो हुने सङ्ख्या पनि बढिरहेको अवस्था छ।

बाघहरू घाइते हुने, अशक्त हुने र बुढो हुनेको सङ्ख्या बढे पनि उनीहरूलाई राख्नको लागि सरकारले आवश्यक संरचनाहरू निर्माण र उपचार गर्ने दश जनशक्ति व्यवस्थापन गर्ने बजेट व्यवस्था गर्न सकेको छैन। ‘यसले वन्यजन्तुको क्षति बढिरहेको छ। व्यवस्थापनमा दिनप्रतिदिन चुनौती थपिएको छ’, खतिवडाले भने। 

सन् २०२२ को गणनाअनुसार पर्सा निकुञ्जमा ४१ वटा पाटे बाघ छन्। सन १०१७ मा १७ वटा पाठे बाघहरू मात्र थिए। यो तथ्याङ्कले पनि निकुञ्ज र वरपरको क्षेत्रमा बाघको सङ्ख्या बढ्ने क्रममा छ। यसको सङ्ख्या बढेसँगै यिनीहरूको संरक्षणमा चुनौती पनि थपिएको छ।

बाघलाई संरक्षण गर्न नै चुनौती 

पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएका वनमा विश्वकै दुर्लभ वन्यजन्तु पाटे बाघलाई संरक्षण गर्न चुनौती देखिएको छ। यस क्षेत्रमा बाघलाई मर्ने र मारिने क्रम बढ्न थालेकोले उनीहरूको संरक्षणमा चुनौती देखिएको हो।

गत चैत ६ गते मंगलबार मात्रै बाराको कोल्हवी नगरपालिका–२ अमाव महादेवस्थानमा एउटा बाघ गोली लागेको अवस्थामा मृत फेला परेको थियो। मृत भेटिएको बाघको उमेर दुई वर्षको हुनसक्ने अनुमान वन प्रशासनले गरेको थियो ।

बाघको कन्चटमा घाउ लागेको देखिएकाले उसलाई गोली हानिएको हुनसक्ने आङ्कलन प्रशासनले गरेको थियो।

कोल्हवी सब–डिभिजन वन कार्यालय अन्तर्गतको वन क्षेत्रमा मृत अवस्थामा फेला परेको पोथी बाघको कन्चटमा घाउ देखिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले पुष्टि गरेका थिए।

यसैगरी गत फागुन २२ मा निजगढ नगरपालिका–४ मा पोथी बाघ, फागुन १६ गते पर्साको सखुर्वा प्रसौनी गाउँपालिकाको मनवा भन्ने स्थानमा भाले बाघ, माघ १९ गते सखुवा प्रसौनी–२ मा पोथी बाघ मरेको अवस्थामा भेटिएका थिए।

पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर जयराम न्यौपानेले डेढ महिनाको अन्तरालमा पर्सा राष्ट्रिय निकुञ्ज र यससँग जोडिएका वनमा ४ वटा बाघ मरेको अवस्थामा भेटिएको पुष्टि गरिसकेका छन्। उनका अनुसार मृत भेटिएका बाघमध्ये २ वटा पोथी र २ वटा भाले छन्।

पर्सा निकुञ्जको वन क्षेत्रबाहेक यससँग जोडिएका वरपरका वनमा बाघको गतिविधि पछिल्ला वर्षहरूमा बढेको निकुञ्ज प्रशासनले जानकारी दिएको छ।

त्यसैले यस क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द पछिल्ला वर्षहरूमा बढेको छ। बाघको आक्रमणबाट मान्छे मारिने र मान्छेले बाघ मारिरहेका घटनाहरू बढ्न थालेका छन्।

चैत पहिलो हप्ता  पर्साको ठोरीमा बाघले एक महिलाको ज्यान लिएको थियो। ठोरी गाउँपालिका–४ मालीबस्तीकी ४० बर्सिया कलावती खत्रीको सोमबार साँझ मृत्यु भएको थियो।

जङ्गलमा घाँस काट्न एक्लै गएकी खत्रीको शव पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा फेला परेको थियो। उनको शरीरको विभिन्न भाग तथा घाँटीमा बाघको नङ्ग्राले कोतरिएको देखिए पर्सा निकुञ्जले जनाएको छ।

चितवन, बर्दियापछि बाघको धेरै सङ्ख्या पर्सामा छ। यसपछि शुक्लाफाँटा र बाँके निकुञ्ज पनि बाघका पाइने संरक्षित क्षेत्रमा छन्। यी क्षेत्र पनि बाघको नयाँ वासस्थानको रूपमा संरक्षण भइरहेको छ।

सन् २०२२ को गणना अनुसार उल्लेखित संरक्षित क्षेत्रहरूमा गरेर बाघको कुल सङ्ख्या ३५५ छ।

दुर्लभ वन्यजन्तुको सूचीमा रहेको बाघको सङ्ख्या विश्वमै जम्मा ५ हजार ५७४ रहेको विश्व वन्यजन्तुको कोषको पछिल्लो अनुमान तथ्याङ्क छ। विश्वका बाघ पाइने १३ मुलुकमा यो सङ्ख्या रहेको अनुमान छ।

सन् २०१० विश्वमा बाघको सङ्ख्या ३ हजार २ सय रहेको अनुमान गरिएको थियो। विश्वका बाघ पाइने देशहरूले सन् २०१० कै सङ्ख्यालाई सन् २०२२ सम्म दोब्बर पार्ने अभियान घोषणा गरेका थिए। सन् २०२२ आइपुग्दा ठ्याक्कै दोब्बर नभए पनि सन् २०१० को तुलनामा ७४ प्रतिशतले बढेको बताइएको छ।

प्रकाशित: २१ चैत्र २०८० ११:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App