१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महिलामा लगानी गर्ने प्रतिबद्धता

विश्वस्तरमा अघि बढेको महिलामा लगानी विषयक नारालाई कार्यान्वय गर्न सरोकारवाला निकायका नेतृत्व प्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन्। शुक्रबार राजधानीमा आयोजित ‘लैंगिक समानताका लागि घण्टी बजाऔं’ भन्ने प्रतिबद्धता कार्यक्रममा उनीहरूले प्रतिबद्धता जनाएका हुन्।

ग्लोबल कम्प्याक्ट नेपाल, युएन वुमन, इन्टरनेसनल फाइनान्स कोअपरेसन, नेप्से परिसूचक र युएन आरसियोको संयुक्त आयोजित कार्यक्रममा उनीहरूले प्रतिबद्धता जनाएका हुन्।

महिला दिवसका अवसरमा यस्तो प्रतिबद्धता गरेको आयोजकहरूले जनाएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, बिओटीका अध्यक्ष सिद्धान्त पन्त, एनएमबी बैंककी मार्केटिङ तथा ब्रान्ड शाखाकी प्रमुख प्रनिशा श्रेष्ठ, सेवोनकी प्रमुख नवराज अधिकारी, आइएफसीका देशीय प्रतिनिधि वावकर सेदिक फाय, नेपालका लागि फिनल्यान्डकी राजदुत रिना रिक्का हेयिकालगायतले घण्टी बजाएर प्रतिबद्धता जनाएका हुन्।

मन्त्री भगवती चौधरीले सबै मन्त्रालयमा आउँदो बजेटमा महिला उत्तरदायी बजेट विनियोजन गर्न बैठक बसेको र महिलामा लगानी हुने खालका कार्यक्रमका लागि पहल गर्ने प्रतिबद्धता जनाइन्। नेपालको संविधानको धाराले महिलाको हकको व्यवस्था गरेको भए पनि व्यवहारमा कमी भएको मन्त्री चौधरीले बताइन्।

फिनल्यान्डकी राजदूत रीना–रिक्का हिक्काले महिलामा हुने आर्थिक लगानी महिलाका लागि मात्र नभएर समग्र समाजको विकासमा टेवा पुग्ने बताइन्। फिनल्यान्डले पनि सुदृढ समाज र अर्थतन्त्रका लागि महिलामा लगानी गरेको उदाहरण रहेको उल्लेख गरिन्।

संयुक्त राष्ट्रसंघीय निकाय युएम वुमनका लागि नेपालकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज पाचेकाले महिलामा लगानी गर्ने कुरा बुद्धिमतापूर्ण भएको बताइन्। अनुसन्धानका अनुुसार कार्यस्थल एवं नेतृत्वमा समावेशिता र लैगिक विविधताले वित्तीय र गैरी वित्तीय कार्यसम्पादनलाई सकारात्मक प्रभाव पार्छ। जसले संस्थाको सर्वाङ्गीण विकासमा शासकीय अभ्यास नीतिलाई सुधार गर्छ।

भुटान, बंगलादेश र नेपालका लागि आइएफसीका व्यवस्थापक मार्टिक होल्टम्यानले लैंगिक विविधता र समानता प्रवर्धन गर्न गैरपरम्परागत क्षेत्रहरू सकारात्मक प्रभाव परेको बताए।

रोजगारीमा रहेको लैंगिक अन्तरलाई सम्बोधन गर्न औपचारिक प्रमुख संवाहकका रूपमा निजी क्षेत्र रहेको र यसको भूमिका महत्त्वपूर्ण हुन्छ। तथ्यांकअनुसार निजी क्षेत्रको व्यवस्थापक पदमा २९.६ प्रतिशत महिला र ७०.३ प्रतिशत पुरुष छन्।

नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष डा. नवराज अधिकारीका अनुसार व्यवसायिक क्षेत्रमा महिलाको संख्या न्युन भएपनि व्यवसायमा महिलाको स्वामित्व र सञ्चालकको भूमिका रहेको बताए।

अन्तर्राष्ट्रिय महिला दिवसको यो वर्षको नारा ‘महिलामा लगानी गरौं, महिला उन्नतिलाई तीव्रता दिऔं’ कार्यान्वयनका लागि आहवान गरिएको छ। ग्लोबल कम्प्याक्ट नेपालका कार्यकारी निर्देशक कृष्ण शाहले नेपालको निजी क्षेत्रले महिला सशक्तीकरणको सिद्धान्त अंगीकार गर्नुपर्ने बताए। कम्प्याक्ट नेपालले युएन वुमनसँगको सहकार्यमा यो कार्यलाई अघि बढाइरहेको छ।

प्रकाशित: १७ चैत्र २०८० ०७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App