१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पृथ्वी राजमार्गको सकस: २२ किलोमिटर दूरी पार गर्न चार घण्टा

हिलाम्य सडकको यात्रा सकसपूर्ण

हिलाम्य भएको पृथ्वी राजमार्ग। वर्षासँगै अहिले राजमार्गको यात्रा सकसपूर्ण बनेको छ। तस्बिरः नागरिक

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ सदरमुकाम दमौलीबाट खैरेनीटारसम्मको दूरी करिब २२ किलोमिटर हो। राजमार्ग सहज हुँदा यो दूरी आधा घण्टामा पुरा हुन्थ्यो। तर, बिहीबार दमौलीबाट बिहान साढे १० बजे बस चढेका नारायण खड्कालाई २२ किलोमिटर दूरी तय गरेर खैरेनीटार आउन कम्तीमा चार घण्टा लाग्यो। उनी खैरेनीटार आइपुग्दा दिउँसोको पौने ३ बजेको थियो।  

छोटो दूरीको यो सडक पुरा गर्न खेप्नुपरेको सकस अरु केही नभई बिस्तारको क्रममा रहेको राजमार्ग वर्षासँगै हिलाम्य हुँदाको कारण हो। पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–आँबुखैरेनी खण्ड बिस्तार चलिरहँदा सडकको अधिकांश भाग भत्काइएको छ। त्यही राजमार्ग भएर दिनहुँ हजारौं सवारी पोखराबाट काठमाडौं तथा पूर्व र पश्चिमका लागि ओहोरदोहोर गर्छन्।

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८०किमि) सडक अहिले दुई खण्डमा बाँडेर बिस्तार भइरहेको छ। पूर्विखण्ड (आँबुखैरेनी–जामुने ४१ किलोमिटर) र पश्चिमखण्ड (जामुने–पोखरा ३९ किलोमिटर) पर्छ। पश्चिमको तुलनामा पूर्वी खण्डको काम धेरै नै भएको छ।

राजमार्ग बिस्तार भइरहँदा यतिबेलाको वर्षाले सडक अस्तव्यस्त छ। राजमार्ग फराकिलो बनाउनका लागि अहिले पोखरादेखि आँबुखैरेनीसम्मैको भाग भत्काइएको छ। त्यसमध्ये पूर्वी खण्डमा धेरै भाग कालोपत्रे पनि भइसकेको छ। तर पश्चिम खण्डमा भने कामको गति अझै सुस्त छ।

बिस्तारको क्रममा रहेको राजमार्गमा वर्षा थपिँदा अहिले सडक हिलाम्य बनेको छ। बाटो चिप्लो बनेको छ। वर्षाले गर्दा कतिपय ठाउँमा गाडी गुडाउनै सकस हुने गरेको छ। वर्षाको पानी जम्दा ट्र्याक पहिचान गर्न समेत चालकलाई सकस हुने गरेको छ। चारपांग्रे साना र दुइपांग्रे सवारीको यात्रा त झनै सकसपूर्ण बन्ने गरेको छ।  

‘बढीमा एकघण्टामा खैरेनीटार पुग्न सकिने आँकलन गरेर म दमौलीबाट बस चढेको हुँ। तर, २२ किलोमिटर दूरी तय गरेर खैरेनीटार आउँदा मलाई चार घण्टा भन्दा बढी समय लाग्यो । बीचमै फर्किन पनि सकिन,’ खड्काले भने, ‘बाटोमा हिलोले गर्दा हिँडिनसक्नु छ । गाडी गुडाउनै सकस छ । ठाउँ ठाउँमा गाडी नै चिप्लिने डर छ। हिलोमा गाडी नै फस्ने पनि गरेका छन्।’ 

हिलोमा फसेको गाडी निकाल्न नसक्दा पनि उत्तिकै अप्ठेरो पर्ने गरेको उनले बताए। यतिसम्मकी गाडीको पुरै टायर नै हिलोमा गाडिने अवस्था रहेको उनले बताए।  उनका अनुसार सबैभन्दा बढी सकस डाइभर्सनमा छ। साँघुरो डाइभर्सनमा गाडी उक्लिनै नसकेको उनले बताए।

‘डाइभर्सन साँघुरा छन्। त्यसैमाथि हिलो र चिप्लो उत्तिकै छ। ठाउँ ठाउँमा भेल जमेर बाटोको ट्र्याक नै छुट्याउन पनि सकस छ,’ उनले भने, ‘मुख्य राजमार्गको हालत खराब छ। मलाइ २२ किलोमिटर दूरी तय गर्न चार घण्टा लाग्यो। दमौलीदेखि पोखरा (५० किलोमिटर) दूरी तय गर्न कति समय लाग्छ भन्न सकिन्न।’ 

उनका अनुसार जामुने, अकला, कुम्लेखोला, खैरेनीटार, लगायतका ठाउँमा यात्रा निकै नै सकसपूर्ण छ। जाममा फसेका गाडीका कारण यात्रा नै अनिश्चित बनेको उनले बताए।  

वर्षासँगै अहिले राजमार्गको यात्रा अवधि समेत बताउन सक्ने अवस्था नरहेको व्यवसायीको भनाई छ। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरि अधिकारीका अनुसार काठमाडौंबाट बिहान ७ बजे छुटेका पर्यटक बस दिउँसो ४ बजेभित्र पोखरा आईपुग्नु पर्ने भएपछि बुधबार बेलुकी ६ बजेमात्र आएको थियो।

‘कुन बेला कहाँ रोकिनुपर्छ भन्ने यकिन छैन। सडकयात्रा सकसपूर्ण छ,’ अधिकारीले भने, ‘यसैपनि राजमार्ग बिस्तारले सकस थियो । त्यसैमा हिलोका कारण झनै सकसपूर्ण यात्रा बनेको छ।’

अधिकारीका अनुसार अहिले गन्तव्यमा कतिबजे पुग्न सकिन्छ भनेर समेत भन्न सकिने अवस्था छैन । ‘पछिल्लो समय नियमितजसो दिउँसो ४ बजे बस पोखरा आइसकेका हुन्थे। तर, अहिले वर्षायामले गर्दा बाटो हिलाम्य भएकोले पनि हिँडडुल सहज छैन,’ अधिकारीले भने।

राजमार्ग अन्तर्गत पश्चिम खण्ड आयोजनाका सूचना अधिकारी नारायण पौडेलका अनुसार वर्षायाम अघि नै सडकको नाली बनाउने योजना भएपनि अहिले नाली तयार नभइसकेकोले यो समस्या आएको हो। ‘आगामी वर्षायाम अघि नै नाली बनाएर वर्षाको पानी पन्छाउने योजना छ। अहिले खनेको माटोमा पानी परेपछि चिप्लो र हिलो भएको हो,’ उनले भने, ‘कतिपय ठाउँमा डाइभर्सनमा पनि समस्या आएको हुनसक्छ।’

एसियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुई लेन सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो। १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भइरहेको छ।

आयोजनाका अनुसार पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ। यो रकम सडक बिस्तारका लागि मात्र हो।

प्रकाशित: १५ चैत्र २०८० १५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App