१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

समान पेन्सनको सम्भावना खोज्न बेलायत सरकारको आग्रह

बेलायती रक्षा राज्यमन्त्री एन्ड्रयु मुरिसनले पेन्सनका विषयमा यथोचित समाधान खोज्न के गर्न सकिन्छ भन्नेबारेमा उपयुक्त सम्भावना प्रस्ताव गर्न भूतपूर्व गोर्खाहरूसँग आग्रह गरेका छन्।

पूर्व गोर्खाहरूको समान पेन्सनको यथोचित समाधान खोज्न बिहीबार बसेको बैठकमा बेलायती रक्षा राज्यमन्त्री मुरिसनले यस्तो आग्रह गरेका हुन्।

उनले भूपू गोर्खाहरूले बेलायती सेनामा रहेर पुर्‍याएको योगदानको कदर गर्ने विचार व्यक्त गरेका छन्। उनी भन्छन्, ‘नेपाल र बेलायतबीचको ऐतिहासिक एवं घनिष्ट सम्बन्ध स्थापित छ।’

नेपाली दूतावास लन्डनका अनुसार समान पेन्सनका विषयमा आगामी बैठकहरूमा छलफल गर्न बेलायत सरकार तयार रहेको छ। 

उक्त बैठकको नेतृत्व बेलायत सरकारका तर्फबाट रक्षा राज्यमन्त्री एन्ड्रयु मुरिसन तथा नेपाल सरकारका तर्फबाट बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य एवं भूपू गोर्खाहरूका तर्फबाट मेजर जुदबहादुर गुरुङले गरेका थिए।

बैठकमा यसअघिका द्विपक्षीय समितिका बैठक तथा प्राविधिक तहमा भएका छलफलको समीक्षा गर्दै मुख्य एजेन्डा पेन्सनका विषयमा छलफल केन्द्रित भएको नेपाली दूतावास लन्डनले जनाएको छ। 

नेपालको तर्फबाट राजदूत आचार्यले भूपू गोर्खाहरूको मुख्य माग समान पेन्सन पुष्टि गर्ने विभिन्न तर्क तथा प्रमाण पेस गरेका थिए।उनले भूपू गोर्खाका मुख्य माग पेन्सनका विषयमा दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए।

बैठकमा परराष्ट्र मन्त्रालयका युरोप अमेरिका महाशाखा प्रमुख गणेशप्रसाद ढकालले भूपू गोर्खाको माग सम्बोधन गर्न नेपाल सरकारले प्राथमिकताका साथ हेरिरहेको बताए।

भूपू गोर्खाका तर्फबाट उपस्थित मेजर जुदबहादुर गुरुङ, मेजर टिकेन्द्र दल देवान, कृष्णबहादुर राई, धर्मबहादुर तामाङ, केशवहादुर गुरुङ तथा ज्ञानराज राईले समान पेन्सनका विषयमा आआफ्नो धारणा प्रस्तुत गरेका थिए।

बैठकमा नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी अनुप शाह तथा बेलायत सरकारका तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरूको सहभागिता थियो।

प्रकाशित: १५ चैत्र २०८० ०७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App