२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पहिचानका लागि ‘आदिवासी जनजाति महोत्सव’

फाइल तस्बिर

चितवनमा मानिसको बसोबासको इतिहास त्यति लामो छैन। २०१४ सालको जनसंख्याअनुसार १६ हजार हाराहारीमा मात्र मानिस थिए। संरक्षणकर्मी रामप्रीत यादवका अनुसार सो समयमा आदिवासी जनजाति थारु, बोटे, कुमाल र दराई समुदायबाहेक अन्य समुदायको उपस्थिति नगण्य थियो। पछिल्लो जनगणनाअनुसार जिल्लामा ४० वटा आदिवासी जनजातिको बसोबास रहेको छ। तर, आधुनिकतासँगै उनीहरूको मौलिक संस्कृति भने संकटमा पर्दै गएको बुढापाका बताउँछन्। यसलाई संरक्षण गर्न युवा पुस्ता लागि परेका छन्। तसर्थ उनीहरूले नारायणीकिनारमा आदिवासी जनजाति सांस्कृतिक महोत्सवको आयोजना गर्दै छन्।

नारायणी नदीकिनारमा यही चैत ९ देखि १८ गतेसम्म ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव’ लाग्दै छ। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले महोत्सव आयोजना गर्न लागेको हो।

आदिवासी जनजाति समुदायको साँस्कृतिक पहिचानलाई विश्वव्यापी प्रचारप्रसार गराउने उद्देश्यले चितवन जिल्लाले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो। करिब ४० जाति आदिवासी जनजाति समुदायको बसोबास रहेको चितवन जिल्लामा हाल १७ जाति संगठित भएका छन्।

संगठित हुन बाँकी जातिलाई पनि संगठित बनाइ महोत्सवको तयारीमा जुटिरहेको आयोजक संस्थाका अध्यक्षसमेत रहेका महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए।

‘किनकि यो महोत्सवले चितवनमा बसोबास गर्ने आदिवासी जनजाति समुदायको संस्कृति र पहिचान बोकेको छ। त्यसकारण पनि यो महोत्सवको भूमिका फरक छ,’ मूल समारोह समितिका संयोजक दुराले भने। मनोरञ्जनसँगै पर्यटन प्रवद्र्धवन, कृषि उपजको उत्पादन र बजारीकरण तथा व्यापार व्यवसायलाई थप चलायमान गराउन महोत्सवले विशेष भूमिका खेल्ने उनको भनाइ छ।

सबै आदिवासी जनजातिलाई समेटेर सांस्कृतिक एवम् परम्परागत घरमार्फत पहिचान दिलाउने गरी गाउँ निर्माण गरिएको हो। हालसम्म चितवनमा १७ वटा जनजाति समुदाय संगठित भएर जनजाति महासंघमा आबद्ध छन्।

तिनैमध्ये कम्तीमा १० वटा जातजातिको घर महोत्सव स्थलमा निर्माण हुने आयोजकले जनाएको छ। महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराका अनुसार आदिवासी जनजाति समुदायको विषयमा अध्ययन तथा अनुसन्धान गर्ने अनुसन्धाताहरूलाई समेत सघाउ पुग्ने गरी महोत्सवस्थलमा आदिवासी जनजातिका घर निर्माण गरिएको हो।

साँस्कृतिक घर निर्माण उपसमितिका संयोजक सञ्जय कुमालका अनुसार यसपटक ११ वटा जातजातिका घर निर्माण हुनेछन्। महोत्सवस्थलमा निर्मित आदिवासी जनजाति समुदायको गाउँले पुरानो पुस्तालाई भन्दा पनि नयाँ पुस्तालाई आकर्षित गर्ने विश्वास लिइएको छ।

परिवर्तित समयसँगै आदिवासी जनजाति समुदायका मौलिक परम्परा हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई आफ्नो जाति र समुदायबारे परिचित गराउन पनि आदिवासी जनजातिका गाउँले फरक अनुभूति दिलाउने भरतपुर ११ नौरङ्गेकी नुरमायाँ कुमाल बताउँछिन्।

यो महोत्सवमा निर्मित घर देख्दै गर्दा आधुनिक संरचनालाई पनि मौलिकता झल्किने गरी निर्माण गर्न सकिने महसुस गराएको उनको भनाइ छ। जनजाति परिषरकै कारण चितवनमा हुँदै आएको अन्य मेला महोत्सवभन्दा विल्कुलै फरक हुने प्रचारप्रसार उपसमितिका संयोजक रमेश रानामगरले बताए।

 आदिवासी जनजाति समुदायको परिसर र करिब ३५० वटा व्यापारिक प्रदर्शनी कक्ष रहने महोत्सवले भरतपुर भ्रमण वर्षलाई समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ। भरतपुर महानगरपालिकाले तय गरेको ‘घुमौं भरतपुर’लाई सार्थक तुल्याउन महोत्सवले ठूलो भूमिका खेल्ने आयोजकको दाबी छ। प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव चितवनमा हुँदै आएको अन्य महोत्सवभन्दा फरक रहेको पनि महोत्सव मूल समारोह समितिले जनाएको छ।

प्रकाशित: ९ चैत्र २०८० ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App