२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भूमि आयोगले बाँकेमा थाल्यो काम

बाँकेको वैजनाथ गाउँपालिका वडा नं ७ पेडारीमा जग्गा नापजाँच गरिँदै। तस्बिर : नागरिक

पुस्तौंदेखि जमिन पाउने आशामा बसेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा बाँड्न थालिएको छ। राष्ट्रिय भूमि आयोग बाँकेले जिल्लाका आठवटै स्थानीय तहमा विभिन्न चरणमा काम थालेको हो। आयोग बाँकेका अध्यक्ष सर्वणकुमार यादवले जिल्लाका आठवटै स्थानीय तहमा चरणबद्ध रुपले काम अगाडि बढाइएको बताए।

‘बाँकेका आठवटै स्थानीय तहसँग आवश्यक समन्वय गरेर हामीले काम अगाडि बढाएका छौं’, यादवले नागरिकसँग भने, ‘चालु आर्थिक वर्षको असारसम्म जनतालाई लालपुर्जा दिने गरी काम भइरहेको छ।’ उनका अनुसार कोहलपुर नगरपालिकाका १५ वडामध्ये अधिकांशमा जग्गा नापजाँच भइसकेको छ।

यस्तै राप्ती सोनारी गाउँपालिकाका ९ वटा वडामध्ये तीन वटामा नापजाँच चलिरहेको छ। वैजनाथ गाउँपालिकामा बुधबारबाट नापजाँच प्रक्रिया अगाडी बढाइएको छ। उक्त गाउँपालिकाको वडा नं ७ पेडारीबाट नापजाँच थालिएको हो।

आयोग बाँकेका अध्यक्ष यादवका अनुसार खजुरा गाउँपालिकामा पनि नापजाँच सुरु गरिएको छ। आयोगले दोस्रोपटक प्रकाशन गरेको सूचनाअनुसार नेपालगन्ज उपमहानगरपालिका तथा जानकी र नरैनापुर गाउँपालिकामा छुटेकाको नयाँ लगत संकलन चलिरहेको छ।  

सबै स्थानीय तहमा विभिन्न चरणका काम अगाडि बढाइएको र चालु आर्थिक वर्षभित्र केही ठाउँमा लालपुर्जा वितरण गर्ने गरी काम गरिएको अध्यक्ष यादवले सुनाए। ‘हामीले धेरैजसो स्थानीय तहमा निस्सा वितरण गरिसकेका छौं, जग्गा नाप जाँच गरेर जतिसक्दो छिटो पुर्जा बनाउने छौं’, उनले भने, ‘आयोगको तर्फबाट नापी अधिकृतलाई निर्देशन दिइसकेको छु, उहाँले कर्मचारीलाई खटाइसक्नुभएको छ, जतिसक्दो चाँडो नापजाँच सम्पन्न गरेर लालपुर्जा वितरण गरिने छ।’  

आयोग बाँकेका अनुसार सबैभन्दा बढी कोहलपुरमा १६ हजार ५ सय २, राप्ती सोनारी गाउँपालिकामा १३ हजार २ सय ५८, वैजनाथमा १० हजार ८४, खजुरामा ५ हजार १ सय १४, नेपालगन्ज उपमहानगरपालिकामा ३ हजार ८२, जानकी गाउँपालिकामा २ हजार ४ सय ९१, नरैनापुरमा २ हजार ४ सय ३४ घरधुरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अब्यवस्थित बसोवासी रहेका छन्।

डुडुवा गाउँपालिकामा भने सम्झौता भएर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्यांक संकलन सुरु गरिएको आयोगले जनाएको छ।

वैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले झन्डै सात पुस्तादेखि जग्गा उपभोग गर्दै आए पनि लालपुर्जा पाउन नसकेका गरिब, भूमिहीन किसानले अब चाँडै पाउने विश्वास गरेका छन्। ‘पटक–पटक सरकार आएर वाचा गर्ने, चुनावी नारा लगाउने, पटक–पटक आयोग बन्ने, काम निष्कर्षविहीन हुने अवस्था थियो’, उनले भने, ‘जनता आशैआशमा बस्ने, जसरी जनताले सास्ती भोगेका थिए, त्यसलाई अन्त्य गर्नुपर्छ भनेर वैजनाथ स्थानीय सरकारले जिरोबाट काम सुरु गरेको छ। हामी अन्तिम चरणको प्रक्रियामा नापजाँचमा छौं।’

वैजनाथ गाउँपालिकाका अभियन्ता स्व. वैजनाथ थारूको गाउँ वडा नम्बर ७ को पेडारीबाट हरेक राम्रा कामको सुरुवात गर्दै आएको भन्दै शाहीले भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न आफूहरुले निष्पक्ष रुपले काम गरिरहेको बताए।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले वडा नं ३ मा जग्गा नापजाँच भइसकेको र वडा नं ४ मा पनि अन्तिम चरणमा पुगेको बताए। ‘वडा नं ४ मा अबको १०÷१५ दिनमा सम्पन्न हुन्छ, वडा नं ७ मा पनि नापजाँचको धेरै काम भइसकेको छ’, उनले भने।

राप्ती सोनारीका ९ वटै वडामा लगत लिएर तथ्यांक संकलन भइरहेको अध्यक्ष पौडेलले बताए। नापजाँचका लागि प्राविधिक टोली राप्ती सोनारीको वडा नं ५ र ६ मा जाने तयारीमा रहेको छ।

प्रकाशित: ८ चैत्र २०८० १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App