१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सुन प्रकरणमा पक्राउ परेका महरासँग सरकारी वकिल कार्यालयमा बयान लिन सुरु

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी होबिन्द्र बोगटीले दिउँसोबाट बयान सुरु भएको जानकारी दिए।

गत २०७९ पुस १० विद्युतीय चुरोट (भेप)मा लुकाएर ९ किलो सुन तस्करी प्रकरणमा मुछिएपछि उनलाई दोस्रो पटक बयान लिन लागिएको हो। यसअघि पनि बयान लिएर उनलाई मुद्दा चलाउनु नपर्ने गरी छाडिएको थियो।

उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा बनेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनपछि महरालाई पक्राउ गरी नर्भिक अस्पतालमा राखिएको छ। सीआईबीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याएपछि सबै प्रकृया पूरा गरेर अस्पतालमा उपचारका लागि पठाएको हो। उनलाई धेरै वटा रोग भएको र चिकित्सककै निगरानीमा राख्नुपर्ने भएकाले सिआइबीको हिरासतबाट अस्पतालमा पठाइएको थियो।

सोमबार जिल्ला अदालत, काठमाडौँले अनुसन्धान लागि पहिलो पटक चार दिनको समय दिएको थियो। सो अवधि सकिन लाग्दा उनलाई आज दिउँसो बयान लिन लागिएको हो। सङ्गठित अपराध लगायतका विषयमा उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति रहेको छ। सिआइबीका अनुसार उनी आफै सुन तस्करीमा जोडिएको भन्दा पनि तस्करीमा रहेका व्यक्तिहरूसँग जोडिएकाले मतियारमा अनुसन्धान केन्द्रित हुनेछ।

सोमबार अदालतको अनुमति लिँदा नै प्रहरीले महरा सङ्गठित रूपमा सुन तस्करी कसुर गर्न चिनियाँ मूलका दावाजिन वाङ समेतलाई सहयोग गरी सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ३ र दफा ४ बमोजिम मतियारको कसुरदारको रूपमा भूमिका निर्वाह गरेको आधार प्रस्तुत गरेको थियो। महराले सुन तस्करीसँग सम्बन्धित रहेर सीआईबी र जाँचबुझ आयोगमा पनि बयान दिएका थिए। दुवै बयानमा दावाजिन वाङसँग चिनजान रहेको तर फलफूल व्यापारीको रुपमा चीनको उसको अरु कर्मबारे आफूलाई जानकारी नभएको बयान दिएका थिए।

चिनियाँ नागरिक ली हानसोङले तस्करी गरी भेप मार्फत ल्याएको ल्याएको सुन प्रकरणमा महरा र उनका छोरा राहुल संलग्न रहेको प्रतिवेदन यसअघि नै सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो। त्यसकै आधारमा राहुल महरा थुनामा रहेका छन् । सुन तस्करसँग महरा बाबुछोराको सम्पर्क र संलग्नताबारे सीआईबीले तयार पारेको कल डिटेल र चार्ट  सार्वजनिक भएपछि महराको मात्र होइन माओवादी पार्टीकै आलोचना भएको थियो।

तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महरालाई मुद्दा चलाउनबाट रोकेको स्रोतको दाबी छ। चिनियाँ नागरिकले दुबईबाट तस्करी गरी ल्याएको ९ किलो ११.५२४ ग्राम सुन भन्सार कार्यालयले २०७९ पुस १० मा बरामद गरेको भएपनि भन्सारका कर्मचारीको मिलेमतोमा चोरी भई बेचिएको थियो। चिनियाँ नागरिकहरू ली हानसोङ, लुइ र दावजिङ वाङसँग कृष्णबहादुर महराको पटक पटक सम्पर्क देखिएपछि भने महराबाबु छोराका संलग्नता खुलेको थियो।

कृष्णबहादुर महरा र राहुल महरा भन्सार अधिकृतको बयानमा पनि जोडिएका थिए। भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले बयानका क्रममा सुनको बारेमा महराका बाबुछोराले नै चासो राखेको दिएका थिए भने भन्सार प्रमुख अरुण पोखरेलले नै उजुरी दिएर अनुसन्धान गर्न लगाएका थिए।

प्रकाशित: ७ चैत्र २०८० १६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App