१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जनचेतना फैलाउँदै :भण्डारीबाडाका आमाहरु

फाइल तस्बिर

समाजमा जरा गाडेर बसेको सामाजिक कुरीतिबिरुद्ध जुम्लाको चन्दननाथ नगरपालिक वडा न.२ भण्डारीबाडाका आमाहरु गाउँबस्तीमा सचेतना फैलाउन जुटिरहेका छन्। पहिलो चरणमा सदरमुकाम खलंगामा सडक नाटक र देउडा गीतबाट समाजमा हुने हरेक हानिकारक बेथितिविरुद्ध लाग्न सन्देश दिएका उनीहरु अहिले दुर्गम क्षेत्रका गाउँबस्ती र विद्यालयमा सचेतना फैलाइरहेका हुन्।

चन्दननाथ–२ की हिमालक्ष्मी भण्डारीको नेतृत्वमा वडा २ भण्डारीबाडाका आमाहरु जुम्लाको तातोपानी गाउँपालिकामा रहेको हिमशिखर माध्यमिक विद्यालयमा पुगेका थिए। नगरका आमाहरु एकाएक विद्यालयमा पुग्दा विद्यार्थी अचम्मित भए भने शिक्षकहरु अकमक्क भए। स्थानीय पोशाकमा ठाटिएका आमाहरु साउण्ड सिस्टम बोकेर विद्यालयमाआएका थिए।

जब आमाहरुले विद्यालयमा माइकिङ गरेर जनचेतना फैलाउन आएको सन्देश दिए,तबशिक्षक विद्यार्थीहरु भेला भए। उनीहरुले बालविवाह,छाउपडीप्रथा, लागुऔषध दुर्व्यसन, मादक पदार्थ सेवन, जुवातासविरुद्धका सडक नाटक प्रस्तुत गरे। महिलाहरुले ४ वटा विषयवस्तुमा सडक नाटक देखाइएका थिए। बालविवाह,मादक पदार्थ सेवन,लागुऔषध सेवन र जुवातास विरुद्धको नाटक प्रदर्शन गरेका हुन्।उनीहरु एकल तथा सामूहिक गीतहरु गाएर पनि सन्देश छरिरहेका थिए। उनीहरुले बालबालिका नै सबै बेथितीविरुद्ध लाग्नुपर्ने सन्देश दिएको शिक्षक शक्तिसिंह कठायतले बताए। 

‘लागुऔषध दुर्व्यसनीको दलदलमा बालबालिका पसेका छन्। मादक पदार्थको सेवनले घरेलुहिंसा बढिरहेका छन्।छाउपडी हुँदा गोठमै बस्दा कैयन आमा रोग पालेर बसेका छन्।केही आमाले ज्यान गुमाउनु परिरहेको छ,’ हिमालक्ष्मी भण्डारीले भनिन्, ‘बालविवाहले सयौं किशोरीको भविष्य बिग्रिएको छ।’ यी सबैको रोकथामका लागि हाम्रो सचेतना अभियान निरन्तर चलिरहेको छ। ’यसअघि चन्दननाथ नगरपालिकाको बालमन्दिरमा सचेतना कार्यक्रम गरेका आमाहरुले आफ्नै लगानीमा अभियान संचालन गरेका हुन्। 

उनले भनिन्,‘हामी पहिलो चरणमा विद्यालयमा,दोस्रोमा समुदायमा र तेस्रोमा साना बजारमा सचेतना फैलाएर सबैखाले विकृतीजन्य क्रियाकलाप रोक्न चाहन्छौं। त्यसैको लागि हाम्रो अभियान चलिरहेको छ।’आमाहरूले शिक्षकलाई विद्यार्थीको नियमित रेखदेख र सामाजिक विकृतिका विषयमा बेलाबेला कक्षा सञ्चालन गर्न पनि आग्रह गरिन्।अर्की गोमादेवी भण्डारीले जनप्रतिनिधि,कर्मचारी र जिल्ला स्थिति राजनीतिकदलसँग पनि छलफल चलाएर सबै खाले विसंगतीको भण्डाफोर गर्ने कार्यक्रम भइरहेको बताइन्। उनी नजिकैको स्थानीय सरकारले आफ्नो अनुकुलको कानुन बनाएर नियमन गर्न सक्ने बताउँछिन्। 

गोमाले भनिन्,‘अब एउटा गाउँका आमाहरु लागेर मात्र सम्भव छैन। सबै क्षेत्रका आमा एक भएर सामूहिक रुपमा हानिकारक विकृति विरुद्ध प्रतिकार गर्नुपर्ने आवश्यक छ।’ विद्यालायका व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण न्यौपानेले आमाहरु संगठित भएर चेतना फैलाउने कार्य गरेकोमा प्रशंसा गरे। उनले भने,‘पहिले विद्यार्थीले आमाहरुलाई सिकाइरहेका हुन्थेँ। अहिले आमाहरु विद्यालयमै पुगेर सामाजिक हानिकारक अभ्यासविरुद्ध लाग्न सुझाइरहेका छन्।’ यस्तै,आमाहरुले बढ्दो इन्टरनेटको दुरुपयोग रोक्न, विद्यालयस्तरमै बालविवाहविरुद्धका कक्ष सञ्चालन गर्न, लागुऔषधको ओसारपसार र सेवन, मादक पदार्थ सेवन निषेध गर्न समेत विद्यार्थीलाई सुझाव दिए।

यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक विवेक खनालले आमाहरुले चालेको अभियान समाज सुधारको मिसाइल भएको बताए।बालविवाह,लागूऔषध सेवनले र पार्ने असर तथा कानुनी ऐनका बारेमा पनि जानकारी गराएका थिए। उनले यस्तो कार्य सुरुवात गर्ने महिलाहरूलाई धन्यवाद दिएका छन्। उनले समाज सुधारका काममा प्रहरीले खुलेर सहयोग गर्ने प्रतिवद्वता समेत जनाए।

प्रकाशित: ६ चैत्र २०८० ०९:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App