१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरमा होलीसँगै भीमसेनको लिंग झुन्ड्याउन सुरु

भक्तपुरमा होलीसँगै सुरु हुने अनौठो चलन आइतबारदेखि सुरु भएको छ। भक्तपुर नगरपालिका–९ दतात्रय तचपालको एउटा मन्दिरमा भीमसेनलिंगको प्रतीकका रूपमा तीस फिट लामो र एक फिट मोटाइको काठ (लिंग) झुन्ड्याउन सुरु भएको हो।

प्रत्येक वर्ष होली सुरुवातको पहिलो दिन अर्थात् चिर चिरोठान (नेपाल भाषामा चिर स्वायगू)का दिन यहाँ लिंग झुन्ड्याउने गरिन्छ। होली पूर्णिमामा यसलाई झिकेर थन्काइन्छ।

लिंगलाई दतात्रय तचपाल टोलको भीमसेन पाटीमा एक सातासम्म राख्ने प्रचलन छ। लिंगसँगै रातो कपडा पनि झुन्डिएको हुन्छ। सो कपडालाई द्रौपदीको योनीको प्रतीक मानिन्छ। लिंगलाई ठेलेर कपडामा छिराउनाले सन्तानप्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको छ।

यसअघि लिंगलाई मन्दिरबाट निकाली बिहान दुई जनाले काँधमा बोकेर कमलविनायक पोखरीमा स्नान गराएर ल्याउने गर्छन्। पोखरीमा लगेर स्नान गराई भुइँ सिन्हँ (सिन्दूर) दलेर नगरका विभिन्न टोलमा घुमाई दर्शन गराउने परम्परा छ।

नगरको इनाचो, वाँचुटोल, जेलाँ, सोंगल्हों सुकुलढोका, लालाछेँ, याछेँ हुँदै तचपालस्थित दत्तात्रय मन्दिरवरिपरि रहेका घर, पसलमा दर्शन एवम् पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याइने चलन छ।

यस दिनदेखि होलीको विशेष गीत यहाँ गाउन सुरु हुने गर्छ। नेपाल भाषाबाट ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् भीमसेनको लिंगदेखि मोह जाग्यो कि? भाग्नुपर्ने गरी हेर्न आएको हो कि भनेर भजनकीर्तन गर्ने चलन छ।

एक सातापछि होली पूर्णिमाको दिन साँझ लिंगलाई पूर्वतिरको झन्डै डेढ किलोमिटर टाढाको ब्रह्मायणी खोलामा लगेर पखालेपछि होली पर्व विधिवत् रूपमा विसर्जन हुने परम्परा रहेको छ। पखालेर पुनः मन्दिरमै ल्याएर एकठाउँमा थन्काउने चलन छ। यही लिंगलाई अर्काे वर्ष  प्रयोग गरिन्छ।

इतिहासकार जिआर रञ्जित यस्तो ऐतिहासिक चलनलाई बचाइराख्नुपर्नेमा जोड दिन्छन्। यसका लागि सरोकारवालाले ध्यान दिनुपर्ने उनको भनाइ छ। समयसँगै यो परम्परा चलाउन आयस्रोतको अभावमा कठिन हुन थालेको बताइन्छ।

प्रकाशित: ५ चैत्र २०८० ०७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App