१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चार वर्षदेखि कारागारमै बालक

जिल्ला कारागार कालिकोट। तस्बिर : नागरिक

कानुन भन्छ– गल्ती गर्नेले मात्र सजाय पाउनुपर्छ। तर जिल्ला कारागार कालिकोटमा आमाले गरेको गल्तीको सजाय भोगिरहेका छन् विगत चार वर्षदेखि बालक गोकण शाही। संरक्षणका लागि आफन्त भए पनि उनी आमासँग जिल्ला कारागारमा छन्। आमा र प्रहरीहरूका काखमा खेल्दै उनको दिनचर्या बित्छ।

नरहरिनाथ गाउँपालिकाकी २७ वर्षीया राजिन्द्रा शाही ६ वर्ष पहिला कर्तव्य ज्यानमा कारागार चलान भइन्। कारागार पुगेकी राजिन्द्राले कारागारमै गोकर्णलाई जन्म दिएपछि उनी अहिले पनि आमाको गल्तीको सजाय भोगिरहेका छन्।

अहिले कारागारमा विभिन्न आरोपमा जेल सजाय पाएकासँग ती बालकको दिनचर्या बित्ने गरेको छ। कर्तव्य ज्यान सजायमा कारागार परेकी नरहरिनाथ गाउँपालिका लालुकी २७ वर्षीया आमा राजिन्द्रा शाही नै ती बालकको सबै संसार हुन्।

जेल प्रशासनका अनुसार साढे चार वर्षका एक बालक आमासँगै कारागारमा छन्। तोते बोल्ने साना बालक जेलभित्रको सानो कोठामा उकुसमुकुस जीवन बाँच्दैछन्। तोते बोलीमा कखरा सिक्ने उमेरमा यो पीडा कसले पो बुझिदेला ? उनले संसार बुझ्नै सकेका छैनन्। उनले भेट्न जाने सबैलाई हेर्ने गरेका छन्। उनी आफूलाई कसैले लगे कारागारबाट बाहिर जाने आशा देखाउँछन्।

लामो समयसम्म छोरा सँगै राख्दा भविष्यमा गम्भीर असर गर्ने भएकाले उचित हेरचाहसहित शिक्षादीक्षाको व्यवस्था गरिदिन धेरैले अनुरोध गरे, तर आमाले बाहिर पठाउन मनाही गर्दै आएकी छन्। कारागारभित्र क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन्। ५४ जना पुरुष, ५ महिला र एक नाबालक गरी ६० जना रहेको जेलर नरबहादुर मिजारले बताए।

बालकको उद्धारका लागि बालबालिका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायले कुनै चासो देखाएका छैनन्। बालबालिकालाई नकारात्मक प्रभाव पार्न नदिन सरोकारवाला निकायले बेलैमा ध्यान दिन आवश्यक छ।

प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सुरक्षाको हिसाबले पनि बालबालिकालाई कारागारमा राख्न नमिल्ने बताए। उनले भने, उनले भने, ‘बालबालिकाले कसुरै गरे पनि कारागारमा राख्न नपाइने कानुनी व्यवस्था छ।’

प्रकाशित: १ चैत्र २०८० ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App