१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

होस्टेलमा बसेकी विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा संचालक रेग्मी पक्राउ

विराटनगर महानगरपालिका—८ स्थित  मुनलाइट गल्र्स होस्टेलकी सञ्चालक मधु रेग्मीलाई  प्रहरीले पक्राउ गरेको छ।

मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

पीडित छात्राहरूले उजुरी दिएपछि सञ्चालक रेग्मीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। पक्राउ परेकी रेग्मीलाई मोरङ प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको छ।

‘रेग्मीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद लिइएर अनुसन्धान थालेका छौँ’ एसपी कार्कीले भने। होस्टेलमा बसिरहेका विद्यार्थीहरूले चैत महिनाको अग्रिम रकम दिन नमानेपछि रेग्मीले विद्यार्थीहरूमाथि आक्रोश नराम्रोसँग पोखेकी थिइन्। रेग्मीले विद्यार्थीहरूलाई दुर्व्यवहार गरेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्। 

दुर्व्यवहारमा पर्नेहरू विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कञ्चनपुर घर भएका विद्यार्थी हुन्। उनीहरु उक्त होस्टेलमा फागुन ३ गतेदेखि बसिरहेका थिए। उनीहरूले चैत ३ गतेसम्मको अग्रिम ८ हजार रुपैयाँ बुझाएका थिए। कलेजकै होस्टेलमा बस्नेहरू भनेर नाम निस्किएपछि उनीहरु त्यहाँ सर्न चाहेका थिए। त्यो कुरा थाहा पाएकी रेग्मीले चैतको पैसा दिनुपर्ने दबाब दिइरहेकी थिइन्।

होस्टेलमा बसिरहेका विद्यार्थीहरूले अग्रिम रकम दिन नमानेपछि रेग्मीले विद्यार्थीहरूका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेको विद्यार्थीहरूले गुनासो गरेका छन्। मधुले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरूले कलेजमा सम्पर्क गरेका थिए। त्यसपछि मंगलबार राति नै कलेज प्रशासनले ती विद्यार्थीहरूलाई आफ्नै होस्टेलमा ल्याएर राखेको छ। दुर्व्यवहार घटनामा संलग्नलाई १ लाख २० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको मोरङका एसपी नवराज कार्कीले जानकारी दिए। 

प्रकाशित: ३० फाल्गुन २०८० १९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App