काठमाडौंबाट हराएकी कक्षा १२ मा अध्ययनरत सुस्मा लामाको शव तारेभिरमा भेटिएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार माघ २२ गतेदेखि सम्पर्कविहीन उनको शव फागुन २५ गते तारेभिरको जंगलमा हात खुट्टा बाँधिएको अवस्थामा एक महिनापछि फेला परेको हाे।
उनका अनुसार लामा तारेभिरकै स्थानीय बासिन्दा हुन्। ‘घटनाबारे अनुसन्धान तीव्र पारेका छौं। यसबारे उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले पनि अनुसन्धान गरिरहेको छ।’ एसपी अधिकारी भने।
१८ वर्षीय लामाको शव भेटिएको ठाउँको प्रकृति हेर्दा शङ्कास्पद देखिएपछि प्रहरीले सोधपुछ तथा प्राविधिक जाँच थालेको छ। यसअघि लामाको परिवारले उनको खोजतलास गरिदिने भन्दै प्रहरी वृत्त, बौद्धमा निवेदन समेत दिएको बताइएको छ।
प्रकाशित: ३० फाल्गुन २०८० १६:५९ बुधबार