१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

क्यान्सरका बिरामीलाई यती एयरलाइन्सको निःशुल्क हवाई टिकट

उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट) विराटनगर जानुपर्ने क्यान्सरका बिरामीहरूलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ।

यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको यती एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिएका छन्।

विष्टले भने, ‘यस सुविधाले क्यान्सरसँग लडिरहनुभएका हरेक बिरामीलाई थप उत्प्रेरणा मिल्ने विश्वास लिएका छौँ। निःशुल्क हवाई टिकट पूर्वमा मात्र नभई नेपालभरिकै क्यान्सरका बिरामीहरूले उपभोग गर्न पाउनुहुनेछ। विराट क्यान्सर इन्स्टिच्युटसँगको सहकार्यमा यो योजना ल्याएका हौँ।’

निःशुल्क टिकट लिनका लागि बिरामीले आवश्यक कागजात सहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नु पर्नेछ। अस्पतालका विशेषज्ञ चिकित्सकहरूले कागजातहरूका आधारमा क्यान्सरको बिरामी भएको प्रमाणपत्र/परिचयपत्र उपलब्ध गराउनुहुने र उपचारका लागि आउनु पूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्स्टिच्युटका उपाध्यक्ष डा. निकिता कार्कीले जानकारी दिए। 

कार्कीले थप जानकारी दिँदै भने, ‘बिरामीहरूले डाक्टरको अपोइन्टमेन्ट लिनुहुँदा टिकट बुकिङका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ।’ 

त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इन गर्दा यती एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेस गर्नुपर्ने एयरलाइन्स जानकारी दिएको छ। 

नेपालभरिकै क्यान्सर बिरामीहरूलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एयरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबिच फाल्गुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको हो।

प्रकाशित: २८ फाल्गुन २०८० १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App