१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अनुदान भन्दै झुक्याएर चर्को ब्याज असुल्दै सहकारी

सहकारीले पीडित बनाएको भन्दै विराटनगर आएका मोरङ जहदाका स्थानीय। तस्बिर : विनोद/नागरिक

विदेशी संस्थाले अनुदानमा दिएको बाख्रा र सुंगुरका पाठापाठीको सहकारीले चर्को ब्याज असुल्न थालेपछि मोरङ जहदाका स्थानीय समस्यामा परेका छन्। आइतबार विराटनगरमा मोरङ जहदा गाउँपालिका–७, सितम टोलका स्थानीयले पत्रकार सम्मेलन गर्दै पहिलेको बचत समूह सहकारीमा परिणत भएपछि त्यतिबेला अनुदानमा बाँडेका पाठापाठीको मनोमानी रकम असुली गर्न थालेको गुनासो गरे।

२०५८ सालमा विपन्न वर्गको लागि गाउँ छिरेको दलित जनकल्याण डनबस्को नामक गैरसरकारी संस्थाले तत्कालीन मझारे गाउँपालिकामा समूह स्थापना गरी अनुदानमा बाख्रा र सुँगुरको पाठापाठी वितरण गरे पनि यतिबेला चर्को ब्याज जोडेर महँगो मूल्य असुली रहेको स्थानीयको गुनासो छ।

उनीहरूका अनुसार २०५८ सालमा गाउँमा स्थापना गरिएको स्वयं बचत समूह डनबस्को मझारेले विदेशी संस्थाबाट आएको भन्दै अनुदानमा स्थानीयलाई बाख्रा र सुँगुरको पाठापाठी वितरण गरेको थियो। पछि उक्त बचत समूह प्रकाश बचत तथा ऋण सहकारी संस्थामा परिणत भएको थियो।

बचत समूह सहकारीमा परिणत भएपछि अनुदानलाई समेत ऋण बनाएर चर्को मूल्य असुली रहेको जहदा–७ सितम टोलाका राउल सोरेनले बताए। राहुलका बावु वडका सोरेनलाई स्वयं बचत समूह डनबस्को मझारेले २०५८ सालमा अनुदानमा दिएको एउटा सुँगुरको पाठाको अहिले आएर प्रकाश बचत तथा ऋण सहकारी संस्थाले १८ हजार रूपैयाँ मागिरहेको उनले बताए।

पहिले अनुदान बाँडेको अहिले आएर ऋण दिएको भन्दै सहकारीले मनोमानी रकम असुली गर्न थालेपछि आफूहरू पीडित बनेको उनले बताए। ‘हामीलाई ऋण लिएकै थाहा छैन,’ उनले भने, ‘अहिले सहकारीले ऋण तिर्न ताकेता गरिरहेको छ।’ उनले आफूहरूले २०५८ सालदेखि समूह र सहकारीमा बचत गरेको रकमको हिसाब किताब भने सहकारीले नदिएको बताए।

जहदा–७ कै सुनिल किस्कुका बावुले २०५८ सालमा अनुदानमा लिएको तीनवटा सुँगुरको पाठाको यतिबेला सहकारीले ७० हजार रूपैयाँ मागिरहेको सुनिलले बताए। इलेक्ट्रिसियन सुनिलले सहकारीमा दुई वर्षदेखि बचत गरेको ५३ हजार रूपैयाँ फिर्ता माग्न जाँदा सहकारीले बचत फिर्ता दिन नमानेको उनले बताए।

सुनिलले बचत रकम फिर्ता माग्न जाँदा बावुले पाठा लगेको ऋण ७० हजार पुगेको जानकारी सहकारीले दिएपछि उनी छाँगाबाट खसेजस्तै भए। सहकारीले पहिले पुरानो ऋण चुक्ता गरेर बचत फिर्ता माग्न आउनु भनेपछि लिँदै नलिएको यतिधेरै ऋण कसरी चुक्ता गर्ने भन्ने उनलाई चिन्ता भएको छ। सुनिलले भने, ‘बाबुलाईसमेत ऋण लिएको थाहा छैन,’ उनले भने, ‘यतिधेरै पैसा कसरी चुक्ता गर्ने?’

जहदा–५ मझारेकी मिनादवी महतोले भने २०५८ सालमा लगेको एउटा बाख्राको पाठीको २३ हजार पुगेकाले नतिरे मुद्दा हाल्ने सहकारीले धम्की दिएपछि मकै बेचेर ऋण तिरेको बताइन्। उनले अनुदानमा दिएको पाठापाठीको ऋण जोडेर चर्को मूल्य असुल्ने सहकारीले आफूहरूले २०५८ सालदेखि बचत गरेको रकमको हिसाब नदिएको बताइन्।

राहुल, मिनादेवी मात्रै हैन विदेशी संस्थाले विपन्नलाई अनुदानमा दिएको पाठापाठीलाई ऋणमा बदलेर चर्को रमक असुली गर्न थालेपछि जहदा गाउँपालिकाका विभिन्न वडाका डेढ सय बढी विपन्न परिवारलाई समस्या भएको पीडितहरूले बताएका छन्।

अनुदान भनी झुक्याएर ऋण दिएर ठगी गरेको गुनासो गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ र जहदा गाउँपालिकास्थित न्यायिक समितिमा आफूहरूले उजुरी गरे पनि दुवै निकायले आफूहरूलाई न्याय नदिई पन्छिएको पीडितहरूले बताएका छन्।

उनीहरूले समस्या लिएर आउँदा जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको न्यायिक समितिमा पठाएको बताए। गाउँपालिकाको न्यायिक समितिले आफूहरूले राखेको समस्यालाई बेवास्ता गरी सुनुवाइ नै नगरेको बताए।

उनीहरूले अनुदान भन्दै पाठापाठी बाँडेर चर्को ऋण असुली गर्ने सहकारीलाई कारबाही गरी आफूहरूलाई न्याय दिन सम्बन्धित निकायसँग माग गरेका छन्। सहकारी संस्थाकी अध्यक्ष एलिजावेथ हेमरनले अनुदानमा नभई ऋणमा सुँगुरका पाठापाठी वितरण गरेको दाबी गरेकी छिन्।

उनले भनिन्, ‘हामीले अनुदानमा बाँडेको होइन ऋणमा दिएका हौं।’ उनले ऋणको मात्रै नभई सहकारीसँग सदस्यहरूले गरेको बचतको पनि हिसाबकिताब रहेको बताइन्।  

प्रकाशित: २८ फाल्गुन २०८० ०८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App