१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वैदेशिक रोजगारीले फेरिएको जीवन

बर्गर हाउसकी सञ्चालिका विमला लामा (बीचमा)।

‘साउने भेल एकपल्ट उर्लेर आउँछ। त्यसलाई बेलैमा रोकेर सिँचाई गर्नुपर्छ,’ वैदेशिक रोजगारीबाट फर्केकी ज्ञानीसरा रानाको जीवन ज्ञान हो यो। ‘त्यो भेललाई सञ्चय गर्न सकिएन भने त्यतिकै बगेर जान्छ,’ उनी भन्छिन्।

कमाएर मात्र हुँदैन त्यसलाई जमाउनु पनि पर्छ भन्ने ज्ञानीसराको त्यो ज्ञानले सफल उद्यमी परिवार बनाएको छ। विदेशको उनको कमाइलाई पतिले देशमा बसेर जमाएका थिए। दुवैको सहमतिमा मात्र खर्च हुन्थ्यो। सकेसम्म उनीहरूले कमाइलाई तालासाँचो लगाएर राखे। ‘त्यसैबाट हामीले व्यवसाय सुरु गर्‍यौं,’ उनले भनिन्। पतिको अस्वस्थताका कारण उनी दुई छोरा उनैको काखमा छाडेर सन् २००८ मा वैदेशिक रोजगारीमा लेबनान गएकी थिइन्। दुई छोरालाई अंग्रेजी स्कुलमा पढाउने र आफ्नै व्यवसाय थाल्ने उनको चाहना पूरा हुन समय लागेन।

लेबनानको उनी काम गर्ने चिकित्सकसहितको शिक्षित परिवारका थियो। ‘उनीहरूले मलाई धेरै माया गर्थे,’ उनले भनिन्, ‘अरूका बारेमा धेरै नराम्रो खबर सुन्नुपर्थ्याे। मलाई त्यस्तो केही भएन। काम पनि मरेर गर्नु पर्दैनथ्यो। उनीहरूले मलाई पैसा पनि राम्रै दिएका थिए।’

घरभित्रै काम गर्दा पनि ज्ञानीसरालाई कार्यालयमा काम गरेजस्तो अनुभव भयो। डाक्टरको परिवारमा उनले क्लिनकमा काम गर्ने अवसर पाउँदा झनै रमाइलो भयो। उनले अनुभव बताइन्, ‘उनीहरूका आफ्नै दुईवटा क्लिनिक थिए। बिहानबेलुका मात्रै घरमा हुन्थे। नत्र सधैं अस्पताल र क्लिनिकको बास हुन्थ्यो। क्लिनिकमा मलाई सहयोगीका रूपमा सधैं लैजान्थे। त्यहाँ काम गरेबापत मलाई थप पैसा दिन्थे।’

‘उनीहरू सबै अग्रेजीनै बोल्थे,’ उनले भनिन्, ‘केही समय भाषाले गाह्रो भयो। दिनँहु बोल्न थालेपछि मलाई पनि बानी पर्‍यो। अहिले त म मेरा छोराहरूसँग पनि अग्रेजीबाटै कुरा गर्छु।’

 विदेशी वातावरणले उनलाई सुखानुभूति भए पनि परिवार स्वदेशमा र आफू विदेशमा थिइन्। आफू परिवारकै साथ हुनुपर्छ भन्ने ठानेर करिब तीन वर्षपछि स्वदेश फर्किन्। सन्तानलाई आमाको आवश्यकता नपर्नेगरी कहिल्यै ठूला हुँदैनन्। आमाविनाको घर नहोस् र अनि घरविनाको आमा भनेर नेपाल फर्किएँ।’

परिवारको माया र सानोतिनो व्यवसाय चलाउने हुटहुटीले उनलाई नेपाल फर्काएको थियो। विदेशबाट फर्केपछि एबिसी नेपाललगायतका संस्थाहरूबाट उनलाई यससम्बन्धी तालिम प्राप्त भएको थियो।

सन् २०१२ मा पतिले स्वदेशमा कमाएको र आफूले विदेशबाट ल्याएको रकमबाट पोखरामा मदिरा पसल खोलेका थिए। त्यसैले तिनलाई व्यवसाय बढाउने भरोसा दिएको थियो। ज्ञानीसराका पति समझदार र अत्यन्तै मेहनती भएकै कारण रूपन्देहीमै खेतीपातीसँगै कुखुरा पालन सुरु भयो। पोखराको डिलर पतिले समाले भने उनी गाउँमा कुखुरा पाल्नतिर। आपसी सल्लाहले अगाडि बढ्दा उनीहरूको उन्नति हुन थाल्यो।

विभिन्न संस्थाका तालिमले उनलाई टोल विकास, रोगसम्बन्धी जनचेतनामुलक विषयमा जानकारी भयो। उनी आफ्नो परिवार, व्यापार व्यवसायमा जमेकी छिन्। वैदेशिक रोजगारीले जीवनमा बहार ल्याएका उनीजस्तै अरू पनि छन्।

त्यस्तै पात्रमध्ये एक हुन्, राजधानीको धुम्बाराहीमा द बर्गर हाउसकी सञ्चालक ३४ वर्षीया विमला लामा। दक्षिण कोरियामा रोजगारी गरेर फर्केकी उनले अहिले नेपालले २२ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्।

नुवाकोटको एउटा मध्यम वर्गीय परिवारको दोस्रो सन्तानका रूपमा जन्मिएकी विमलाले आफ्नै प्रयासबाट जीवनलाई सुन्दर बनाएकी छन्। कोरिया जानुपूर्व नै भविष्यमा नेपाल फर्किएर व्यवसाय तथा तथा उद्योग गर्ने उनको लक्ष्य थियो। १० वर्षे कोरिया प्रवासमा रहँदा परिवार र देशलाई केन्द्रमा राखेकी थिइन्। लक्षित गर्दै देश फर्केपछिको उनको पहल हो, ‘द बर्गर हाउस’।

वैदेशिक रोजगारीको सिलसिलामा सन् २००८ मा दक्षिण कोरिया पुगेकी हुन्। वैदेशिक रोजगारीले जिन्दगीमा भोग्नुपर्ने संघर्ष, मेहनेत, लगनशिलता, अनुशासन समावेश भएको जीवन कस्तो हुन्छ भनेर बुझ्ने अवसरसमेत पाएको उनले बताइन्। कोरिया जाने प्रक्रिया नै उनको जीवनको नयाँ अध्यायको सुरुवात भएको सुनाइन्।

कोरिया प्रवेश गर्दै गर्दा

सफा–सुग्घर, रमणीय स्थान देखेर मनमा लागेको विचार उनले भनिन्, ‘यो देशलाई विकसित गर्नका लागि कति समय लाग्यो होला? भन्ने जिज्ञासाहरू मनमा आए। ठूला गगनचुम्बी महलहरू, व्यवसस्थित बाटो, सफा र हराबरा खेतबारी देख्दा स्वर्ग नै यसलाई नै भन्छन कि जस्तो लागेको थियो।’

कोरियामा धेरै कुराहरू सिक्ने अवसर मिलेसँगै समय कति मूल्यवान हुन्छ भन्ने कुरा बुझेर अगाडि बढ्ने व्यक्ति जुनसुकै क्षेत्रमा सफलता हाँसिल गर्नसक्ने बर्गरवाली विमलाले बताइन्। ‘समयसापेक्ष चल्ने देशहरूलेनै प्रगती गर्न सक्ने रहेछन। कोरिया मेहनत गर्ने इच्छुक व्यक्तिका लागि रोजगारको स्थान हो,’ विमलाले भनिन्।

‘उरी नारा उरी खाजोग्’ भन्ने कोरियालीको नारा प्रष्ट्याउँदै उनले भनिन्, ‘हामी, हाम्रो परिवार र देशप्रतिको हाम्रो माया। म र मेरो मात्रै होइन भन्ने हो। कोरियाको यो नारा सुन्नेबित्तिकै मन आन्नदित हुन्थ्यो।’

वैदेशिक रोजगारीमा रहेका महिला दिदी–बहिनीलाई नेपाल फर्किएपछि ससाना व्यवसाय सञ्चालन गर्न तथा रोजगारी गरेर सक्षम हुन उनको आग्रह छ। बर्गरसम्बन्धी व्यवसाय गर्ने हो भने त्यससम्बन्धी ज्ञान र सीप दिएर सघाउन पनि उनी तयार छिन्।

ज्ञानीसरा र विमला नै यस्ता पात्र हुन्, जसले वैदेशिक रोजगारीबाट फर्केपछि थालेको व्यवसायले जीवन परिवर्तन गरेको छ। वैदेशिक रोजगारीले जीवनमा बहार ल्याएका यी प्रतिनिधि पात्र हुन्। 

प्रकाशित: २७ फाल्गुन २०८० ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App