१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

संस्थापक अध्यक्ष एवं समाजसेवी ज्ञवालीको सालिक अनावरण

नेपाल रिपब्लिक मिडिया लिमिटेडका संस्थापक अध्यक्ष एवं समाजसेवी हेमराज ज्ञवालीको सालिक शुक्रबार अनावरण गरिएको छ। शिवरात्रीका अवसरमा ज्ञवालीकी धर्मपत्नी लक्ष्मी ज्ञवालीले एक कार्यक्रमबीच सालिक अनावरण गरेकी हुन्। कार्यक्रममा स्थानीय समाजसेवी र सर्वसाधारणको उपस्थिति थियो।

बाँसगढी नगरपालिका-८ लछुमनास्थित शिव मन्दिरपरिसरमा ज्ञवालीको सालिक स्थापना गरिएको हो। उक्त शिव मन्दिर हेमराजका कान्छा सुपुत्र तथा नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष विनोदराज ज्ञवाली र स्थानीय समाजसेवीको संयुक्त सहयोगमा पुनर्निर्माण गरिएको हो।

हेमराज ज्ञवाली कुशल प्रशासक, समाजसेवी, व्यावसायिक पत्रकारिताका प्रवद्र्धक र लेखकका रुपमा परिचित छन्। ज्ञवालीको रामनवमीका दिन पिता भुवनेश्वर र माता पूर्णकुमारीका कोखबाट गुल्मीको मानकोटमा १९९५ चैत १७ मा जन्म भएको हो। उनको निधन २०७५ असोज २७ गते भएको थियो।

२०१७ सालमा सरकारी सेवामा प्रवेश गरेका ज्ञवालीले २७ वर्षसम्म कुशल प्रशासकका रुपमा काम गरी अवकाश प्राप्त गरेका थिए। सरकारी सेवामा रहँदा उनले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, भन्सार विभागको महानिर्देशक हुँदै सहसचिव पदबाट अवकाश प्राप्त गरेका थिए।

सरकारी सेवाबाट अवकाश प्राप्तपछि व्यावसायिक पत्रकारिता क्षेत्रमा संलग्न ज्ञवालीले यसको प्रवद्र्धन, विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याए। ज्ञवाली नेपाल रिपब्लिक मिडियामा मात्र नभई यसअघि स्थापना भएको व्यावसायिक सञ्चार गृह कान्तिपुर पब्लिकेसन्स्मा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

प्रजातन्त्रको खम्बाका रुपमा रहेको सञ्चार क्षेत्रको स्थायित्व र प्रवद्र्धनमा ज्ञवालीको उल्लेखनीय भूमि रह्यो । पत्रकारितालाई सशक्त, बलियो र विस्तार गर्न रचनात्मक भूमिका निर्वाह गरेर निजी क्षेत्रको आकर्षण बढाउनमा उनको अतुलनीय योगदान रहेको पाइन्छ।

ज्ञवाली समाजसेवीका रुपमा पनि परिचित छन्। शिक्षा क्षेत्रमा उनको विशेष रुचि थियो। गृह जिल्ला बर्दियामा विद्यालय स्थापना, सञ्चालन, शैक्षिक तथा भौतिक पूर्वाधार निर्माणलागयतमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। विद्यालय सञ्चालक समितिको अध्यक्षमा रहेका उनले विद्यालय भवन निर्माण र पुस्तकालय स्थापनामा पनि उत्तिकै भूमिका निर्वाह गरेका थिए।

साहित्य, अध्यात्म, कला–संस्कृति, धार्मिकलगायतका विषयमा कलम चलाएका ज्ञवालीका धेरै पुस्तक प्रकाशित छन् । यसका साथै उनका कान्तिपुर, नागरिक राष्ट्रिय दैनिकलगायत पत्रपत्रिकामा सयौं संख्यामा लेख रचना प्रकाशित भएका छन्। ज्ञवालीका तीन सुपुत्र छन्।

प्रकाशित: २६ फाल्गुन २०८० ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App